ओरालो ढुङ्गे बाटो । छिप्पिँदै गरेको रात । त्यो पनि अँधेरी । गौँडागल्फा-पठ्युँमा ढिला भए पनि गजधम्मे भारी दुवैका । जीवन कति फरक लाग्छ कहिलेकहीँ जिन्दगीमा । यही बाटो । बेलुकीपखका भए पनि झलमल्ल घामका किरणले चारैतिर आच्छादित भएकै हुन्थ्यो । एक किलोमिटरसम्मको लामो घाँसी जमात जसमा भालेपोथी, बाल, तरुण, वृद्धसम्मको ताँती । आनन्दका गीत गाउँदै, सुसेली सुइक्याउँदै, हुइवाका अन्तरोल्लासमा पाइलाहरू त्यत्तिकै थाहा नै नपाई उछिट्टिन्थे ओरालो । बिर्सिन्थे चौतारीमा लामबद्ध हर्षहरू । खुशीको त्यो क्षण, त्यो स्थान, उस्तै खालका मान्छेका जमातमा पसे पनि अहिले त्यो खुशीमा, हामीमा यसर्थ जन्मन्न विचारले वा चैतन्यको चहकले फरक भएका छौँ ।
त्यस बेलाको सोचले त्यही संसार स्वर्ग ठान्थ्यो । गरिएका तिनै कर्महरू उद्देश्यका अन्तिम बिन्दु मानिन्थे । तिनै साथीसँगातीहरू, तिनै मान्यजनहरू, तिनै मित्रमित्राणीहरू अन्तिम मान्छे थिए जसभन्दा उता अर्को दुनियाँको कुनै सम्बन्ध मनसँग थिएन । आज समय उही हो-अवस्था फरक छ । बाटो त्यही हो-गति फरक छ । कर्म तिनै हुन्-मनोधरातल फरक । त्यत्रो सङ्ख्याको साटो दुई मात्रको सीमितता । त्यतिका भिन्न अवस्थाको साटो एउटै बैँसालु वय । प्रकाशमय उज्यालाका सामु वा सट्ट अन्धकार अस्पष्टता । हिंस्रक वन्यजन्तुका आवाज नभए पनि लाग्ने । सम्म ठानेर टेक्यो-भिरालो लड्ने । लड्ने भिरालो ठानेर होसियारी अपनायो-भित्तामा घुँडा दर्फरिने । मनानन्द त्रासको वर्षादी ।
त्यस बेलाको सोचले त्यही संसार स्वर्ग ठान्थ्यो । गरिएका तिनै कर्महरू उद्देश्यका अन्तिम बिन्दु मानिन्थे । तिनै साथीसँगातीहरू, तिनै मान्यजनहरू, तिनै मित्रमित्राणीहरू अन्तिम मान्छे थिए जसभन्दा उता अर्को दुनियाँको कुनै सम्बन्ध मनसँग थिएन । आज समय उही हो–अवस्था फरक छ ।
लड्दै, गड्दै, पढ्दै, चढ्दै र ओर्लँदै खोक, ओढार, अप्ठेरो गौँडो, भीरको बिसौनी, चेप्टो ढुङ्गो, चुथ्राको फेद, तरुलभष्मे, सुन्तारे खोलाको उल्टो, गाउँमाथिको चौतारीमा एकछिन् भारी बिसाउँदा निस्पट्ट आँखाका नानीले काम गर्न कत्ति पनि नसक्ने भएपछि सिरानको घर जसलाई बुकेली माइलाको घर भनिन्छ । माइलाहरू अर्थात् पुरुषभन्दा यस घरकी नारी थिइन्, छिन् अहिले पनि । बाहिरी प्रचलित नामका आधारमा च्याउँकी भाउजू भन्थँे म । असाध्य मिलनसार । मनले जितेर नै बाटाका ढुङ्गामा भारी बिसाएर राँको वा अगुल्टो लिन हामी दुई घरभित्र पस्यौँ । आश्चर्यचकित बने उनीहरू । मनमा लगाउने स्पष्ट अर्थ थिए-‘भुलेछन् यिनीहरू उसै कर्ममा । पथ्र्याे पनि विडम्बना मभित्रका आदर्शको ।
दुई अगुल्टा उचालेर भारी पिठमा राख्दै झर्यौँ सुनसान अँध्यारा बाटामा उज्याला झिल्का हल्लाउँदै । अन्य त्रास समाप्त छन् यसबेला । एकमात्र भयको भार वारपार बनेर शिर गजबारभित्र घेरिएको छ भने-भोलि के होला ? गाउँलेले के गर्लान् ? मैले नगरुन् भनेकामा उनी गरिदिए हुन्थ्यो भन्ने ढुक्कमा छिन् । बीच गौँडोमा पीताम्बर दाहाल दाजु हाम्रा लागि अचानक तर उनी चाहिँ सुनियोजित रूपमा नै भेटिए । चाहन्थे उनी त्यस्तै छिद्रहरू सँगालेर हरेकलाई आफ्ना वशमा राख्न । उनलाई थाहा थियो-गाउँभरिका सूचना सँगालेर उनी बसेका थिए–गौँडामा । सबै पोका पन्तेरा खोले उनले । उनका पिता फणिन्द्रमणि दाहाल जो प्रधानपञ्च पनि थिए कहाँ पुगेर हाम्रा बारेमा बेलीबिस्तार लगाएको र दण्डित गर्न आग्रह गरेसम्मका कुरा ।
प्रधानपञ्चले-उसलाई कारबाही गर्न सकिन्नको असमर्थता प्रकट गरेको जानकारी पीताम्बरले दिए । नाम र सङ्केत उल्लेख गरिएका यी तीनजना नै मलाई केही लाग्दैनथ्यो को अहँममा भएको नभई यो नै यथार्थ थियो । समाजले ठानेको गलत कार्य गरेको प्रमाण नै पाए पनि यिनीहरू मलाई दण्डित गर्दैनथे । यो कडी मसँग थियो । अहिलेको मनोविज्ञान त्यस बेला मसँग भएको भए भैँसी गोठको गोठालो नै भएर गाउँमा रहँने थिएँ । यो पनि एक प्रकारको आनन्दकै अवस्था हुन्थ्यो होला सायद मेरा लागि । किनकि म एक्लो हुँदा मेरो अनन्तको अविचल विचारको आकाशसँग अर्को आहत हुने थिएन ।
गाइँगुईं मान्छेका मनमा मात्र पहिरा चले सभा राखेर दण्डित गर्ने त कुरै छाडौँ । उनका बाबुले पनि उनी मध्यरातमा घर पुग्दा डेरा आँखामात्र लगाए रे ! भन्थिन् उनले तर उनलाई म तपाईं भन्थेँ उनी मलाई माया गरेका बेलामा मात्र नत्र सधैँ तँ नै भन्थिन् । अजीव थियो यो नाता । अजीव उस्तै हुँदा रहेछन् अन्तर चाहनाहरू ।
दुई वर्ष म शुद्धबुद्ध जस्तै गोठालो भएर तारेभीरमा बस्दाका प्राञ्जलप्राकृतिक हृदयग्राहृय अनुभव छन् मसँग जसमा कुनै मस्तिष्कीय गुनासो रहन्न, तार्किक चिन्ताको तातो चोया चिथोरिन्न शरीरमा । जहाँ जस्तो अवस्थामा पनि हृदय बोल्छ, आँसु नै आए पनि आनन्दको सरोवर बहन्छ । ठूल्ठूला नेतासँगका पैचासिक अनुभव, विदेश यात्राका कृत्रिम गन्थने अनुभव, प्रशासनिक क्षेत्रका गोपनीय भ्रष्ट अनुभव, सिडियो सचिव, कमाण्डर इन्चिफ भएका र गरिएका हिंसात्मक अप्राकृतिक गुनासाका अनुभव, पियन, सुब्बा, सेक्सन अफिसरसम्म भएर गरिएका करतुतजन्य आपराधिक अनुभवमा रमाएका मान्छेभन्दा अलगको दुनियाँ हुन्थ्यो त्यता ।
आपराधिक यिनै अनुभवलाई जीवन ठान्ने मेरा मनका मान्छे हुन सक्दैनन् भलै उनीहरूले मलाई आफ्नै किन नठानुन् । यी र यस्ता कर्महरू भौतिक बँचाइका लागि मात्र गरिने कुकर्म हुन् । सानलाई यी स्वभाव हुन सक्छन् तर संयम पिरामिडका सधैँ शत्रु हुन् यी । यिनमा न मान्छेको म हुन्छ, न त उच्च धरोहरको मानवता, न प्रकृतिप्रणयको प्राञ्जल्य हुन्छ, न सिर्जनात्मक संसारको बेबिलोन । अहिले सम्झन्छु म ।
तारेभीरका गोठ जहाँ माघफागुनदेखि साउने सङ्क्रान्तिसम्मको यात्रा हुन्छ । उच्च लेक । झम्झम झरीको चौबीसै प्रहरको झम्झमाहट । पातले प्रेमका थोपा चुहाउँछन् । भकारी चित्रामाथि आएका आवाजले अन्तरसङ्गीतका धुन उराल्दा रहेछन् । चरनमा चरेका गाईभैँसीका आवाजमा अलकापुरको सप्तस्वर गुञ्जित हुँदोरहेछ । बिराली पारेर अँगेनाका वरिपरि सेकाएका पिँडुलाहरू साँच्चै सहज प्रकृतिका अनुपम छाया रहेछन् ।
परिवर्तन चाहनेले मुखका स्वाङे आदर्श होइन सोचका आदर्शलाई व्यवहारमा ल्याउन आफैँ सक्नुपर्छ, आफैँ उत्रिन सक्नुपर्छ । बोली व्यवहार तदनुकूल बनाएपछि उपदेशात्मक आवाज छर्नु पर्दैन, हुँदैन पनि-यस देशका नेता र कर्मचारी झैँ । नेता जे बोल्छन् त्यो कहिल्यै गर्दैनन् । जे गर्छन् त्यो कहिल्यै बोल्दैनन् ।
अन्धविश्वासको विरोध मेरो अक्षरको उपजन भएर, चेतनाको चस्का नभएर, नक्कलको आडम्बर र नयाँ हुनुको अहङ्कार नभई जन्मजातको संस्कार नै हो । त्यो जङ्गला मुलुकमा, त्यो अन्धपरम्पराको म त महासागर नै भन्छु अझ त्यस बेलालाई सिरक ओढेको समाजमा ढुङ्गा रँगाउँने र पूजागर्नेदेखि जनै सेप्ने, कोरा बस्ने त कुरै छाडौँ बिहानबेलुकीको खाना बनाउँदा आमाभाउजूहरू, दिदीबहिनी र बुहारीहरूले चोलासमेत खोलेर पातला मजेत्राले लाज छोप्दै गर्मीमा आत्थाथाथा र जाडामा आच्छुछुछुसँगै खाना बनाउनु पथ्र्यो । पुरुषले नाङ्गेझार भएर टुप्पी सिका पार्दै निधारमा टीकाका धर्सा तेस्र्याएर चुलाका पिरुकामा बसी खाना खानुपथ्र्यो । पकाए पनि यसै रूपमा । यी व्यवहारबाट अक्षर नचिनेको शुद्ध गोठालो कलेभित्र एउटा हुण्डरी मच्चिन्थ्यो, आक्रोशको ज्वाला छुट्थ्यो ।
मनमा मात्र नराखेर यस विद्रोहलाई जे पर्छ बाहिर ल्याउने अठोट गरेँ । घाँसदाउरा गर्दाका जीवनबाट, मेलापात गरिएका काम र व्यवहारबाट जन्मदै गरेको मप्रतिको सीमाभित्रको अथाह जनविश्वास, एक प्रकारले त्यस समुद्रको छेउमा कुवाजस्तै, विराट विश्वको छेउमा अन्धविश्वासले जकडिएको त्यस गाउँ र गाउँले मानसिकताभित्र परिवर्तनको ढ्याङ्ग्रो ठोक्नु पनि सर्वविजयको सान सम्झिइन्थ्यो त्यो बेला । ढिँडाका गाँस गुन्द्रुकका झोलमा चोबेर कुर्लुक्क पार्नुको मजा त छँदै थियो, जाडोले ओठ काँपेर पेट भर्न मुखमा राखेको गाँस भुइँतिर वा थालमा नै झरेका तीता यथार्थले दिल त्यसभन्दा बढी दुख्थे ।
अरूमा त्यसप्रतिको विश्वास भित्रैदेखि भएकाले संस्कार निर्मित थियो तर म हरेक चिजलाई उल्टोबाट सुल्टोमा पुग्ने, नकारात्मक पूरा केलाएपछि मात्र सकारात्मकमा स्वभावसँग खेल्ने स्वभावको भएकाले भएका भन्दा अलग बाटो तय गर्थें । सायद जीवनयात्राका हरेक सिँढी म यसै सूत्रबाट उक्लिने हुँनाले मान्छे अचम्म मान्छन्, मलाई अनौठो ठान्छन् स्वाभाविक पनि हो । एक प्रकारले उनीहरूका दृष्टिमा म बौलाहा, म बौलट्ठी, म पागल । घरभित्र विद्रोह सम्भव थिएन । पण्डित बाबुको पुत्रमात्र नभएर त्यसै पेशाबाट अठार जना जहान परिवारको हातमुख जोरिन्थ्यो । दाजुहरू धेरै शठमतिका, थोरैमात्र नयाँ सोच भएका भएर पनि चुपचाप रहँने । मैले गाउँका घरलाई रोजेँ । बुइकले माइला र खतिवडा कान्छका घर मेरा नित्यागमनका आफ्नै घरजस्ता लाग्थे र थिए पनि ।
परिवर्तन चाहनेले मुखका स्वाङे आदर्श होइन सोचका आदर्शलाई व्यवहारमा ल्याउन आफैँ सक्नुपर्छ, आफैँ उत्रिन सक्नुपर्छ । बोली व्यवहार तदनुकूल बनाएपछि उपदेशात्मक आवाज छर्नु पर्दैन, हुँदैन पनि-यस देशका नेता र कर्मचारी झैँ । नेता जे बोल्छन् त्यो कहिल्यै गर्दैनन् । जे गर्छन् त्यो कहिल्यै बोल्दैनन् । यसर्थ यिनीहरू असल विचारका दुश्मन हुन्, दुर्जन हुन् । कर्मचारी कुनै यस्तो छैन र हुँदैन जसले घुस नखाओस् तर ऊ नै सबभन्दा बढी यसको विरोधमा ओठ बर्बराउँछ । मसँग अनजानमै एउटा अठोट जन्मेको थियो बोली, व्यवहार र लेखनमा समानता होस् अर्थात् जे बोलिन्छ त्यही गरियोस् जे गरिन्छ त्यही बोलियोस्–ठट्टा, रामरौसका सन्दर्भबाहेक ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts