वासिंगटन । सन् २०२५ मा हुने क्लब विश्वकपको उद्घाटन खेलमा लिओनल मेसीको नेतृत्वमा रहेको इन्टर मियामी र इजिप्टको क्लब अल-अहली भिड्ने भएका छन् । विश्व फुटबलको प्रतिष्ठित प्रतियोगितामा सहभागी हुने अवसर पाएको इन्टर मियामीले आगामी जुन १५ मा फ्लोरिडाको मियामी गार्डेनस्थित हार्ड रक स्टेडियममा आफ्नो पहिलो खेल खेल्नेछ । प्रतियोगितामा चार-चार टोलीका आठ समूह छन् । प्रत्येक समूहबाट शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् । समूह ‘ए’ मा इन्टर मियामीसँगै ब्राजिलियन क्लब पाल्मेरास, पोर्चुगलको पोर्टो र अल-अहली छन् ।
अन्य समूहमा केही उत्कृष्ट क्लबको उपस्थिति छ । समूह ‘बी’ मा पेरिस सेन्ट जर्मेन (पिएसजी), एट्लेटिको मड्रिड, ब्राजिलियन टोली बोटाफोगो र मेजर लिग सकर (एमएलएस) को सिएटल साउन्डर्स छन् । यस्तै, समूह ‘एच’ मा रियल मड्रिड, साउदी क्लब अल-हिलाल, मेक्सिकोको पाचुका र अस्ट्रियाको साल्जबर्ग छन् ।
प्रतियोगितामा म्यानचेस्टर सिटी, बायर्न म्युनिख, रियल मड्रिड, चेल्सी, इन्टर मिलान, बोरुसिया डर्टमुन्डजस्ता युरोपका शीर्ष क्लबहरूले भाग लिँदैछन् । दक्षिण अमेरिकाबाट फ्लामेन्गो, रिभर प्लेट, फ्लुमिनेन्सजस्ता चर्चित टोलीहरू पनि समावेश छन् ।
इन्टर मियामीको छनोटलाई कतिपयले विवादास्पद भनेका छन् । नियमित सिजनमा उत्कृष्ट प्रदर्शन नगरे पनि आयोजक राष्ट्रको प्रतिनिधिको रूपमा मियामीले स्थान पाएको हो । क्लब विश्वकप २०२५ जुन १५ देखि जुलाई १३ सम्म अमेरिकाका ११ शहरका १२ स्टेडियममा हुनेछ । फाइनल खेल न्युजर्सीको मेटलाइफ स्टेडियममा हुनेछ, जसले २०२६ को फिफा विश्वकप फाइनल पनि आयोजना गर्नेछ ।
मेसी र इन्टर मियामीका लागि यो प्रतियोगिता ठूलो अवसर हुनेछ । इन्टर मियामीले इतिहास रच्न सक्छ वा विश्वका उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्न चुनौती सामना गर्नुपर्छ । फुटबलप्रेमीहरूले यो प्रतियोगितालाई विश्वभरका उत्कृष्ट खेलाडीहरूको जमघटको रूपमा लिने अपेक्षा गरिएको छ ।
समूह
समूह ‘ए’ : पाल्मेरास, पोर्टो, अल अहली, इन्टर मियामी
समूह ‘बी’ : पीएसजी, एट्लेटिको मड्रिड, बोटाफोगो, सिएटल
समूह ‘सी’ : बायर्न म्युनिख, अकल्याण्ड सिटी, बोका जुनियर्स, बेनफिका
समूह ‘डी’ : फ्लामेन्गो, ईएस ट्युनिस, चेल्सी, लियोन
समूह ‘ई’ : रिभर प्लेट, उरावा, मोन्टेरी, इन्टर मिलान
समूह ‘एफ’ : फ्लुमिनेन्स, बोरुसिया डर्टमुन्ड, उल्सान, मामेलोडी सनडाउन्स
समूह ‘जी’ : म्यानचेस्टर सिटी, वाइडाड, अल ऐन, युभेन्टस
समूह ‘एच’ : रियल मड्रिड, अल–हिलाल, पाचुका, साल्जबर्ग






