काठमाडौं । लघु चलचित्र ‘भाउ’ (कस्ट अफ लिभिङ) ओटीटी प्लेटफर्ममा सार्वजनिक गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको यो लघुचलचित्र कान्तिपुर सिनेमाज्मा स्ट्रिमिङ भएको हो । ऐना आट्र्सको युट्युब च्यानलमार्फत ‘भाउ’को टिजर रिलिज गरिएको छ । टिजरमा कवाडीवालाको कथा प्रस्तुत गरिएको छ । तराईबाट काठमाडौं आएर कवाडीखानामा काम गर्दै जीवन गुजाराको लागि संघर्ष गरिरहेको एउटा मधेसी समुदायको सामान्य परिवार र राजधानीमा घर भएको दुई वर्गको अन्तरलाई टिजरमा देखाउन खोजिएको छ ।
काठमाडौं र भक्तपुरमा छायांकन भएको यस चलचित्रमा सुवास गजुरेल मुख्य भूमिकामा हुनुहुन्छ । जहाँ उहाँले कवाडीवालाको भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रमा गजुरेलसँगै सुजिता शाह, रेनुका कार्की र सुमन थापाको पनि अभिनय छ । मोहन अभिलाषीको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा नारायण जिसीको छायांकन र करण साउदको सहायक निर्देशन छ ।
अंग्रेजी सबटाइटलसहित मैथिली र नेपाली भाषा प्रयोग भएको चलचित्रमा भाषा अनुवाद राम श्रेष्ठ र आर के मेहेताले गर्नुभएको छ । नरेन भट्टराई प्रोडक्सन म्यानेजमेन्ट रहेको चलचित्रमा गणेश बिसीको सम्पादन र राकेश दाहालको कलरिङ छ ।
यो चलचित्र इटालीको फेस्टिभल देल सिनेमा दि सेफलुको नोमिनेशन र जिम्वावेको भर्सिटी फिल्म एक्स्पोमा होनोरेवल मेन्सनमा परेको थियो । अमेरिकाको स्टुडेन्ट वल्र्ड इम्प्याक्ट फिल्म फेस्टिभल, जापानको पाँचौं मेइहोडो इन्टरनेशनल युथ भिजुअल मिडिया फेस्टिभल, नेपालको पाँचौं नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव र बेलायतको दुई चलचित्र महोत्सवमा छनोटमा परेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता