काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत समूह ‘बी’ मा रहेको आयोजक नेपालले आज (शुक्रबार)आफ्नो पहिलो खेल भुटानसँग खेल्दै छ । दुई देशबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको तयारीका लागि थोरै समय भए पनि टिम तयार रहेको बताउनुभयो । ‘महिला लिगले गर्दा तयारीका लागि धेरै काम गर्न पाएनौँ तर हामी च्याम्पियनसिपका लागि तयार छौँ,’ प्रशिक्षक तामाङले भन्नुभयो, ‘यसअघि नेपालले डिफेन्समा गल्तीले गर्दा फाइनलमा हारेको थियो । यसपटक हामीले डिफेन्समा सुधार गरेका छौँ ।’
तामाङ सन् २०२२ को संस्करणमा नेपाली टोलीमा सहायक प्रशिक्षक हुनुहुन्थ्यो । त्यतिबेला भारतलाई हराएर फाइनलमा पुगेको नेपाल बंगलादेशसँग पराजित हुन पुगेको थियो । नेपाल यो पटक उपाधिको खडेरी तोड्न चाहन्छ । विजेता बंगलादेश उपाधि रक्षा गर्ने योजनामा हुनेछ । पाँचौँ संस्करणसम्म अपराजित रहँदै च्याम्पियन बनेको भारत आफ्नो पुरानै लय फर्काउन चाहन्छ । मुख्यतः यही तीन टिमलाई उपाधिको दाबेदार मानिएको छ ।
नेपाली टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले यसपटक टिम सन्तुलित रहेको बताउनुभयो । ‘सबै टिमले कडा मिहिनेत गरेका छन्, हामीले पनि कडा मिहिनेत गरेका छौँ,’ उहाँले भन्नुभयो, हामी च्याम्पियन बन्नकै लागि खेल्ने हो, ट्रफी घरमै राख्ने प्रयास गर्नेछौँ ।’
साबिक विजेता बंगलादेश र पाँचपटकको च्याम्पियन भारतका प्रशिक्षक र कप्तानले पनि च्याम्पियनसिप खेल्न उत्साहित रहेको बताउनुभएको छ । भारतीय प्रशिक्षक सन्तोष कश्यपले अट्याकिङ फुटबलमार्फत् सबैलाई मनोरञ्जन दिने बताउनुभयो । नेपालसहित दक्षिण एसियाली सात राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ । बिहीबार पाकिस्तान र भारतबीच उद्घाटन खेल भएको हो । त्यो समूहमा अर्को टोली बंगालादेश रहेको छ ।
साफको समूह ‘बी’मा आयोजक नेपालसहित माल्दिभ्स, भुटान र श्रीलंका छन् । नेपालले लगातार तेस्रोपटक साफ च्याम्पियनसिप आयोजना गर्दैछ । सन् २०१९ मा विराटनगर र गत वर्ष काठमाडौंमा आयोजना भएको थियो । त्यसमा नेपाललाई हराउँदै बंगालादेश पहिलोपटक च्याम्पियन बनेको थियो । एउटाबाहेक सबै संस्करण फाइनल खेलेको नेपाली टोली अहिलेसम्म च्याम्पियन बनेको छैन । च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोली सोमबार घोषणा भएको थियो ।
टिकट बिक्रीको १६ लाख नेपाली टोलीलाई दिने घोषणा
अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको टिकट बिक्रीको २० प्रतिशत रकम राष्ट्रिय महिला फुटबल टोलीलाई दिने घोषणा गरेको छ । साफ सुरु हुनुअघि नै महिला टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको हो । ८० लाख रुपैयाँमा एन्फाले माउन्टेन एभरेष्ट स्पोटर््स एण्ड इभेन्ट्स प्रालिलाई टिकट बिक्रीको जिम्मेवारी दिने सम्झौता गरिसकेकाले टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको हो । साफ च्याम्पियनसिपको सहभागी नेपाली महिला टोलीलाई युनिलिभर नेपालले ट्राभल किट्स प्रदान गर्न बुधबार आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले टिकट बिक्रीको २० प्रतिशत रकम दिने घोषणा गर्नुभयो ।
नेपाली महिला फुटबल टोली
एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, सजनी थोकर ।
भारतले पाकिस्तानलाई पाँच-दुईले हरायो
बिहीबार सुरु भएको साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई पाँच-दुई ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि डाङमेई ग्रेसले दुई गोल गर्नुभयो भने मनिषा कल्यान, बाला देवी र ज्योति चौहानले एक-एक गोल गर्नुभयो ।
पाकिस्तानका लागि सुहा हिरानी र काएला मारी सिद्दिकीले एक-एक गोल गर्नुभयो । यसै खेलबाट भारतकी कप्तान अशलता देवीले एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गर्नुभयो ।
खेलको सुरुवातदेखि नै पाकिस्तानमाथि दबाब बनाएको भारतले खेलको पाँचौं मिनेटमै डांगमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाउनुभयो । यस्तै मनिषा कल्यानले १७ औं मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर पार्नुभएको थियो ।
३५ औं मिनेटमा बाला देवीले गोल गरेपछि भारतले तीन-शुन्यको अग्रता बनायो । बक्सभित्र प्राप्त फ्रिकिकमा मनिषाले बाला देवीलाई सट पास दिनुभएको थियो र त्यसमा बालादेवीले गोल गर्दै भारतका लागि आफ्नो ५० औं अन्तर्राष्ट्रिय गोल पूरा गर्नुभयो । भारतका लागि डाङमेई ग्रेसले ४२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्नुभयो ।
पाकिस्तानले पहिलो हाफको इञ्जुरी टाइममा पेनाल्टीमा गोल फर्कायो । पहिलो हाफको इञ्जुरी टाइममा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमा गोल गर्नुभएको थियो । भारतकी अशलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो र त्यसमा हिरानीले सहजै गोल गर्नुभयो ।
दोस्रो हाफको सुरुमै पाकिस्तानले गोल गर्दै भारतलाई दबाबमा राखेको थियो । ४७ औं मिनेटमा पाकिस्तानकी काएला मारी सिद्दिकीले गोल गर्दै खेल चार-दुईको स्थितिमा ल्याउनुभयो ।
७८ औं मिनेटमा ज्योति चौहानले गोल गर्दै भारतलाई पाँच-दुईको अग्रता दिलाइन् । प्रतियोगितामा सर्वाधिक पाँच पटक उपाधि विजेता भारतले समूह ‘ए’ मा तीन अंक जोडेको छ । भारत यो जितपछि सेमिफाइनल नजिक पुगेको छ । समूह ‘ए’ मा भारत र पाकिस्तानसहित साविक विजेता बंगलादेश छ । यस समूहको अर्को खेल आउने आइतबार पाकिस्तान र बंगलादेशबीच हुनेछ ।
बंगलादेशले पाकिस्तानलाई पराजित गरेमा भारत र बंगलादेश समूह चरणमा खेल्नुअघि नै सेमिफाइनलमा प्रवेश गर्नेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा