घोराही । आइसिसी यू-१९ महिला क्रिकेट वल्र्ड कप एसिया क्वालिफायर प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यू-१९ महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । आगामी नोभेम्बर ६ तारिखदेखि युएईमा हुने एसिया क्वालिफायर प्रतियोगिताका लागि तयारीस्वरूप दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बन्द प्रशिक्षण सुरु भएको हो ।
बन्द प्रशिक्षणमा १५ देखि १९ वर्षमुनि उमेर समूहका सातवटै प्रदेशबाट छनोट भएका २९ महिला क्रिकेट खेलाडी छन् । बन्द प्रशिक्षणमा सिनियर टिमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएकी खेलाडी पूजा महतोलगायतका खेलाडी समावेश छन् ।
२९ जना खेलाडी सहभागी बन्द प्रशिक्षण लमहीमा १५ दिनसम्म चल्नेछ । बन्द प्रशिक्षणपछि आन्तरिक प्रतिस्पर्धा गराउँदै दोस्रो चरणका लागि १७ जना खेलाडी छनोट हुनेछन् । एसिया क्वालिफायर खेल्ने अन्तिम १४ खेलाडीको टुंगो लगाउनका लागि पहिलो चरणको बन्द प्रशिक्षण सकिएपछि दोस्रो चरणको बन्द प्रशिक्षण कार्यक्रम हुने जनाइएको छ ।
बन्द प्रशिक्षणमा पूजा महतो, ज्योत्सिका मरासिनी, सोनी पाख्रिन, अलिया यादव, मनिषा उपाध्याय, कृष्मा गुरुङ, विपिशा शाही, पूजा साउद, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, सावित्रा धामी, अनु कडायत, मनिष बोहोरा, कृष्मा थापा, रविना साउद, सुस्मिता भुषाल, किरनकुमारी कुँवर, तृष्णा विक, रिया शर्मा, अलिशाकुमारी यादव, भवानी कामत, आरती महतो, कुष्मा गोदार, सिमाना केसी, निरु जिटी, सिराना थापा, रचना चौधरी र आस्मा पुलामी मगर रहनुभएको छ ।
युएईमा नोभेम्बर ६ देखि १४ तारिखसम्म एसिया क्षेत्रबाट नेपालसहित थाइल्याण्ड, युएई र कुवेत खेल्दै छन् । बन्द प्रशिक्षण असोजको १४ गतेसम्म चल्नेछ ।







Breaking news with related posts