काठमाडौं । छन्दविज्ञान निरौलाद्वारा लेखिएको ‘सगरमाथाको काखबाट इतिहास चियाउँदा’ शीर्षकको सोलुखुम्बुको इतिहास समेटिएको पुस्तक लोकार्पण भएको छ । वरिष्ठ अधिवक्ता मातृकाप्रसाद निरौलाको सभापतित्वमा शनिबार भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथि हुनुहुन्थ्यो भने पूर्वमन्त्री बलबहादुर केसी उक्त समारोहमा विशिष्ठ अतिथि रहनुभएको थियो । अतिथि नेपालले पानसमा दीप प्रज्ज्वलन गरी शुभारम्भ गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथिलयगायतका मञ्चासीन व्यक्तिहरूबाट उक्त कृतिको लोकार्पण भएको थियो ।
साहित्यकार तथा पत्रकार विनोद दहाल वत्सले लोकार्पण भएको उक्त कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । भक्तपुरको ठिमीस्थित याचु पार्टी प्यालेसमा आयोजना भएको उक्त कार्यक्रमको सञ्चालन रामकुमार खड्काले गर्नुभएको थियो । समग्र अध्ययन अनुसन्धान केन्द्र नेपाल आयोजक रहेको सो कार्यक्रममा बालचन्द्र निरौलाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपालले पुस्तक लेख्न तथ्य र सामग्रीहरूको अध्ययन गर्नुपर्दछ, तथ्यलाई विश्लेषण गरेरमात्र लेख्नुपर्दछ भन्दै इतिहास लेख्ने काम गाह्रो हुने भएकाले लेख्न सक्नेले मात्र लेख्नुपर्दछ भन्नुभयो ।
राम्रो काम गर्नेलाई अरूले स्याबासी भन्न सक्नुपर्छ भन्दै उहाँले आफू प्रधानमन्त्री भएका बेला सगरमाथाको फेदी काला पत्थरमा मन्त्रिपरिषद्को बैठक गरेको संस्मरण गर्दै सगरमाथा रहेको जिल्ला सोलुखुम्बुको इतिहास लेखिनु सराहनीय कार्य भएको विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा पूर्वमन्त्री तथा कार्यक्रमका विशिष्ठ अतिथि बलबहादुर केसीले ओखलढुंगा क्रान्तिको एकजना सहभागी आफू पनि भएको बताउँदै जमिनले उत्पादन दिन छोड्यो र विद्वानले ज्ञान दिन छोड्यो भने त्यो अनिष्ट हो भन्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा डिल्लीप्रसाद मूल तिहुन, विनोद दाहाल वत्स, शालिग्राम दाहाल, गणेश घिमिरे मार्मिकलगायत कविहरूले कविता वाचन गर्नुभएको थियो भने लेखक निरौलाले आफ्नो लेखकीय मन्तव्य राख्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts