काठमाडौं । गीत-संगीत भित्रका सबैभन्दा महत्वपूर्ण पाटो मध्ये म्युजिक एरेन्ज अर्थात् संगीत संयोजन पनि एक हो । कुनै एउटा गीत लोकप्रिय हुनका लागि शब्द र गायनको जति ठूलो हात हुन्छ त्यति नै म्युजिक ट्रयाकको पनि हुने गर्दछ र यही माहोलमा संगीत संयोजनलाई नै मुख्य विधा बनाएर लगातार एकपछि अर्को दर्जनौं लोकप्रिय चर्चित गीतका संगीत संयोजकको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल नाम हो विश्वास नेपाल ‘प्रकाश’ ।
अर्घाखाँचीको सन्धिखर्क न.पा-७, निवासी स्व.पिता डिलबहादुर नेपाली र स्व.माता ललिता नेपालीको परिवारमा ४० वर्षअघि पहिलो सन्तानको रूपमा जन्मिनुभएका विश्वास सानो उमेरदेखि नै गीत-संगीतप्रति गहिरो अभिरुची राख्नुहुन्थ्यो । स्थानीय मुक्ति प्राविबाट कक्षा तीनसम्म र चन्द्रप्रभा माविबाट कक्षा १० सम्मको अध्ययन पूरा गनुभएका विश्वासले सात कक्षा पढ्दैदेखि अन्तरस्कुल स्तरीय र जिल्लास्तरीय गायन प्रतियिगितामा पहिलो वा दोस्रो पुरस्कार पाइरहनुहुन्थ्यो । गायनकलाको वंशानुगत गुण लिएर आउनुभएका मेधावी प्रतिभा विश्वास स्कुले उमेरका ती दिन सम्झँदै भन्नुहुन्छ, ‘त्यो बेला रक्तिम सांस्कृतिक अभियानले गाउँगाउँमा सांस्कृतिक कार्यक्रम गथ्र्यो । मेरा दिदीहरू अनि गाउँका दाइहरू त्यही टोलीमा गीत गाउनुहुन्थ्यो । त्यो अभियानका कार्यक्रमबाट म अत्यन्तै प्रभावित थिए । सुनेका गीतहरू कपी गर्न थाले । मैले गीत गुनगुनाएको सुनेर आमाबुबाले थाहा पाउनुभयो मेरो गीतसंगीतप्रतिको रुचि । मेरो गायकी कला एककान दुईकान हुँदै गाउँभरि फैलियो । मलाई गीत गाउन लाजै नलाग्ने । कसैले भन्नासाथ गाइहाल्ने स्वभावको थिएँ । एक महिने पाल्पा मिसन हस्पिटलमा बस्दा म बच्चाले बिरामीलाई गीत सुनाउँदै खुशी बनाउने गर्थे, घर फर्कँदा १५० रुपैयाँ बक्सिस पाको याद ताजा छ ।’
हरेक मान्छेको जीवन एउटा रोचक उपन्यास हो । हरेकमा आफ्नै प्रकारका संघर्ष, उतार–चढाव र आँसु–हाँसोका मार्मिक कथा हुन्छन् । तर त्यसभित्र पनि कतिपय मान्छेका कथामा संघर्ष र पीडाका अकल्पनीय अध्याय हुन्छन् । तथापि आत्मविश्वास, धैर्यता, लगनशील र लक्ष्यका साथ त्यसलाई जितेर अगाडि बढ्न सक्नेहरू नै विश्वास नेपाल ‘प्रकाश’ भएर स्थापित हुन्छन् । १४ वर्षको उमेरमा आमा र १८ वर्षमा बुबालाई सदाका लागि गुमाउनुभएका विश्वास अनवरत आफ्नै मिहिनेत र संघर्षले संगीत क्षेत्रका एक उदाहरणीय प्रतिभा हुनुहुन्छ । घरको पहिलो सन्तान हुनुको जिम्मेवारी र अल्लारे उमेरमै टुहुरो हुनुको पीडाबीच लक्ष्यमा हिँड्नु र गन्तव्यमा पुग्नु चानचुने कुरा पक्कै होइन ।
उहाँको संघर्षमय जीवन कथा धेरैका लागि प्रेरणाको श्रोत बन्न सक्छ । त्यही बेला आफ्नो सांगितक यात्रा बिट मार्ने सोच बनाउनुभएका बेला पुनः यो क्षेत्रमा फर्कन वसन्त परियारलाई उहाँ सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘शायद त्यो पीडाको बेला मलाई आफूले पुरस्कार पाएर किनेको किबोर्ड वसन्त दाइले मलाई नदिएको भए यो छेत्रमा फर्कने थिइन होला ।’
भारत, लखनउमा प्रसिद्ध ‘भातखण्डे संगीत विश्वविद्यालय’ मा करिब दुई वर्षसम्म संगीतको अध्ययन गर्नुभएका विश्वासले नेपालमा पनि आर.आर.क्याम्पसबाट संगीत लिएरै ‘प्लस टु’ गर्नुभयो । संघर्षकै दौरान १२ वर्षसम्म रात्रिकालीन रेष्टुरेन्ट ‘दोहोरी साँझ’हरूमा काम गर्नुभयो ।
‘साउदी छौं कि कतार’ २०७२ सालमा विश्वासले पहिलोपटक म्युजिक एरेञ्ज गरेको गीत हो । जसमा वसन्त लम्साल र अनु रानाको स्वर थियो । ‘पहिलो गीत राम्रो चल्यो र म सबैको नजरमा परे । त्यसपछि त कहिल्यै पछाडि फर्केर हेर्नुपरेन’, उहाँ खुशी प्रकट गर्दै भन्नुहुन्छ । आधुनिक, लोक, लोकदोहोरी, पप, र्यापलगायत सबैजसो विधाका गीतमा संगीत संयोजन गर्नुभएका विश्वासले एक हजार बढी गीतमा संगीत संयोजन गरेको बताउनुहुन्छ । उहाँका ‘नैना रेशम, सारी फरर, बाग्लुङ बजार, आऊका मायालु, भान्सा चलेन, जन्त जाउँला, छ न त मै राम्री छैन, मञ्जरी, खै त हाँसेको, सरर भागौंला, औंठी सुनैको, हेर यो मुटुमा चिरा प¥या छ, भन साइँला, भन साइँली, घुम्दै आयो फूलमा भमरा, चट्ट कलम रेलिमाई, चिया सस्तो छ, पैसा सापटी’लगायतका दर्जनौं गीत हिट लिष्टमा छन् । विश्वासले एक सय जति गीतमा संगीत पनि दिनुभएको छ भने ५० भन्दा बढी गीतमा स्वर दिनुभएको छ । ‘मायाप्रेमका भन्दा सामाजिक, यथार्थपरक र भजन गाउन मन पराउँछु । मैले गाएका गीत भने त्यति चर्चामा छैनन्’, उहाँ तथ्य नलुकाई भन्नुहुन्छ । विश्वासले एउटा हिन्दी चलचित्रमासमेत आफ्नै संगीतका दुईवटा युगल गीत गाउनुभएको छ । जसमा उहाँलाई गायिका मिलन नेवार र एलिना चौहानले साथ दिनुभएको छ ।
सन् २०१६ मा स्थापित अर्घा दरबार फिल्मस् प्रालिका प्रबन्ध निर्देशक र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका आजीवन सदस्य विश्वासले राष्ट्रिय लोक तथा गोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय नयाँबसपार्क समितिमा सह–कोषाध्यक्षको रूपमा एक कार्यकाल कार्य सम्पादन गर्नुभएको छ । उहाँ हाल अर्घाखाँची कलाकार समाजका महासचिव हुनुहुन्छ । १२औं विन्ध्यवासिनी म्युजिक अवार्ड, १०औं म्युजिक खबर म्युजिक अवार्ड, दोस्रो अमिन अवार्ड, २०७९ सालमा सम्पन्न शिवशक्ति तीज म्युजिक अवार्ड, एपिक म्युजिक अवार्ड र सगरमाथा म्युजिक अवार्डमा सर्वोत्कृष्ट म्युजिक एरेन्जरको अवार्ड आफ्नो पोल्टामा पार्न सफल विश्वासले सुपा देउराली म्युजिकबाट समेत सम्मान प्राप्त गर्नुभएको छ ।
हाल चलिरहेको मेरो भ्वाइस युनिभर्सको फिल अडिशनमा जर्जको भूमिका निर्वाह गरिहरनुभएका विश्वासले नेपालको राष्ट्रिय टेलिभिजन नेपाल टेलिभिजनबाट दुई वर्षअघि प्रसारित लोक दोहोरी च्याम्पियन नामक कार्यक्रमको ब्याकग्राउण्ड म्युजिकको काम गर्ने अवसरसमेत प्राप्त गर्नुभएको थियो । व्यावसायिक र रातारात भाइरल हुने नाममा भड्किला, उच्छृंखल र द्विअर्थी गीत गाउने प्रचलन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै विश्वास भन्नुहुन्छ, ‘आफ्नो पन र मौलिकता जोगाउने जिम्मेवारी हामी सबैको हो । जसका लागि यस क्षेत्रमा स्थापित पेशागत संघसंस्थाले ढिलो नगरी विशेष कदम चाल्नुपर्छ ।’







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts