काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका यू-१५ तर्फका पुरुषतर्फ सुविन श्रेष्ठ र महिलातर्फ रिहाना शेरचनले काठमाडौंमा सम्पन्न योनेक्स सनराइज इनास सब जुनियर च्यालेन्ज २०८० को उपाधि हात पार्नुभएको छ । सुविनले फाइनल खेलमा आर्मीकै सुदेश राजकोटीलाई २१-१५, २१-१० ले र रिहानाले मोहन भुगोल ब्याडमिन्टन फाउण्डेशनका निभा राईलाई २१-१२, २१-१० ले पराजित गर्दै उपाधि उचाल्नुभएको हो । विजयी खेलाडीहरूले नगद १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । उपविजयी खेलाडीहरूले मेडल, प्रमाणपत्र र ट्रफीका साथ नगद पाँच हजार प्राप्त गर्नुभएको छ ।
तेस्रो स्थानमा पुरुषतर्फ कैलालीका शिशिर राना र धन्वन्तरीका सत्यम कार्की रहनुभयो । महिलातर्फ दीपक ब्याडमिन्टन एकेडेमीका अस्मिता खत्री र आइबिएससीका टिशा रानी शाक्य रहनुभयो । विजयी खेलाडीहरूले नगद २५ सय र मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
नेपालमा योनेक्सको आधिकारिक बिक्रेता इनास इन्टरप्राइजेजको आयोजनामा भएको प्रतियोगिताको यू-१३ तर्फ पुरुषमा आर्मीका सुदेश राजकोटी र महिलातर्फ मोहन भुगोल ब्याडमिन्टन फाउण्डेशनका निभा राईले उपाधिसहित नगद १० हजार प्राप्त गर्नुभयो ।
सुदेशले स्पोर्ट्स हबका सदीप राईलाई २१-१६, २१-१३ ले र निभाले कास्कीकी रक्षा फागमीलाई २१-१९, २१-१२ ले पराजित गर्नुभएको हो । दोस्रो स्थानमा रहेका खेलाडीहरूले नगद पाँच हजार, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नुभयो । तेस्रो स्थानमा पुरुषतर्फ तनहँुका सफल भुजेल र एपिएफका आरुष सिंखडा र महिलातर्फ आर्मीकी समृद्धि श्रेष्ठ र दीपक ब्याडमिन्टन एकेडेमीकी अस्मिता खत्री रहनुभयो । खेलाडीहरूले नगद २५ सयका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
यस्तै, यू-११ तर्फ कास्कीका सक्षम गुरुङले कपिलवस्तुका विराट बस्नेतलाई २३-२१, २१-१० ले पराजित गर्दै उपाधिसहित नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । उपविजयी खेलाडी बस्नेतले नगद पाँच हजार प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहेका आर्मीका दीप थिङ र महाबौद्ध क्लबका आरभ शाक्य रहनुभयो । तेस्रो हुने खेलाडीहरूले नगद २५ सयसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नुभयो ।
विजयी खेलाडीहरूलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव सूर्यलाल भण्डारी, राखेप पूर्वबोर्ड सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डे, नेपाल एपिएफ क्लबका एसपी सुधिर सुवेदी, ब्याडमिन्टन प्रशिक्षक किरण थापा, बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र थिङ, समाजसेवी नारायण सापकोटालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
यस्तै, इनासका प्रोप्राइटर राजु बास्तोलाले खेलाडीहरूलाई योनेक्सका विभिन्न सामग्री जस्तै र्याकेट, ब्याग, टिसर्ट र खेल सामग्री प्रदान गर्नुभएको थियो । प्रतियोगिताको ब्राण्डिङ र व्यवस्थापन खेतान स्पोर्ट्स फाउण्डेशनले गरेको थियो । फाउण्डेशनले बच्चाहरूलाई ध्यानमा राखेर कार्टुनमा ब्राण्डिङ गरेको थियो ।






