जाडोमा अत्यन्त जाडो र गर्मीमा अत्यन्त गर्मी हुनेजस्ता समस्या हालका केही वर्षहरूदेखि देखिँदै आएका छन् । जाडोको समयमा जाडो नहुने अथवा तापक्रम नघट्ने र गर्मी महिनामा पनि चिसो भइरहनेजस्ता समस्या भोग्नुपरिरहेकै छ । जुन समयमा जस्तो तापमान कायम हुनुपर्ने हो त्यसो नहुनु भनेको जलवायु परिवर्तनको असर भनेर यस विषयका विज्ञहरूले बताउने गरेका छन् । हालका दिनमा नेपाल-भारतलगायत ठाउँहरूमा अत्यन्त धेरै तापक्रम वृद्धि भएको छ । जसले गर्दा जनजीवन नराम्ररी प्रभावित हुनपुगेको छ । केही दिन पहिलेसम्म पानी परेको थियो । त्यसबेला चिसो महसुस भयो तर केही दिनयता पानी नपर्नाले एकाएक गर्मी बढेर जनजीवन प्रभावित भइरहेको छ ।
गर्मीले ठाउँठाउँमा यसअघिको रेकर्ड तोडेको छ, उकुसमुकुस बनाएको छ । उखरमाउलो गर्मीमा मानिसहरूलाई आफ्ना दैनिकी सञ्चालन गर्न अप्ठ्यारो परिरहनुका साथै मानव स्वास्थ्यमा गर्मीकै कारण नकारात्मक प्रभाव पर्ने गरेको छ । पश्चिममा धनगढी, नेपालगञ्ज, भैरहवा, बुटवललगायत ठाउँमा तापक्रम बढ्नाले ती ठाउँहरूमा तपक्रमको रेकर्ड तोडिएको मात्र होइन मानव जीवनमा अनेकौं समस्या देखापरिरहेका छन् । पोखरा र काठमाडौं उपत्यकामा मात्र होइन पहाडी क्षेत्रमासमेत तापक्रम अत्यधिक वृद्धि भएको छ । ठाउँमा विद्यालयहरू केही दिनका लागि बिदा गर्नुपरेको छ । ४० देखि ४४ डिग्री सेल्सियस तापक्रम नेपालकै केही ठाउँमा मापन भइरहेको छ भने भारतको नयाँदिल्लीमा ५२ डिग्री मापन भएको छ ।
खाडी मुलुकहरूमा हुनेजत्तिकै तापमान हाम्रै देशमा र छिमेकमा कायम रहनुले निश्चय हाम्रो दैनिकी, व्यापार व्यवसाय, खेती प्रणाली आदिमा नराम्रो असर परिरहेको छ । तराईका जिल्लाहरूमा लगातार तातो हावा (लू) बहने गरेको हुनाले ती ठाउँहरूमा मनिसको जीवन कष्टकर बन्न पुगेको कुरा निःसन्देह छ । गर्मीका कारण मानिसहरू अस्वस्थ भइरहेका छन् । सामान्य गर्मीमै पनि झाडापखाला, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, पेटसम्बन्धी समस्याजस्ता प्रतिकूलता सिर्जना हुन पुग्छन् भने ‘लू’ त्यसभन्दा पनि अझै असहज अवस्था हो । ‘लू’ लागेबाट अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, रिँगटा लाग्ने, बान्ता हुने बेहोस् हुनेलगायत अवस्था आइपर्न सक्छन् ।
असमान अवस्था सबैका लागि उत्तिकै जोखिमी हुन्छन्, त्यसमा पनि निम्न वर्गीय व्यक्तिहरूका लागि यस्तो अवस्था अझै अभिशप्त बन्न पुग्छ । एकातिर मानिसहरूसँग प्रतिकूल मौसमसँग प्रतिकार गर्ने पर्याप्त साधन र स्रोतको अभाव हुन्छ भने अर्कातिर बिरामी भइहालेका खण्डमा औषधोपचार गर्ने पैसाको खाँचो हुन्छ । यसका साथै त्यस्तो वर्गका लागि ज्यालामजदुरी गरेर खनुपर्ने बाध्यता हुन्छ । जसले गर्दा तिनले जस्तोसुकै अवस्थामा पनि घरबाहिर निस्किएर काम गर्नुपर्ने हुन्छ । प्रतिकूल वातावरणबाट बढी प्रभावित बन्ने वर्ग निम्न वर्ग नै हुनपुग्छ । मनसुन भित्रिएपछि निश्चय हालको जस्तो गर्मी हुनेछैन, वर्षबाट तापमानमा कमी आउँनेछ तर नेपालमा मनसुन भित्रिन अझै दशदिन लाग्ने यस क्षेत्रका विज्ञले बताएका छन् ।
उखरमाउलो उकुसमुकुसमा दशदिन बिताउनु निक्कै पीडादायी हुन्छ । सामना गर्नुको विकल्प छैन तर सावधानी र सतर्कताले यसमा कमी गराउन, आफूलाई जोगाउन भने सकिन्छ । अत्याधिक गर्मी भएको समयमा घरभित्रै बस्ने, पानी तथा अन्य चिसो पेय प्रसस्त मात्रामा पिउने, घाममा हिँड्डुल नगर्ने, पातला लुगा लगाउने, लुगाले टाउको ढाकिरहने गर्नाले ‘लू’ र गर्मीबाट बच्न सकिन्छ । यस्ता असहज प्रतिकूलताहरू मानवीय कारणबाटै सिर्जना भएका हुन् । मानिसले आफ्ना दैनिकी सञ्चालन गर्ने क्रममा सावधानी नअपनाउँदा र लापरबाही गर्नाले कार्बनको अत्याधिक उत्सर्जन हुने गर्दछ । औद्योगिक विकासले र यातायातका साधनहरूले समेत कार्बन उत्सर्जन गर्ने गर्छन् । यसबाट वायुमण्डलमा नकारात्मक प्रभाव पर्छ ।
मानिसले जमिनमा गरेको क्रियाकलापबाट उत्सर्जन हुने धुवाँ धुलोजस्ता कुराले वायुमण्डल छेक्ने काम गर्छन् र सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न सक्दैन । त्यस्तो धुवाँ–धुलो वायुमण्डलमा तुवाँलो बनेर बस्छ र हावालाई पनि प्रदूषित बनाइदिन्छ । कार्बनले वायुमण्डललाई फटाउने भएका कारण सूर्यको प्रकाश पृथ्वीको सतहमा आए पनि सोझै आउने हुँदा त्यसबाट मानिसलाई हानी पुग्छ । विभिन्न खालका वातावरणीय प्रतिकूलताहरू प्राकृतिक कारण मात्र नभई मानवीय कारणले सिर्जना हुन पुग्छन् र यसलाई न्यूनीकरण गर्न मानवीय व्यवहारले सहयोग पु¥याउँन सक्छ । सचेतता र सावधानीबाट यसमा कमी ल्याउन सकिन्छ ।
त्यो भोलिको परिणाम हो तर हालका लागि भने आइपरेको समस्याबाट उन्मुक्ति पाउनु पहिलो प्राथमिकता हुनुपर्छ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नुपर्नेमा सांसदहरूको पनि जोड रहेको छ । उहाँहरू नीतिनिर्माण गर्ने तहमा बस्नुभएकाले उचित र आवश्यक नीतिनिर्माण गरेर लागू गर्नुपर्ने दायित्व उहाँहरूको हो । सांसदहरूमा प्राविधिक विज्ञता नहुन सक्छ । उहाँहरूले यसका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूको उचित सहयोग र सल्लाह लिनु आवश्यक छ । सबैले आ-आफ्ना क्षेत्रबाट इमानदारीपूर्वक काम गर्ने हो भने जलवायु परिवर्तनको असर कम गरी यसबाट हुने जाखिमलाई नियन्त्रण गर्न सकिन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता