काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोली बुधबार सम्पन्न आफ्नो दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । नेपाली टोली दोस्रो खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग चार विकेटले पराजित भएको हो ।
दोस्रो अभ्यास खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०६ रन बनाएको थियो । नेपालका लागि कविता कुँवरले ३४ बलमा सर्वाधिक २९ रन बनाउनुभएको थियो । नेपाली टोलीका लागि कप्तान इन्दु बर्माले पनि ४३ बलमा २८ रन बनाउनुभएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीले भने १९.५ ओभरमा ६ विकेट गुमाएर विजय लक्ष्य पूरा गर्यो । श्रीलंकाली टोलीको जितमा एन. सेनारत्नेले ३७ बलमा २७ रनको योगदान गर्नुभयो । एस. सन्दीपानीले पनि २१ बलमा १९ रन बनाउनुभयो । नेपाली टोलीकी बलर सबनम राई र कविता जोशीले एक–एक विकेट लिनुभएको थियो ।
अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि मंगलबार खेलिएको पहिलो अभ्यास खेलमा नेपाली टोली श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग ‘डकवर्थ एण्ड लुइस’ नियमका आधारमा ३३ रनले पराजित भएको थियो । त्यो खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११८ रन बनाएको थियो ।
वर्षाका कारण नेपालले १५ ओभरमा ९६ रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो । तर, नेपालले १५ ओभरमा नौ विकेट गुमाएर ६३ रनमात्र बनाउन सकेको थियो । नेपालका लागि ब्याटिङतर्फ रुविना क्षेत्रीले १७ र सीता रानामगरले ११ रन बनाउनुभएको थियो ।
बलिङतर्फ नेपालकी सबनम राईले तीन र राजमती ऐरीले एक विकेट हात पार्नुभएको थियो । एसिसी महिला एसिया कपमा सहभागी हुन नेपाली टोली हाल श्रीलंकामा छ । एसिसी महिला एसिया कप जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म श्रीलंकामा आयोजना हुँदैछ ।
महिला एसिया कपको नवौँ संस्करणमा आठवटा टोलीको सहभागिता छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभागजन गरिएको छ । नेपाली टोली प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । दुई बलिया टेष्ट राष्ट्र भारत र पाकिस्तान पनि नेपालकै समूहमा छन् ।
उक्त समूहमा चौथो टोलीका रूपमा युएई रहेको छ । प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड छन् ।
प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा विजयी हुने दुई टोलीबीच जुन २८ तारिखमा फाइनल खेल हुनेछ । समूहगत चरणमा नेपालले आफ्नो पहिलो खेल युएईसँग खेल्नेछ ।
नेपाल र युएईबीचको खेल जुलाई १९ तारिखमा डम्बुलामा खेलिनेछ । नेपालले दोस्रो खेल जुलाई २१ तारिखमा पाकिस्तानसँग डम्बुलामै खेल्नेछ । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल जुलाई २३ तारिखमा बलियो प्रतिद्वन्द्वी भारतसँग डम्बुलामै खेल्नेछ ।
महिला एसिया कप यात्रामा होमिने नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट हुनुहुन्छ ।






