काठमाडौं । संस्थागत विद्यालयहरूको संस्था (फेका) को आयोजनामा १७औँ फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा २५ टिमको सहभागिता रहने फेकाका सह-सचिव एवं प्रतियोगिता संयोजक राजु दाहालले जनाउनुभएको छ ।
प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ ।
पुस ६ गतेसम्म चल्ने नकआउट प्रतियोगिताका खेलहरू मूलपानी चौर मैदानमा हुने छन् । गत संस्करणको उपाधि गेटवे एकेडेमीले जितेको थियो ।






