विसं २०८० सालको बडादशैँ हामीबाट बिदा भइसकेको छ । यस वर्ष पनि दशैँमा सधैंकै जसरी परम्पराको पुनरावृत्ति भयो । यो निरन्तरता हो, यसलाई स्वाभाविक मान्नै पर्छ । दुई वर्ष पहिले कोरोनाले आक्रान्त बनेका बेला मानिसहरूले नेपालको राष्ट्रिय पर्वसमेत राम्ररी मनाउन पाएका थिएनन् । त्यसको धोको फेर्ने गरी यस वर्ष सबैले दशैँ मनाएका छन् । काठमाडौं उपत्यकामा कति मानिसको बसोवास छ भन्ने यकिन तथ्यांक त छैन तर अनुमानित संख्या ६० देखि ८० लाख मानिस स्थायी/अस्थायी रूपमा बस्तै आएका छन् भन्ने गरिन्छ । त्यसो हो भने नेपालको जम्मा जनसंख्यामध्ये एक तिहाइ वा एक चौथाइ जनसंख्या काठमाडौं उपत्यकामै बसोवास गर्दै आएको छ भनेर मान्नुपर्ने हुन्छ ।
त्यसमध्ये पच्चीसदेखि तीस लाख मानिस यस वर्ष उपत्यका बाहिर आ-आफ्नो गाउँमा दशैँ मान्न गएको आकडा छ । यसबाट यस वर्ष मानिसले निश्चिन्त भएर बडादशैँ मनाएका छन् भन्ने थाहा हुन्छ । दशैँ नेपालको राष्ट्रिय पर्व हो । विदेशमा बस्नेहरूसमेत देश सम्झेर आएका छन् भने घर छाडेर देशकै अर्को भागमा बसेका नेपालीहरू पनि दशैँमा आ-आफ्नो घर गएर मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने काम भयो ।
दशैँ सकिएलगत्तै उपत्यकाबाट बाहिरिएकाहरू पुनः फर्किरहेका छन् र आ-आफ्नो पेशा/व्यवसायमा लागिरहेका छन् । यस पटकको दशैँमा पनि पहिले-पहिले जसरी नै केही सवारी दुर्घटना भए, केही मानिसको ज्यान गयो भने केही घाइते भए । झै-झगडा वा अन्य केही कारणबाट मानिसको ज्यान गएको छ । विजया दशमीका दिन राष्ट्रपतिबाट सर्वसाधारणलाई टीका लगाइदिने काम भयो । अर्कोतर्फ पूर्वराजाबाट पनि सर्वसाधारणलाई टीका लगाउने काम भएकाले यो प्रतिस्पर्धाका रूपमा देखिन पुग्यो । राष्ट्रपतिसँग भन्दा पूर्वराजासँग टीका लगाउनेको संख्या अधिक भयो भनेर एक थरीले यो व्यवस्थाप्रतिको वितृष्णा र राजाप्रतिको आकर्षण हो भनेर चर्को स्वरमा व्यख्या गरे ।
पूर्वराजासँग टीका लगाउन आएकाहरूमा इस्लाम धर्मावलम्बीहरूको संख्या पनि उल्लेख्य थियो । यसलाई धार्मिक सद्भाव कायम राख्न चाहेका रूपमा हेरियो । दशैँ बहिष्कारवादीहरूको कुनै कतै उपस्थिति र गतिविधि देखिएन । यो स्वाभाविक थियो किनभने राजनीतिक भड्काउका रूपमा आएका यस्ता अभियान नेपालमा सफल हुने कुरै थिएन । बरू कतिपय शेर्पा समुदायका मानिसले समेत दशैँको टीका लगाएको देखियो । नेपालमा धार्मिक सहिष्णुता र सद्भाव कायम छ भन्ने यसबाट सिद्ध हुन्छ । बरू समस्या भनेको हुने-खाने र हुँदा खानेबीचमा छ । दशैँ एक थरीका लागि उल्लासको पर्व बनेको छ भने अर्का थरीका लागि अभाव, गरिबी, बाध्यता र ऋणको भारीका रूपमा आउने गरेको छ । यसको निरन्तरता यस वर्ष पनि भएन भन्ने होइन ।
दशैँ वर्षैपिच्छे भड्किलो बन्दै गएकाले यस्ता समस्या कम हुनुको सट्टा झन्झन् बढ्दै गएका छन् । महँगीले आकाश छोएको छ, कृत्रिम अभाव खडा गरिन्छ । त्यसको सामना गर्न कठिन भएको छ । निम्नमध्यम वर्गलाई सकस बन्दै गएको दशैँ, निम्न वर्गीयहरूका लागि समस्या नबन्ने त कुरै भएन । तस्करी र कालाबजारियाको अत्याधिक शोषण र अन्याय उपभोक्ताले व्यहोरिरहनु परेको छ । कानुनको कडाइका साथ कार्यान्वयन हुन नसकेकाले दिनप्रतिदिन यस्ता समस्या मौलाउने मौका पाइरहनाले सर्वसाधारणका लागि चाडपर्व उल्लास र उत्सवभन्दा कठिनाइका रूपमा विकसित हुँदै गएका छन् ।
दशैँ सकिएको छ, तर लगत्तै नेपालको अर्को महान् पर्व तिहार आइहाल्छ । दशैँ र तिहारको अन्तर धेरै छैन । भड्किलोपन, महँगी र कठिनाइका समस्या तिहार, छठ, म्हपूजा, इद, ल्होसार, माघी जस्ता चाडमा नआउने होइनन् । यसतर्फ सबै सचेत रहनुपर्छ । सरकारले कालोबजारी र तस्करी हुन दिनुहुँदैन । प्रहरी प्रशानसनले शान्तिसुरक्षा कायम राख्न प्रयास गर्नुपर्छ । राजनीतिक पार्टीहरू र सर्वसाधारण नागरिकहरूको पनि यस्ता कार्यमा महत्वपूर्ण भूमिका रहेको हुन्छ । दोष अरूलाई दिएरमात्र आफू चोखो बन्न सकिँदैन, सबैले आ-आफ्नो ठाउँबाट आ-आफ्नो जिम्मेवारी पूरा गर्न सक्नुपर्छ । यसो भयो भनेमात्र पर्वहरू उल्लासमय बन्न सक्छन् नत्र सधैं चाडपर्व कठिनाइका पर्यायमात्र बनिरहन्छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा