कथाकार राम कुँवर नेपाली साहित्यको फाँटमा त्यति परिचित नाम त होइन । यद्यपि साहित्य सिर्जनामा गहन अभिरुचि भएका कुँवर विद्यार्थीकालदेखि नै साहित्य सिर्जना गर्थे भन्ने कुरा उनकै कथनबाट पुष्टि हुन्छ । उनै साहित्यानुरागी राम कुँवरका आजभन्दा चारदशकअघि नै लेखिएका र पछिल्लो समयमा लेखिएका २० वटा कथाहरूको सङ्ग्रह प्रकाशित भएको छ ‘आमा र लोग्ने’ । यो कथासङ्ग्रहलाई शिखा बुक्सले प्रकाशित गरेको छ ।
कथासङ्ग्रहको शीर्षकले नै पाठकलाई आकर्षित गर्ने आशा गर्न सकिन्छ । कथासङ्ग्रहको शीर्षकले नै आकर्षित भएका कथाका पाठकलाई यो सङ्ग्रहले पक्कै निराश पार्ने छैन । यद्यपि सङ्ग्रहभित्रका कथाहरूमा कुनै वैश्विक चेतना, नवीन शैली र उत्कृष्ट शिल्पको प्रयोग भएको छैन । आधुनिक साहित्यमा प्रयोग हुने कुनै वाद र सिद्धान्तको प्रयोग पनि भएको छैन । परम्परागत शैलीमा लेखिएका कथाहरूमा रोचकता थप्ने प्रयास भने कथाकारले गरेका छन् । प्रायजसो कथाकारले विगतदेखि वर्तमान परिवेशलाई नियालेर वर्तमानमा कथा टुङ्याउने गर्छन् । तर कथाकार राम कुँवरका धेरै कथामा आजबाट हिजो, अस्ति हुँदै झन् विगतका घटनामा फर्केका उल्टो बगेका कथानक छन् । यसले पाठकलाई पठनमा नौलोपनको महसुस हुनेछ । पुराना कथाको पठनमा नयाँ स्वाद प्राप्त हुनेछ ।
यो कथासङ्ग्रहका आजभन्दा चार दशकअघिका र आजका कथा पनि छन् । यसो हुँदो कथाका पाठकले कथाबाट समाज हेर्ने, बुझ्ने र चिन्ने प्रयासमा तत्कालीन र वर्तमान समायको समाजलाई तुलनात्मक दृष्टिकोणले हेर्ने, बुझ्ने र चिन्ने अवसर पाउने छन् । सङ्ग्रहमा तत्कालीन र वर्तमान समयका विविध विषयका र सन्दर्भका कथा छन् ।
यो कथासङ्ग्रहका आजभन्दा चार दशकअघिका र आजका कथा पनि छन् । यसो हुँदो कथाका पाठकले कथाबाट समाज हेर्ने, बुझ्ने र चिन्ने प्रयासमा तत्कालीन र वर्तमान समायको समाजलाई तुलनात्मक दृष्टिकोणले हेर्ने, बुझ्ने र चिन्ने अवसर पाउने छन् । सङ्ग्रहमा तत्कालीन र वर्तमान समयका विविध विषयका र सन्दर्भका कथा छन् । विशेषगरी सामाजिक कथाहरूको बाहुल्य छ । हरेक कथामा समाजविज्ञान र चरित्रगत मनोविज्ञान केलाउने प्रयास गरिएको पाइन्छ । हरेक कथामा स्थानीय समाज र संस्कृतिको मिहिन चित्रण भएको पाइन्छ ।
सामाजिक विषयका कथामा पनि विशेषगरी पारिवारिक, यौन, मनोविज्ञान र मानवीय संवेदनाका कथाहरू छन् । जीवनको एउटा अभिन्न पाटोको रूपमा रहेको यौनलाई सामाजिक र पारिवारिक विषयवस्तुसँग तादात्म्य गरेर निकै मिहिन ढङ्गले केलाइएको छ । पात्रको चरित्रगत विशेषतालाई केलाउँदै उसको मनोदशा र मनोवृत्तिलाई पनि मिहिन ढङ्गले सरल भाषाशैलीमा लेखिएका कथाहरूले पाठकलाई कथापठनको आनन्द प्रदान गर्नेछन् ।
सङ्ग्रहको पहिलो कथा हो ‘आमा, दुई थाल भात खान्छु’ । गाउँले परिवेशको यो निकै मार्मिक कथा हो । गरिबी र अभावमा बाँचेका मान्छेको कथा हो यो । चामलको भात खान चाड कुर्नुपर्ने विवश मान्छेका कथा छन् यसमा । यार्साले नयाँ चाड थपेको कथा पनि छ यार्सा चाड । घटनालाई रहस्यमय पारेर कथा टुङ्गिएको छ ।
दोस्रो कथा ‘ग्राहक’ गाउँकी एक सोझी केटी, जो मीठो खाने र राम्रो लाउने रहर गर्छे, उसैको कथा हो । गरिबी र अभावमा बाँचेका र रमाइलो र सुखको रहर गर्ने छोरीमान्छे नजानिकनै यौनकर्मी बनेको एउटा मार्मिक कथा हो यो । एउटी बाख्रीको कथा हो ‘बाख्री’ तर यो समस्त नारी जातिको पनि कथा हो । जसले अनेक पीडा सहेर शिशुलाई जन्म दिन्छ र सृष्टिलाई निरन्तरता दिन्छ । संवेदनाले भरिएको छ कथा । विनाकलम क्याम्पस जाँदा कलम सापटी माग्नुपर्दाको लज्जास्पद स्थितिको वर्णन गरिएको कथा हो ‘कलम’ । इच्छा-अनिच्छाको विचारै नगरी विवाह गरिदिँदाको सम्भावित परिणाम देखाइएको कथा हो ‘विवाह’ ।
एक जागिरे युवा र थकाली युवतीबीचको प्रेमसम्बन्ध र अन्तरजातीय विवाहको रोचक वर्णन भएको कथा हो ‘कथाको खोजी’ । त्यस्तै सामान्य कथानक भइकन पनि युवावस्थामा स्वाभाविकरूपमा उत्पन्न हुने प्रेमिल भावनाहरू पोखिएको सुन्दर कथा हो ‘प्रेमपत्र’ ।
युवावस्थामा स्वाभाविक रूपमा उत्पन्न हुने प्रेमिल भावनाहरू कथामा पोखिएका छन् । ‘अवसान’ कथामा पार्टीप्रति प्रतिबद्ध एक राजनीतिक व्यक्तिको निष्ठाको बयान गरिएको छ । पार्टी, समाज र देशहितको काममा लाग्दालाग्दै आर्थिक जोहो गर्न नसक्दा परिवार सधैँ अभावमा बाँच्नुपरेको पीडा व्यक्त भएको छ । राजनीतिक व्यक्तिको अवसानमा सबैले दुःख र शोक मनाए पनि र उसलाई सम्मान गरे पनि उसको घरको भोकको समस्या समाधान नभएपछि त्यो सम्मान मात्रैको के अर्थ ? कथाले यो प्रश्न उठाएको छ ।
समग्रमा भन्नुपर्दा ‘आमा र लोग्ने’ भित्रका कथाहरू सामाजिक यथार्थका प्रतिबिम्ब हुन् । सामाजिक यथार्थको धरातलमा उभिएर लेखिएका कथाहरूमा कुनै नै कुनै रूपमा समाजका सुन्दर र कुरूप अनुहार देखिन्छन् । सुन्दर अनुहारको प्रशंसा गर्दै कुरूप अनुहारमा सौन्दर्य भर्ने प्रयासका लागि उत्प्रेरणा जगाउने काम यी कथाहरूले गरेका छन् ।
सङ्ग्रहका प्राय सबै कथाहरूले सामाजिक बेथिति र विसङ्गतिहरूलाई उजागर गर्दै त्यसमा सुधारको अपेक्षा राखेको देखिन्छ । एउटा डेरावालको भोगाइ प्रस्तुत गरिएको सामान्य कथा हो ‘डेरावाल’, हरेक कुरा निमित्तले नै चल्छ भने स्वास्नी पनि निमित्त नै खोज्ने मनसायसहित अन्त्य भएको रोचक कथा ‘निमित्त’, जनयुद्धका बेला सामूहिक यौनशोषणमा परेकी एक युवतीको मार्मिक कथा ‘कल्पना’, दुःख, पीडा, अभाव र अशान्तिले पिल्सिएको गृहस्थी जीवन त्यागेकी एउटी पात्रको कथा ‘सन्तेकी आमा’, एउटी पात्रको सन्देहास्पद चरित्रलाई साङ्केतिकरूपमा व्यक्त गरिएको ‘मेरो छोरा’, घरघरको कथा बोकेको ‘घरझगडा’, मान्छे आफ्नै कर्मका कारण कि सफल हुन्छ कि सकिन्छ भन्ने सन्देशमूलक कथा ‘झगरुको कुकुर’, गाउँको एउटा मिलको रूखसँग जोडिएका विभिन्न किस्सा अर्थात किंवदन्तीहरूको रोचक वर्णन गरिएको ‘सिमलको रूख’, प्रेमिल भावको कथा ‘चुम्बन’, मन्त्री भइसकेको एक पात्रको विगत र वर्तमान अवस्थाको तुलनात्मक वर्णन गरिएको ‘पूर्वमन्त्री’ आदि कथाले केही विगत र केही वर्तमान समाजको प्रतिनिधित्व गरेका छन् ।
प्रचारको प्रभावमा परेर धर्म नै परिवर्तन गरेकी, एउटी नारी पात्रको जीवनले कोल्टे फेरेको रोचक तर थोरै अस्वाभाविक लाग्ने कथा हो ‘आमा र लोग्ने’ । वैधव्य जीवन बिताइरहेकी नारीलाई अर्कै धर्म मान्ने एकजना नारीले भनेको कुराले उसको जीवन र जीवन जिउने तरिका र सोचमा नै परिवर्तन आएको छ । आफूले मानी आएको धर्मलाई विकृति र हजुरआमा भइसकेकी र आफ्नै आमा समानकी नारीलाई श्रीमती स्वीकारेर बिहे गर्न स्वीकृति दिने धर्मलाई संस्कृति मानेर त्यसलाई अपनाउने प्रवृत्तिप्रति थोरै स्वीकृति र थोरै अस्वीकृतिको भाव यो कथामा आएको छ । कताकता यौनले पनि यो कथाको विषयवस्तुलाई डोर्याएको महसुस हुन्छ । रोचक तर अपत्यारिलो र अपाच्य पनि लाग्छ यो कथा । तर वर्तमानमा समाजको यथार्थ यस्तै नै देखिन्छ ।
समग्रमा भन्नुपर्दा ‘आमा र लोग्ने’ भित्रका कथाहरू सामाजिक यथार्थका प्रतिबिम्ब हुन् । सामाजिक यथार्थको धरातलमा उभिएर लेखिएका कथाहरूमा कुनै नै कुनै रूपमा समाजका सुन्दर र कुरूप अनुहार देखिन्छन् । सुन्दर अनुहारको प्रशंसा गर्दै कुरूप अनुहारमा सौन्दर्य भर्ने प्रयासका लागि उत्प्रेरणा जगाउने काम यी कथाहरूले गरेका छन् । सरल भाषाशैलीमा लेखिएका कथाहरू अत्यन्तै बोधगम्य छन् । रोचक कथानकका कारण कथाहरू पठनीय छन् । कथाकारले आफ्नो कल्पनाशीलतालाई कलात्मकताले सिँगार्दै लेखनशिल्पमा अझै सुधार गर्नसके आगामी दिनमा उनका कथाहरू अझ सुन्दर, परिष्कृत र प्रभावशाली बन्नेछन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा