काठमाडौं । साहित्यिक पत्रकार संघले दोलखाको शैलुुङमा आज (बुधबार)देखि शुक्रबारसम्म ‘कविता यात्रा’को आयोजना गर्ने भएको छ । स्रष्टाहरूलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसँग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्याउने कविता यात्राको उद्देश्य रहेको संस्थाले जनाएको छ ।
कविता यात्रामा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा दुई दर्जन बढी सर्जक त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कविता यात्रामा सहभागी सर्जकहरूमा मदनदास श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, शोभित उप्रेती, प्राडा.गोविन्दमानसिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुवास पौडेल, प्रद्युम्न जोशी, मुरारी सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, कृष्ण केसी, नीता श्रेष्ठ, डा.बुनु दाहाल, नवीन शाही रहनु भएको छ ।
यसैगरी गायक-गायिका नवीन पौडेल, नरहरि प्रेमी, रितु कँडेल, गंगा भुर्तेल र बालनृत्यकार रञ्जना थपलिया तथा सञ्चारकर्मी पुष्पा थपलिया, हेम थपलियालगायत हुनुहुन्छ । कार्यक्रममा दोलखाका अन्य सर्जक, पत्रकार र स्थानीयको सहभागिता रहने जनाइएको छ । शैलुङ गाउँपालिका-८, भैंसे स्थानीय आयोजक रहेको यस कार्यक्रमले शैलुङमा थप सांस्कृतिक जागरण ल्याउनेमा समाजसेवी एवं गीतकार शोभित उप्रेती विश्वस्त हुनुहुन्छ ।
कार्यक्रम तालिकानुसार आज पुस ४ गते चरणावतीधाम दर्शन, ५ गते शैलुङको थुम्कामा साहित्य विमर्श एवं कवि गोष्ठी तथा ‘स्रष्टा घर’को शिलान्यास र ६ गते भैंसेमा कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ । साहित्यिक पत्रकार संघले विसं २०४२ सालमा दोलखा जिरीमा कविता यात्राको आयोजना गरेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts