विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान र छन्द वाटिका नेपालद्वारा कवि हरि कट्टेलको छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै-बिलौनाको दास्रो संस्करणको एक विशेष कार्यक्रम आयोजना गरी लोकार्पण भएको छ । विराटनगरको राष्ट्रसेवक ऋण तथा बचत सहकारी संस्थाको हलमा भएको उक्त कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, प्राडा.मेदिनीप्रसाद शर्मा, प्राडा.हरिहर भण्डारी, कवि सोमराज अभय, साहित्यकार बलराम पोखरेललगायतले संयुक्त रूपमा कृतिको विमोचन गर्नु भएको थियो ।
कृतिको समीक्षा गर्दै नेपाली लेखक संघ केन्द्रीय सदस्य तथा साहित्यकार निर्मला कोइरालाले हरि कट्टेलको बिलौनै-बिलौना उहाँको १८ वर्षभन्दा कम उमेरमै प्रकाशित छन्दोबद्ध खण्डकाव्य भएको र २०४५ सालको कलिलो उमेरमै छन्दमा सिद्धहस्त देखिएको स्मरण गर्नुभयो । कोइरालाले भन्नुभयो, ‘बिलौनै-बिलौना काव्यमा कट्टेलले अर्को कृति चन्द्रकान्ति तयार रहेको र छिटै प्रकाशित हुँदैछ भनेर घोषणा गरेको देखिन्छ यसो हुँदा यो बिलौनै बिलौनासँग यसपटक जोडिएर प्रकाशन भएको चन्द्रकान्ति कट्टेलको अझ जेठो कृति देखिन्छ । यसबाट हरि कट्टेल बालवयमै कवितामा विलक्षण प्रतिभाका धनी देखिनु हुन्छ ।’ कट्टेलका यस पुस्तककमा रहेका गद्य,पद्य कविताहरू परिपाका छन् ।
कार्यक्रममा प्रमुख अतिथि कविराज न्यौपानेले पञ्चायतकालमा नै यस्ता विद्रोही चेतका कविता लेख्ने कवि छन्दोकविताको पुराना र बलिया कवि भएको चर्चा गरे गर्नु भयो भने विवश पोखरेले कट्टेल छन्दमा मात्र नभएर गद्य कविताका पनि भएका कविमा राम्रो कवि भएको उद्घोष गर्नुभयो । उहाँ भन्नु हुन्छ, ‘कट्टेल छन्द कविता निकै संकटमा परेका बेला बिलौना काव्य लिएर देखापरेका पुराना र स्थापित कवि हुनुहुन्छ ।’
उक्त कार्यक्रममा अतिथिको आशनबाट बोल्दै बलराम पोखरेल प्राडा.मेदिनी शर्मा, प्राडा.हरिहरलगायतले कट्टेल र उहाँको विमोचित काव्यको चर्चा गर्दै समसामयिक विषय बस्तु उठान गरेको भन्दै प्रशंसा गर्नु भयो । कार्यक्रममा कवि रमेशचन्द्र अधिकारी, कवि शारदा कार्की, प्रज्ञा कट्टेललगायतले विमोचित काव्यका केही कविताहरू वाचन गरेर उक्त कार्यक्रममा हौसला प्रदान गर्नु भएको थियो ।
बिलौनै-बिलौना २०४४ सालमा लेखी सर्वप्रथम २०४५ मा छापिएको छन्दोबद्ध लघु काव्य कृति हो । उपस्थितहरूलाई पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले स्वागत गगर्न भएको थियो भने कार्यक्रम छन्दवाटिकका सचिव चिरञ्जीवी काफ्लेले सञ्चालन गर्नु भएको थियो ।






