काठमाडौं । ‘घाम जस्तो चम्किलो’ पहिलो गीतबाटै चर्चा कमाउनुभएका शिव सुवेदी लोक तथा दोहोरी गीतसंगीतमा स्थापित हुनुहुन्छ । लोकप्रिय गायक पुरुषोत्तम न्यौपाने र बिमाकुमारी दुराको स्वरमा रहेको ‘घाम जस्तो चम्किलो’ गीतको लोकप्रिता नै सुवेदीको संगीत यात्राको कोशेढुंगा हुन गयो । यो गीत २०६३ सालमा श्रोता/दर्शकमाझ आएको थियो । यसको १७ वर्षपछि अहिलेका चर्चित गायक/गायिका कुशल बेलवासे र सुनिता बुढाको स्वरमा ‘घाम जस्तो चम्किलो २.०’ श्रोता-दर्शकमाझ आयो । जुन गीतले नयाँ पुस्तामाझ पुनः लोकप्रियता हासिल गरेको छ ।
भूकम्प विज्ञानमा विद्यावारिधि गर्नुभएका सुवेदीको गीत लेखन यात्रामा पुरुषोत्तम र बिमाकै स्वरमा रहेको ‘भुमरीमा परे भने म’ (२०६४), कुलेन्द्र विक र विष्णु माझीको स्वरमा रहेको ‘भुल्नै भयो धौ’ (२०६५), राजु परियार र स्मृति पुनको स्वरमा ‘कहाँ छौ र निरमाया भेटै भाछैन’ (२०६५)ले उचाइ थप्दै लगे । वरिष्ठ लोकगायिका हरिदेवि कोइरालाको संगीतमा उहाँको ‘सरुमै रानी’ रहेको छ । जहाँ स्मृति पुन र मिलन लामाले स्वर छ । यस्तै, पुरुषोत्तम र देवी घर्तीको स्वरमा ‘झुल्के घाम सूर्यमुखीलाई’ (२०६६), याम क्षेत्री र विष्णु माझीको आवाजमा ‘कल्पनामै भए नि देख्छु भनेको’ (२०६६), ‘घामले नि पोल्दियो’ (२०६७), ‘किन यस्तो हुन्छ’ (२०६८) लगातारजसो बजारमा आए ।
‘घाम जस्तो चम्किलो’ पहिलो गीतबाटै चर्चा कमाउनुभएका शिव सुवेदी लोक तथा दोहोरी गीतसंगीतमा स्थापित हुनुहुन्छ । उहाँका थुप्रै गीत श्रोता-दर्शकको मनमष्तिस्कमा बस्न सफल भएका छन् । धेरै लोकप्रिय गीत श्रोता-दर्शकमाझ पस्किनुभएका सुवेदीले गीत लेखनको आफ्नै राजमार्ग बनाएर निरन्तर सांगीतिक यात्रमा गरिरहनुभएको छ ।
गीतसंगीतलाई निरन्तरता दिने क्रममा कुलेन्द्र र पूर्णकला बिसीको स्वरमा ‘मेरो आधा जिन्दगी’ (२०६९)मा उहाँको बजारमा आयो । उहाँले गीतसंगीतमा मायाप्रितिका कुरामात्रै प्रस्तुत गर्नुभएको छैन । देशमा व्यवस्था फेरिए पनि अवस्था नफेरिएको कुरालाई उहाँले ‘खै हाम्रो दिलमा त घामै लागेन’ (२०७०)’ ल्याउनुभयो । जहाँ नेपाल लोक संगीतमा कहलिएका पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, रामजी खांड, खुमन अधिकारी, पुस्कल शर्मा, प्रकाश सपुत, कुलेन्द्र विक, शान्तिश्री परियार, जुना श्रीषलगायतले स्वर दिनुभएको छ ।
सुवेदीले २०७७ सालमा ‘गरिवको गीत, अति भयो अति’ ल्याउनुभयो । जसमा कुलेन्द्र विक, सम्झना भण्डारी, खेम सेञ्चुरी, सुनिता बुढा, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमला पोख्रेल, नरेश खाती, टीका सानुले स्वर दिनुभएको छ । गायक कुलेन्द्र विक सुवेदी फरक क्षमताको गीतकार रहेको बतउनुहुन्छ । ‘उनी मनबाटै लेख्छन् । त्यसकारण सामान्य नागरिकका दुःख र बेदना महसुस गरेर यी गीत बजारमा ल्याएका हुन्’, उहाँ भन्नुहुन्छ । वरिष्ठ लोक गायक पुरुषोत्तम न्यौपाने सुवेदीलाई निरन्तरताको पर्यायका संज्ञा दिनुहुन्छ । सुवेदीको पहिलो गीतसहित तीनटा गीतमा न्यौपानेको स्वर छ । ‘पहिलो गीत गाउँदा नै उनीसँग प्रतिभा रहेको महसुस गरेको थिएँ । एकपछि अर्को गर्दै उनले राम्रा–राम्रा सिर्जना पस्किएका छन् । निरन्तर सक्रिय छन्’, न्यौपानेले भन्नुभयो ।
संगीतमै निरन्तरता स्वरूप कल्पना कुसुमको स्वरमा ‘कुर्ता सुरवाल (२०७२)’ आयो । गीतसंगीत र अध्ययनलाई एकसाथ अघि बढाइरहनुभएका उहाँ २०७२ सालमा विद्यावारिधि गर्न स्विट्जरल्याण्डतर्फ जानुभयो । उहाँका परदेशमा रहँदा ‘यस्तै छ कहानी परदेशीको भाग १, २, ३ (२०७२, २०७३, २०७४)’ आए । २०७३ सालमा सुवेदीका अन्य दुई गीत ‘आज तिम्ले जवाफ दिनुपर्छ सानु र ‘मायाले माया लुकायो श्रोता/दर्शकमाझ आए । जसमा राजन कार्की र सम्झना लामिछाने मगरको स्वर रहेको छ । ‘तिम्रै झल्को दियो’ (२०७४), ‘मलाई त काठमाण्डुले धपाएको हो’ (२०७४), ‘नसोध कसैले किन जानी हो’ (२०७६), ‘बाँचेको छु धन्न’ (२०७७), ‘आफ्नोपन’ (२०७७), ‘भूकम्प सचेतना गीत’ (२०७७), ‘अभागी त म हुँ’ (२०७८), ‘कस्को अनुमति’, ‘तिमी बिना हासेर हिँड्न’ (२०७९), ‘दुःख टर्या छैन’ २०८० उहाँको गीतसंगीतमा रहेको अभिरुचि परिणाम हुन् ।
गीतसंगीतबाट सुवेदीले थुप्रै पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ । अलिमिया स्रष्टा सम्मान (२०६८), प्रतिष्ठान गण्डकी प्रदेश सम्मान (२०७८)बाट सम्मानित उहाँ वर्षको उत्कृष्ट गीतकारका रूपमा अन्नपूर्ण एफ एम म्युजिक अवार्ड २०६५, अन्नपूर्ण एफएम म्युजिक अवार्ड २०६६, बिन्द्यवासिनी म्युजिक अवार्ड २०६७, बिन्द्यवासिनी म्युजिक अवार्ड २०७०, म्युजिक खबर म्युजिक अवार्ड २०७०, लोक दोहोरी प्रतिष्ठान म्युजिक अवार्ड २०७१ र रारा म्युजिक अवार्ड २०७९ बाट अवार्डेड हुनुहुन्छ । थुप्रै लोकप्रिय गीत स्रोता/दर्शकमाझ पस्किनुभएका सुवेदीले गीत लेखनको आफ्नै राजमार्ग बनाएर निरन्तर सांगीतिक यात्रमा गरिरहनुभएको छ ।
कहीँ अध्ययन, कहीँ भ्रमण र कहीँ गीतसंगीतका लागि उहाँ विश्वका धेरै देश पुग्नुभएको छ । उहाँले संयुक्त राज्य अमेरिका, क्यानाडा, बेलायत, फ्रान्स, स्विजरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, स्पेन, पोर्तुगल, जर्मनी,इटाली, अस्ट्रिया, फिनल्याण्ड, स्विडेन, रोमानिया, इष्टोनिया, भारत, मलेसिया र सिंगापुरलगायत देशको भ्रमण गर्नुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा