गुल्मी। गुल्मीमा पोषणमा सुधार ल्याउन किसानलाई कुखुरा वितरण गरिएको छ । ग्रामीण क्षेत्रमा बसेका पोषणको पूर्ति नभएका किसानलाई समूहगत रुपमा स्थानीय जातका कुखुरा वितरण गरिएको बताइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ सेवा केन्द्रको अनुदान सहयोगमा पोषण सुधारका लागि कुखुरा वितरण कार्यक्रम अन्तर्गत यस जिल्लाका चार समूहका १०० जना किसानलाई पाँच हजार स्थानीय जातका कुखुरा वितरण गर्न लागिएको हो । प्रत्येक समूहका २५ जनालाई जनही ५० वटाका दरले भाले पोथी मिलाएर ६ हप्ता पालेर निरोगी भएका कुखुरा वितरण गर्न लागिएको छ ।
यस जिल्लाको रेसुङ्गा नगरपालिका-७, भुजेलखर्कको कालिका भगवती महिला कृषि समूह र मदाने गाउँपालिका-३, सिर्सेनी असुङ्गकोटको मदाने मालिका प्रगतिशील कृषक समूहलाई कुखुरा वितरण गरिएको छ । सत्यवती गाउँपालिका-३, ठुलोलुम्पेकको सत्यवती कृषक तथा पशुपालन समुह र चन्द्रकोट गाउँपालिका-२, विसुखर्कको खुलखुले कृषक समूहलाई पनि कुखुरा वितरण गर्ने तयारी भएको बताइएको छ । विशेषगरी महिलाहरुको समूहलाई प्राथमिकता दिइएको छ ।
अण्डासंगै मासु पनि खान मिल्ने गरी पोषण सुधारका लागि कुखुरासंगै कुखुराका लागि पानी र दाना खाने भाँडा, औषधि तथा भ्याक्सिन निस्शुल्क रुपमा वितरण गरिएको छ । भौतिक संरचना कुखुराको खोर निर्माणका लागि २५ प्रतिशत लगानी कृषकले गर्नुपर्ने सम्झौता भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ सेवा केन्द्रका कार्यालय प्रमुख हुमकान्त पाण्डेयले बताउनुभयो ।
गाउँघरमा पालिएको जस्तै विशेषगरी पोषण सुधारसंगै रोजगारी सृजना गर्ने मुख्य उदेश्य रहेको भन्दै विकासे कुखुरा नभएर अण्डासंगै मासु दिने कुखुरा भएको उहाँले बताउनुभयो । थोरै लगानीबाट पनि कुखुरा पालन गर्न सकिन्छ । यो कार्यक्रमका लागि एउटा समूहलाई पाँच लाख रुपियाँ बराबरको अनुदान दिन सकिने कार्यालय प्रमुख पाण्डेले बताउनुभयो ।
किसानलाई कुखुरा पालन सम्बन्धि तालिम समेत प्रदान गरिएको छ । नियमित खोप र कुखुरा बिरामी परेमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गर्दै नियम अनुसारको दानापानी खुवाउनुपर्ने उहाँले बताउनुभयो । एक वर्षमा एक जनाले ४८ वटा अण्डा खानुपर्छ । कृषकलाई पोषणको सुरक्षा गर्नुपर्ने छ । बढी भएको अण्डालाई जिविको पार्जनको लागि छिमेक तथा बजारमा बेच्नुपर्ने भन्दै यसको बचतसंगै निरन्तर गर्न जरुरी रहेको बताउनुभयो ।
रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले कुखुराको राम्रोसँग हेरचाह गर्न जरुरी रहेको भन्दै व्यवसायिक र उद्यमशीलताको विकासमा लाग्नुपर्ने बताउनुभयो । विशेषगरी उत्पादनलाई बढाउनुका साथै रोजगारी सिर्जना गर्न आवश्यक रहेको भन्दै मासु र अण्डामा आत्मनिर्भर बनाउन खोजिएको उहाँले बताउनुभयो । जुन उदेश्यले कुखुरा पालनलाई अगाडी बढाइएको छ । त्यो उदेश्य पूरा गर्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts