काठमाडौं । लघुकथाका क्षेत्रमा कलम चलाउने २५ जना लघुकथाकारको २५ लघुकथाकृति एकसाथ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा लघुकथाकारहरू खेमराज पोखरेल, विश्वराज अधिकारी, त्रिलोचन ढकाल, तेजप्रकाश श्रेष्ठ, प्राडा.कपिल लामिछाने, हीरण्यकुमारी पाठक, डा.हरिप्रसाद भण्डारी, डा.कुसुमाकर शर्मा गौतम, ममता मृदुल, गोपाल संग्रौला, अम्बिका धिताल, कुमुद शर्मा प्याकुरेल, भाभा शर्मा, रञ्जु खनाल, अञ्जु शर्मा, शुक्रराज कुँवर, निर्मला बराल, रमेन्द्र कोइराला, नवराज शर्मा, गंगा खडका, छविलाल खडका, रोशन पराजुली, पीपी कोइराला, तुलसी पण्डित र सुनिता निरौला पौडेलका कृति लोकार्पित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनले लघुकथा लेखन, यसका सिद्धान्त र मापदण्डका विषयमा आफ्ना भनाइ राख्नुभएको थियो ।
समाजको अन्तक्रिया
लघुकथा समाज नेपालले १७औं लघुकथा दिवसको थालनी विशेष अन्तक्रियात्मक कार्यक्रमका गरेको छ । हरेक वर्ष भदौ ५ गतेलाई समाजले लघुकथा दिवसका रूपमा मनाउँदै आएको छ । मंगलबार काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा समाजका सल्लाहकारहरू साहित्यकार अशेष मल्ल, समालोचक प्राडा.लक्ष्मणप्रसाद गौतम तथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथाको लेखन प्रवृत्तिमाथि आफ्ना विचार राख्नुभएको थियो । उहाँहरूले लघुकथाको स्तरीयताप्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।
साहित्यकार तथा नाट्यकर्मी अशेष मल्लले लेखनको संख्यात्मक दृष्टिकोणले हेर्दा लघुकथाको क्षेत्र निकै उर्बर देखिए पनि, लेखकले राम्रो र स्तरीय लघुकथा लेख्नुभन्दा भटाभट लेखेर किताब छापिहाल्ने हतारमा रहेको टिप्पणी गर्नुभयो । समालोचक तथा साहित्यकार प्राडा.लक्ष्मणप्रसाद गौतमले आजको समयमा लघुकथा लेखकहरू सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लघुकथा लेखेर चर्चित हुनुभन्दा राम्रो सिर्जना गरेर प्रतिष्ठित हुने कुरा सर्जकले सोच्नुपर्ने बताउनुभयो । साहित्यकार श्रीओम श्रेष्ठ रोदनले लघुकथाको कमजोरी भनेको सामाजिक सञ्जाल भएको उल्लेख गर्नुभयो ।
समाजका अध्यक्ष तथा भाषा आयोगका सदस्य साहित्यकार गोपाल अश्कले लघुकथा समाजले आउँदा दिनमा लघुकथाको उन्नयनका लागि केही स्मरणीय कामहरू गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोकले समाजले गरेको अन्तक्र्रिया प्रभावकारी भएको सुनाउनुभयो ।
कार्यक्रममा प्रदीप सापकोटा, तारा केसी, शुष्मा चित्रकार, रामकुमार पण्डित, सिन्धु गौतम, सुमन सौरभलगायतले आ–आफ्ना लघुकथा वाचन गर्नुभएको थियो । समाजले आज (बुधबार) सर्वनाम नाट्यघरमा विशेष कार्यक्रम आयोजना गरी लघुकथाका सर्जकहरूलाई सम्मानित गर्दैछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements