काठमाडौं । चौथो क्योकुसिन तेजुका विश्व कराँते च्याम्पियनसिपका लागि दुई पुरुष खेलाडी मंगलबार छनोट भएका छन् । नेपाल क्योकुसिन कराँते आइकेओ संघले पिंगलास्थानमा आयोजना गरेको एकदिने छनोट प्रतियोगिताबाट दुई खेलाडी छनोट भएका हुन् ।
पुरुष खुला तौल समूहमा ओखलढुंगाका मनिष कार्की छनोट हुनुभएको आयोजक संघका अध्यक्ष दमन बस्नेतले जनाउनुभएको छ । उहाँले फाइनलमा ललितपुरका गौरव आचार्यलाई पराजित गर्नुभयो । पुरुष एकल कातामा शीर्ष स्थानमा रहँदै सोलुखुम्बुका दावा शेर्पा छानिनुभयो । प्रतियोगिता जापानमा फेब्रुअरी २२ देखि २५ तारिखसम्म हुनेछ ।
छनोट प्रतियोगिताको मुख्य जुरीमा दमन बस्नेत, मुख्य रेफ्रीमा प्रमुख प्रशिक्षक रोशन कपाली तथा सहायक रेफ्रीमा नन्दकुमार किराँती, जिनेश डंगोल, धनबहादुर हाङदुङ र प्रवेश किराँती रहनुभएको छ । खुला तौल समूहमा १६ तथा कातामा १४ खेलाडीको सहभागिता रहेको अध्यक्ष बस्नेतले जनाउनुभएको छ ।






