काठमाडौं । पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस पारालिम्पिक-२०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने हुनुभएको छ । पेरिस पारालिम्पिकका लागि छनोटको आधार रहेको सिटी विश्व पारा पौडी प्रतियोगितामा भीमले प्रतिस्पर्धा गर्न लाग्नुभएको हो ।
सिंगापुरमा मे १७ देखि १९ तारिखसम्म हुने उक्त प्रतियोगितामा भीमले पुरुष ५० मिटर र १०० मिटर फ्रिस्टायल स्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछन् । दुवै स्पर्धामा भीमकै नाममा राष्ट्रिय कीर्तिमान पनि छ । ५० मिटरमा ३३.३४ सेकेण्ड र १०० मिटरमा एक मिनेट २१ सेकेण्डको भीमको व्यक्तिगत उत्कृष्ट टाइमिङनै राष्ट्रिय कीर्तिमान हो ।
सिंगापुरमा हुने प्रतियोगिताका लागि भीमले विगत दुई महिनादेखि कालोपुलस्थित वेष्ट भेन्यूमा नियमित प्रशिक्षण गरिरहेको नेपाल पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठ पनि अफिसियलका रूपमा सिंगापुर जाँदै हुनुहुन्छ । गोर्खा जिल्लाको नारेश्वर बेनीखोला निवासी भीमले आफ्नो करियरमा तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएको छ । उहाँले खेलेको पछिल्लो प्रतियोगिता चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद हो ।
त्यसअघि उहाँले सन् २०१८ मा इण्डोनेसियामा भएको तेस्रो एसियाली पारा खेलकुद र सन् २०१९ मा लण्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । ४१ वर्षीय भीम एम्पुटी फुटबलका खेलाडी पनि हुनुहुन्छ ।
भीमले पेरिस पारा ओलम्पिकमा छनोट हुने लक्ष्य रहेको बताउँदै भन्नुभयो, ‘एउटा खेलाडीको मुख्य उद्देश्य ओलम्पिक खेल्नु रहेको हुन्छ । मेरो लागि पनि यो एउटा सुनौलो अवसर हो । सक्दो प्रयास गर्नेछु ।’
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबिच बिदाइ गर्नुभयो । भीम र अफिसियल श्रेष्ठ मे १५ तारिख सिंगापुर जानुहुनेछ । प्रशिक्षक विजेनमान श्रेष्ठ भने आइतबार जाँदै हुनुहुन्छ । विदाइका अवसरमा सदस्यसचिव घिसिङले पेरिस पारालिम्पकमा छनोट हुने दोस्रो खेलाडी बन्न भीमलाई शुभकामना दिनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता