काठमाडौं । नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०८० वितरण गरिएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा उक्त पुरस्कारहरू वितरण गरिएको हो ।
राष्ट्रपति पौडेलले नेपाल संगीत तथा नाट्य प्रज्ञा पुरस्कारबाट वरिष्ठ रंगकर्मी हरिहर शर्मा, लोकगायक बोमबहादुर कार्की, शास्त्रीय संगीत साधक चन्दनकुमार श्रेष्ठ, नृत्य निर्देशक जोगेन्द्र केसी, नाटककार गोपाल देवान र गायिका तारा थापालाई पुरस्कृत गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले संगीत र नाट्य कला समाजको अभिन्न अंग भएको र यो हाम्रो पहिचान, इतिहास र भावी पुस्ताका लागि महत्वपूर्ण सम्पत्ति भएको बताउनुभएको थियो । उहाँले साधकहरूको समुचित सम्मानले साधनाको सम्मान हुन्छ र यो सम्मानको परम्परालाई अरू अर्थपूर्ण, अरू गतिशील पार्नु समयको आवश्यकता रहेको धारणा राख्नुभएको थियो ।






