झापा । प्रथम झापा १-काठमाडौं कप फुटसल प्रतियोगिता २०८१ सञ्चालन हुने भएको छ । डिएभी स्कुल जावलाखेल, ललितपुरमा हुने प्रतियोगितामा ३० वर्षमुनिका खेलाडी रहनेछन् । उक्त फुटसल प्रतियोगितामा सातवटा टिम समावेश हुने भएका छन् ।
१२ गते शनिबार सञ्चालन हुने उक्त फुटसल प्रतियोगितामा झापा क्षेत्र नं. १ का सातवटा टिमबीच प्रतिस्पर्धा हुने भएको हो । जसमा क्षेत्र नं. १ का साबिकका गाविस शान्तिनगर, बाहुनडाँगी, धाइजन, मेचीनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगढीबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगितामा विजेता हुने टिमले २१ हजार नगदसहित ट्रफी र सम्मानपत्र पाउनेछन् भने दोस्रो हुने टिमले ११ हजार नगदसहित ट्रफी र सम्मानपत्र पाउने आयोजक संस्था झापा १-काठमाडौं सम्पर्क समितिका प्रमुख प्रज्वल कोइरालाले जानकारी दिनुभयो ।
उक्त अवसरमा झापाका राजनीतिक दलका नेता भर्सेस झापाका कलाकारबीच रोमाञ्चक मैत्रीपूर्ण खेल हुनेछ । सो खेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले नेता अग्नि खरेल, एलपी साँवासहितका नेताहरू खेल्दै हुनुहुन्छ भने कलाकारका तर्फबाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विलसन विक्रम राई, टीका भण्डारी, प्रकाश सुवेदी, हेमन्त बुडाथोकीलगायत भिड्दै हुनुहुन्छ । सो अवसरमा सभामुख देवराज घिमिरे र कांग्रेस नेता कृष्ण सिटौलाको पनि उपस्थिति हुने तय भएको छ ।
साथै पेशा व्यवसायी भर्सेस कर्मचारी, झापा क्षेत्र नं. १ क र ख का महिला टिमबीच मैत्रीपूर्ण खेलसमेत हुने भएको छ । झापाबाट काठमाडौं आई बसोबास गर्ने, व्यापार व्यवसाय गर्ने र विद्यार्थीहरूलाई लक्षित गरी उक्त खेलको आयोजना गरिएको छ ।
बडादशैँ, तिहार, नेपाल सम्वत् र छठको शुभकामना आदानप्रदान गर्ने अवसरका रूपमा झापा-१ संघीय सांसद सचिवालय र नेपाली कांग्रेस झापा १-काठमाडौं सम्पर्क समितिले संयुक्तरूपमा प्रतियोगिताको आयोजना गरेको हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts