काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । एपिएफ क्लबले कोशी प्रदेशलाई फाइनल खेलमा ११ रनले पराजित गर्दै उपाधि जितेको हो । विजेता एपिएफ क्लबले पाँच लाख तथा उपविजेता कोशीले तीन लाख पुरस्कार प्राप्त गर्यो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै एपिएफ क्लबले कोशी प्रदेशसामु जितका लागि ११५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोशीले २० ओभर खेल्दै चार विकेटको क्षतिमा १०३ रन मात्र बनाउन सक्यो । यसअघि ब्याटिङ गर्ने क्रममा एपिएफ क्लबले सात विकेटको क्षतिमा ११४ रन बनाएको थियो ।
एपिएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ४७ बल खेल्दै ५३ रनको योगदान दिनुभयो । सो क्रममा बर्माले छ चौका र एक छक्का प्रहार गर्नुभयो । यस्तै, ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाउनुभयो ।
बलिङतर्फ कोशीका लागि अप्सरी बेगमले हृयाट्रिक गर्नुभयो । उहाँले २०औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिनुभयो । पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिनुभयो । यस्तै, एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक-एक विकेट लिनुभयो ।
यस्तै, कोशी प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा कप्तान रुबिना क्षेत्रीले अर्धशकतीय पारी खेल्नुभयो । उहाँले ६२ रन बनाउनुभयो । क्षेत्रीले ५८ बल खेल्दै एक छक्का र सात चौका प्रहार गर्नुभयो । यस्तै, काजल श्रेष्ठले २९ बलमा २२ रन बनाउनुभयो ।
बलिङतर्फ एपिएफ क्लबका लागि करुणा भण्डारी र कप्तान सीता रानामगरले एक-एक विकेट लिनुभयो । कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । उहाँले स्कुटर प्राप्त गर्नुभयो । रुविनाले यस प्रतियोगितामा १० खेलमा तीन अर्धशतकसहित कुल ३४५ रन बनाउनुभयो । उहाँले ५६ चौका र ३ छक्का प्रहार गर्नुभएको थियो । रुविनाले बलिङमा ११ विकेट लिनुभयो ।
उदीयमान खेलाडीको पुरस्कार कोशी गण्डकी ज्योत्सिनका मरासिनीले प्राप्त गर्नुभयो । उहाँले ५० हजार बराबरको क्रिकेट सामाग्री प्राप्त गर्नुभयो । उहाँले ७ खेलमा ९१ रन बनाउनुभयो । प्रतियोगिता उत्कृष्ट बलर पूजा महतो चुनिनुभयो । पूजाले सात खेलमा १२ विकेट लिनुभएको थियो । उहाँले ५० हजार प्राप्त गर्नुभयो । उहाँले सात खेलमा २६.३ ओभरमा ९६ रन खर्चेर १२ विकेट लिनुभएको थियो । सुमन खतिवडा उत्कृष्ट ब्याटर चुनिनुभयो । उहाँले सात खेलमा २१२ रन बनाउनुभयो । सुमन र पूजाले समान ५० हजार प्राप्त गर्नुभयो ।
पाण्डेको संन्यास
नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट संन्यास घोषणा गर्नुभएको छ । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिता फाइनलमा कोशी प्रदेशलाई हराउँदै उपाधि जितेसँगै उहाँले संन्यास लिनुभएको हो ।
उहाँलाई उपाधि जितेपछि टियु क्रिकेट मैदानमा एपिएफको टोलीले गार्डअफ अर्नरको सम्मान पनि दिएको थियो । ज्योतिले नेपालबाट १७ महिला टी-२० आई खेल खेल्नुभएको थियो । विराटनगरकी ज्योतिले सन् २०११ देखि लगातार एपिएफबाट खेल्दै आउनुभएको छ ।
ज्योतिले सन् २०१६ मा थाइल्याण्डमा भएको एसिसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर डेब्यु गर्नुभएको थियो । अन्तिम खेल २०२३ जुनमा मलेसियाविरुद्ध खेल्नुभएको थियो ।







Breaking news with related posts