एजेन्सी । ओलम्पिक च्याम्पियन नोभाक जोकोभिचले युएस ओपन टेनिस प्रतियोगिताको पहिलो खेलमा रोमानियाका राडु अल्बोटविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्नुभएको छ । विश्व नम्बर दुई सर्बियन स्टार जोकोभिचले मार्गरेट कोर्टमा खेल ६-२, ६-२, ६-४ ले आफ्नो पक्षमा पर्नुभयोे ।
३७ वर्षीय जोकोभिच २५औँ ग्राण्डस्लाम उपाधिको लक्ष्यमा हुनुहुन्छ । उहाँले दोस्रो चरणमा आफ्नै देशका लस्लो जेरीको सामना गर्नुहुनेछ । जेरीले जर्मनीका जान लिनार्ड स्ट्रफलाई ६-७ (७-९), ६-१, ६-७ (७-९), ६-४, ६-२ ले हराउँदै दोस्रो चरणको यात्रा तय गर्नुभएको हो ।
जोकोभिचले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष एकलमा स्वर्ण पदक जित्नुभएको थियो । उहाँले २४ ग्राण्डस्लामसहित कुल ९९ उपाधि जित्नुभएको छ ।
महिलातर्फ झेङ दोस्रो चरणमा प्रवेश
यता, महिलातर्फ झेङ क्विन्वेन युएस ओपन ग्राण्डस्लाम टेनिसको दोस्रो चरणमा प्रवेश गर्नुभएको छ । चिनियाँ खेलाडी झेङ क्विन्वेनले अमेरिकी वाइल्डकार्ड प्राप्त अमान्डा एनिसिमोभालाई तीन सेटमा पराजित गर्नुभएको हो । पहिलो सेट ४-६ ले गुमाए पनि क्विन्वेनले दोस्रो सेट ६-४ र तेस्रो तथा निर्णायक सेट ६-२ ले आफ्नो पक्षमा पार्नुभयो । अर्को खेलमा डिफेन्डिङ च्याम्पियन कोको गफले फ्रान्सकी भार्भारा ग्राचेभालाई ६-२, ६-० ले पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गर्नुभयो । यस्तै अमेरिकी म्याडिसन किजले चेकियाकी क्याटेरिना सिनियाकोभालाई ६-४, ६-१ ले हराएर घरेलु मैदानमा विजयी सुरुवात गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता