पूर्वमन्त्री गणेश साह राजनीतिज्ञमात्र नभई सामाजिक अभियन्ता पनि हुनुहुन्छ । स्वस्थ जीवनका लागि स्वस्थ खानाका साथै सरसफाइ पनि उत्तिकै आवश्यक हुने उहाँ बताउनुहुन्छ । सोही लक्ष्य प्राप्तिका लागि झण्डै एक दशकदेखि शौचालय र सरसफाइ अभियानमा लाग्नुभएका पूर्वमन्त्री गणेश साह मानव मलमूत्रको दिगो व्यवस्थापनमा जोड दिनुहुन्छ । प्रस्तुत छ, गणेश साहसँग विश्व शौचालय दिवसका अवसरमा हिमालय टाइम्सका लागि लेखनाथ पोखरेलले गर्नुभएको संवादको संक्षिप्त अंश :-
नेपालमा शौचालय र सरसफाइको अवस्था कस्तो छ ?
कोरोनापछि नेपालमा शौचालय र सरसफाइ क्षेत्रमा केही सुधार देखिएको छ । तथापि मानव मलमूत्रको व्यवस्थापनमा भने चुनौती यथावत् छ । यो हाम्रोमात्र नभई विश्वकै समस्या हो । त्यही भएर संयुक्त राष्ट्र संघले राखेको दिगो विकास लक्ष्यको एउटा बुँदामा पूर्ण सरसरफाइ हुनुपर्ने उल्लेख छ । छ नम्बर बुँदामा पूर्ण सरसफाइको प्रावधान राखिएको छ । पहिलेको फ्लस एण्ड फर्गेटको अवस्थाले झन् प्रदूषण फैलिन थाल्यो, नदी प्रदूषण बढ्यो, स्वास्थ्य जोखिम बढ्दै जान थाल्यो । मलमूत्रको दिगो व्यवस्थापनका लागि मलमूत्रको स्रोत प्रयोग गरेर ऊर्जा उत्पादन, मल उत्पादन गर्न सकिन्छ । गाईवस्तुको गोबरबाट गोबर ग्याँस उत्पादन त पहिलेदेखि नै हुँदै आएको छ ।
सार्वजनिक शौचालयको अवस्था कस्तो छ ?
नेपालका सन्दर्भमा सार्वजनिक शौचालयको अवस्था दयनीय छ । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रकै शौचालय व्यवस्थित छैनन्, सफा र स्वच्छ छैनन् । संघीय संसद् भवनकै शौचालयमा पनि समस्या रहेको उपसभामुखले नै बताउनुभएको छ । यसका लागि नीतिगतरूपमै स्पष्ट व्यवस्था गरिनुपर्छ । पछिल्लो समय खानेपानी तथा सरफाइसम्बन्धी ऐन त आएको छ तर नियमावली बनेको छैन, कार्यविधि पनि बनेको छैन । नेपालको संविधानले खानेपानी र सरसफाइलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको छ । त्यस्तै सरसफाइ र खानेपानी व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिइएको छ । तर, स्थानीय सरकारले अपेक्षाअनुसार काम गर्न सकेको देखिँदैन । खासगरी स्रोतसाधनको अभाव देखिएको छ । त्यसो त केही महानगरपालिका, नगरपालिकाहरूले आवश्यक पहल सुरु गरेका छन् । सार्वजनिक शौचालयका लागि बजेट छुट्याउन थालेका छन् । राजनीतिक दलहरूले यो विषयलाई आफ्ना घोषणापत्रमा समेटेका छन् । जनचेतना पनि बढेको छ । हामीले विगत १० वर्षदेखि यसमा बहसपैरवी गर्दै आएका छौँ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका अभियानकै कारण केही उपलब्धि प्राप्त भएको हो ।
यथास्थितिले दिगो विकास लक्ष्य भेट्ने सम्भावना देख्नुहुुन्छ ?
अहिलेको सुस्त गतिले त्यो सम्भव छैन । त्यही भएर संयुक्त राष्ट्र संघले गति बढाऊ है भनेको हो । त्यसका लागि लगानी पनि बढाउनुपर्ने हुन्छ । खानेपानी र सरसफाइ क्षेत्रको व्यवस्थापनका लागि पाँचदेखि नौ प्रतिशतसम्म लगानी बढाउनुपर्ने हुन्छ । भौतिक संरचना, मानव स्रोतसाधनको विकास, अध्ययन अनुसन्धानका लागि लगानी बढाउनुपर्ने आवश्यकता छ । सरसफाइमा जनसहभागिता पनि बढाउनुपर्ने हुन्छ । सरसफाइको विषय हाम्रो संस्कृतिसँग पनि जोडिएको छ । महिला, बालबालिका, अपांगतामैत्री शौचालय हुनुपर्छ । हामीले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा अपांगतामैत्री शौचालय प्रतियोगिता पनि आयोजना गरेका थियौँ । त्यसैले यस्ता विषयमा राष्ट्रियस्तरमा बहस हुनुपर्ने हो, त्यो हुन सकेको देखिँदैन । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य हुनुपर्ने हो, त्यो हुन सकेको छैन । खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय र संघीय मन्त्रालयबीच द्वन्द्वको अवस्था छ । संघीय सरकारले यसमा पनि संविधानको मर्म भावनाअनुसार अधिकार र कार्य क्षेत्र विभाजन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
अस्पतालका शौचालयको अवस्था के छ ?
अस्पतालहरूको शौचालयको अवस्था त झनै डरलाग्दो छ । स्वास्थ्य लाभका लागि जानुपर्ने अस्पतालबाटै बिरामी र बिरामीका आफन्त झनै संक्रमित भएर फर्किनुपर्ने अवस्था देखिएको छ । विभिन्न अध्ययन र अनुसन्धानहरूले यस्तो देखाएका हुन् । विद्यालयका शौचालयको अवस्था पनि त्यस्तै छ । कतिपय विद्यालयमा शौचालय नै नरहेको अवस्था छ । त्यसैले आगामी दिनमा अस्पताल, स्कुल, राजमार्ग शौचालयको सुधार र व्यवस्थापनमा उच्च प्राथमिकता दिनुपर्ने हुन्छ । त्यसैगरी सरसफाइ क्षेत्रका कामदार तथा कर्मचारीको स्वास्थ्य सुरक्षा, सेवा सुविधा र अन्य हक अधिकारका विषयमा पनि ध्यान दिनुपर्छ । सरसफाइ क्षेत्रका कामदारलाई हेप्ने, नराम्रो सोच्ने अवस्था हुनुहुँदैन ।
पानीकै कारण सार्वजनिक शौचालय दिगो हुन नसकेको गुनासो छ नि ?
त्यही भएर पछिल्लो समय स्मार्ट ट्वाइलेटको अभियान सुरु भएको हो । पाटनढोका, त्रिपुरेश्वर, टेकु र स्वयम्भुलगायतका क्षेत्रमा नमुना शौचालय निर्माण भएका छन् । जहाँ पानीको दिगो व्यवस्थापन, मानव मलमूत्रबाट बायोग्याँस निकालेर त्यही ग्याँसबाट कफी सप सञ्चालन गर्ने, शौचालयमा सेन्सर प्रयोग गर्ने काम भएका छन् । पछिल्लो समय कतिपय मुलुकले शौचालयलाई ट्वाइलेट वा शौचालय पनि भन्दैनन् । शौचालयलाई रेष्टरुम भन्ने गरिएको छ, कसैले आधुनिक शौचालय पनि भन्छन् । भनिन्छ कि कुनै घरपरिवारको सभ्यता र संस्कृति बुझ्नुप¥यो भने त्यो घरको ट्वाइलेट हेर्नुपर्छ । त्यही भएर लिभिङ रुमभन्दा बाथरुम स्वच्छ, सफा र व्यवस्थित हुनुपर्छ ।
विश्व शौचालय दिवसका अवसरमा कस्तो सन्देश दिन चाहनुहुन्छ ?
विश्वमै ऊर्जा, खाद्यान्न र पानीको संकट बढ्दोक्रममा छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर पनि यसमै देखिएको छ । हालै इसिमोडको एक अध्ययनले पनि हिमाली र पहाडी क्षेत्रमा पानीको मुहान सुक्दै गएको देखाएको छ । सरसफाइलाई जीविकोपार्जनसँग जोड्दै अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । हालै संयुक्त राष्ट्र संघका महासचिवले पनि नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तनको असरले पानी र खाद्यान्नलगायतमा संकट आउन सक्ने भन्दै नेपाललगायत अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउनुभएको थियो ।






