काठमाडौं । नैकापस्थित ब्राइट फ्युचर स्कुलले आइएसएफ जिम्नासाइड समर गेम्समा सहभागी हुने चन्द्रागिरि नगरपालिकाका खेलाडी, प्रशिक्षक र अफिसियललाई शनिबार बिदाइ गरेको छ । अक्टोबर २३ देखि ३१ तारिखसम्म बहराइनको मानामामा हुने आइएसएफ जिम्नासाइडमा चन्द्रागिरि नगरपालिकाबाट तीन खेलाडी, दुई प्रशिक्षक र एक टोली प्रमुखसहित ६ जनालाई सफलताको शुभकामनासहित बिदाइ गरियो । पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशकी पूर्व युवा तथा खेलकुद मन्त्री रमा आले मगर, चन्द्रागिरि नगरपालिकाकी उपमेयर वसन्ती श्रेष्ठ, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापालगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
तेक्वान्दोमा उज्ज्वल वाग्ले, लवाङ लामा र निविता केसीले प्रतिस्पर्धा गर्नुहुनेछ । उज्ज्वलले पुरुष ७० केजीमाथि तथा लवाङ र निविताले एकल र पेयर पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । प्रशिक्षकमा तेक्वान्दोका सुवास तामाङ र बक्सिङका दीपक महर्जन रहनुभएको छ । टोली प्रमुखमा नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष मोहनकुमार कार्की हुनुहुन्छ ।
उहाँहरूसहितको ५८ सदस्यीय टोली बुधबार बहराइन प्रस्थान गर्नेछ । नेपाल विद्यालय खेलकुद महासंघका महासचिवसमेत रहनुभएका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की भने शनिबार बहराइन प्रस्थान गर्नुभएको छ ।
आइएसएफको आयोजनामा हुने प्रतियोगितामा नेपालले विभिन्न पाँच खेलमा सहभागिता जनाउँदै छ । नेपालबाट ब्याडमिन्टनमा एक, बास्केटबलको पुरुष थ्री बाई थ्रीमा १५ (चार टिम), बक्सिङमा पाँच, टेबलटेनिसमा ६ र तेक्वान्दोमा पाँच खेलाडी सहभागी हुने नेपाल विद्यालय खेलकुद महासंघका सचिव एवं बहराइन जाने टोलीका व्यवस्थापक सोविनराज रेग्मीले जनाउनुभएको छ ।
यू-२० उमेर समूहको आइएसएफ जिम्नासाइड १९७४ मा पहिलोपटक जर्मनीमा भएको थियो । बहराइनमा २०औँ संस्करण हुन लागेको हो । प्रत्येक दुई वर्षको अन्तरालमा हुने आइएसएफ जिम्नासाइडको १९औँ संस्करणमा नेपालले पहिलोपटक सहभागिता जनाएको सचिव रेग्मीले जानकारी गराउनुभयो । त्यसबेला नेपालले पौडी, टेबलटेनिस, तेक्वान्दो र बास्केटबलमा भाग लिएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता