तिहार नजिकिएसँगै पाल्पाका महिलालाई झिनियाँ बनाउन भ्याइनभ्याइ

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । हिन्दुहरुको दोस्रो ठूलो महानपर्व तिहार नजिकिएसँगै पाल्पाका महिलाहलाई झिनियाँ बनाउन भ्याइनभ्याइ छ । तिहारमा झिनियाँ अत्यधिक प्रयोग हुने भएकाले यहाँका महिलाहरुलाई बनाउन र बिक्री गर्न भ्याइनभ्याई भएको हो ।

जिल्लाका निस्दीको गल्धा, रामपुर नगरपालिका, रम्भा, माथागढी, तानसेन नगरपालिका, रिब्दीकोट, बगनासकालीलगायतका पालिकाका महिलाहरु यति बेला झिनियाँ बनाउन र विक्री गर्नमै व्यस्त छन् । उनीहरुले यही रोटी बनाएर बिक्री गरी चाडपर्व मनाउने, घर खर्च चलाउने गर्दै आएका छन् ।

अहिले यहाँका अधिकांस घरहरुको छत/छाना, कौसीहरुमा झिलिमिलि झिनियाँ सुकाएको देख्न सकिन्छ । तानसेन नगरपालिका-३ टक्सारटोलका अधिकांस घरहरु यति बेला झिनियाँले सजिएका छन् । नेवारी समुदायमा बढी चलनचल्तीमा रहेका झिनियाँ रोटी तिहारका लागि तयारी अवस्थामा राखिएको छ । तानसेनका हरेक गल्ली गल्ली, पसल पसलमा रङ्गी विरङ्गी झिनियाँ रोटी राखिएका छन् । एक हप्तादेखि पाल्पाका अधिकांश पसलहरूमा झिनियाँ रोटीको व्यापार सुरु भएको हो ।

तिहारको आगमनसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार बढेको छ । तिहारमा रोटीको परिकारलाई शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन छ । यहाँ उत्पादित झिनिया रोटी चामलको पीठोलाई पकाएर मेसिनबाट पीठोको रेसा निकालिन्छ । त्यसलाई चाउचाउ जस्तै गोलो आकारमा निर्माण गरी २-३ दिनसम्म घाममा सुकेपछि झिनिया बजारमा बेच्न योग्य हुने गर्दछ । तानसेनको टक्सारमा उत्पादित झिनियाले तिहारका बेला राम्रो बजार पाउँदा झिनिया उत्पादन गर्ने यहाँका महिलाको आयआर्जन समेत बढ्न थालेको छ । फुर्सुदका बेला झिनिया उत्पादन गर्दै आएका महिलाले दर्जनको ५० रुपैयाँदेखि ८ सय सम्म बेच्दै आएका छन् ।

टक्सारटोलकी झिनिया व्यवसायी निर्मया श्रेष्ठ भनुहुन्छ, ‘दसैं र तिहारका समयमा माग उच्च हुन्छ । अन्य समयमा यसको न्यून रुपमा प्रयोग हुने भएता पनि शहरमा यसको माग भने भइरहेको छ । ’श्रेष्ठले चारवर्ष अघिदेखि झिनियाँ रोटी बनाएरै जीविकोपार्जन गर्दै आउनुभएको छ । ‘बाबु बाजेले पनि झिनियाँ रोटी बनाएर जीविकोपार्जन गर्नुभएको थियो, हामीले पनि अहिले त्यही काम सिक्यौं अहिले झिनियाँ रोटी बनाएर जीवन चलाएका छौ’ उहाँले भन्नुभयो । श्रेष्ठले वार्षिक २ लाखको झिनियाँ रोटी विक्री गर्दै आएको बताउनुहुन्छ । ‘मेसिन छ फुुर्सदको समयमा बनाएर राख्यो तिहारमा विक्री भईहाल्छ’ उहाँले भन्नुभयो,‘धेरै मेहनत पनि पर्दैन । आम्दानी पनि राम्रै हुन्छ ।’

ADVERTISEMENT

हाते मेसिनले यहाँ झिनियाँ रोटी बनाउने चलन छ । घरखर्च चलाउनेदेखि लिएर छोराछोरी पढाउन समेत रोटी सहयोगी बनेको व्यवसायी श्रेष्ठले बताउनुभयो ।

सिजनको समयमा उत्पादन गरेकै ठाउँमा किन्न आउनेहरुको भिड लाग्ने गर्दछ । उहाँ जस्तै टक्सार टोलका अन्य महिलाहरुले पनि झिनिया बनाएरै राम्रो आम्दानी गर्दे आएका छन् । पाल्पाको तानसेन, रामपुर, हार्थाक, ताहुँ, सराई लगायतका अधिकाश नेवारी बस्तीमा झिनियाँ रोटी बनाउने स-साना घरेलु उद्योगहरू नै सञ्चालनमा छन् । तिहारमा दाजुभाइलाई टीका लगाइदिएपछि रोटीका रुपमा झिनिया तेलमा फुराएर सेलरोटी, फिनी रोटीसँगै खुवाउने चलन रहेकाले झिनियाको व्यापार फस्टाउँदो छ । दसैं अघिदेखि नै झिनियाँ रोटी बनाउने र बिक्री गर्दै आएको रामपुर नगरपालिका-५ की लक्ष्मी श्रेष्ठले बताउनुभयो । उहाँले रोगी माग अत्याधिक रहेकाले बजारको कुनै समस्या नरहेको बताउनुभयो । ‘हामीले बनाउने रोटी पुर्‍याउनै नसक्ने अवस्था छ,’ श्रेष्ठले भन्नुभयो ‘धेरै स्थानबाट माग आउने गर्छ । तर पठाउन सबैलाई सक्दैनौँ ।’ आफैंले उत्पादन गरेको नपुगेर अन्य महिलाले बनाएको खरिद गरेरसमेत पठाउने गरेको उहाँले सुनाउनुभयो ।

नेवार समुदायको पुजाआजाका समयमा अनिवार्य जस्तो भएको भएता पनि पछिल्लो समयमा सबै सम्प्रदाय तथा समुदायमा झिनिया रोटीको आकर्षण बढेको छ । यसका कारण झिनिया रोटीको व्यवसाय पनि फस्टाउँदै गएको हो । पाल्पाबाट उत्पादित झिनिया गुल्मी, स्याङ्जा, पर्वत, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, कास्की, तनहुँलगायतका जिल्लामा ठूलो मात्रमा आयात हुँदै आएको झिनिया व्यवसायी बताउँछन् । महिलाको आम्दानीको बलियो स्रोत बन्दै गएको झिनियाँ रोटी पाल्पाबाट मात्र ३ करोड रुपैयाँभन्दा बढीको व्यापार हुने गरेको भए पनि यकिन तथ्यांक भने कहि कतै छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?