काठमाडौं । संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल जातजाति, भाषाभाषी र संस्कृतिमा धनी देश भएकोले तिनको संरक्षण र प्रबद्र्धनमा आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । विश्व पर्यटन दिवस-२०२४ को सन्दर्भमा सांस्कृतिक मञ्च नेपालले राष्ट्रिय नाचघर जमल काठमाडौंमा आयोजना गरेको बृहत् सांस्कृतिक महोत्सव उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालका सबैजसो क्षेत्रमा हाम्रा मौलिक परम्परा, रहनसहन, भेषभूषामा विविधता रहेको बताउँदै लोपोन्मुख अवस्थामा पुगेका त्यस्ता रैथाने सांस्कृतिक कुरालाई जोगाउन सबैजना लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले मुकाम मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘मुकाम’ म्यागेजिनको दशौं अंक (आर्थिक-औद्योगिक पर्यटन सर्किट विशेषांक)को विमोचन गर्दै सांस्कृतिक मञ्च नेपालले बृहत् सांस्कृतिक महोत्सव आयोजना गरेर र मुकाम म्यागेजिनले विभिन्न ठाउँमा लुकेर रहेका संस्कृतिको प्रकाशन गरेर संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान दिएको जिकिर गर्नुभयो । ‘सांस्कृतिक झाँकी र नाच जोगाउन सांस्कृतिक मञ्च नेपालले सातै प्रदेशका प्रतिनिधि नृत्य काठमाडौंसम्म ल्याएर सांस्कृतिक महोत्सव आयोजना गर्नु र मुकामले म्यागेजिनका माध्यमबाट सातै प्रदेशमा लुकेर रहेका सांस्कृतिक र पर्यटकीय गन्तव्यलाई अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गर्नु आफैंमा उदाहरणीय काम हो,’ उहाँले भन्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सबै प्रदेशमा लुकेर रहेका र लोप हुने अवस्थामा पुगेका संस्कृतिको जगेर्ना गर्न सबै प्रदेश सरकारले नीति बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा सातै प्रदेशबाट आएका सहभागीहरूले लोपोन्मुख, रैथाने, स्थानीय मौलिक संस्कृतिको प्रदर्शन गरेका थिए । सांस्कृतिक मञ्च नेपालका अध्यक्ष गणेश रिमालले पर्यटन नै देश विकासको आधार बन्न सक्ने कुरालाई जोड्न सकिने आधार भएकाले यो कार्यक्रम आयोजना गरिएको सुनाउनुभयो ।
कार्यक्रममा दार्चुलाको हुड्केउली छलिया नाच, बझाङको भारीखेल, सोलुखुम्बुको तोशी नाच, जाजरकोटको चर्चित खाँडो नाच, जनकपुरमा देखाइने पमरिया र झरीझरी नाच, रूकुम पश्चिमको सिंगारू नाच, म्याग्दीको पुन समुदायमा चर्चित सोरठी नाच, धादिङको म्हेन्दोमाया नाच, रोल्पाको पैंसेरी नाच, मधेस प्रदेशमा प्रचलित होली नाच गरी १० वटा विभिन्न क्षेत्रका संस्कृति झल्किने नाचहरू प्रदर्शनी गरिएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts