छन्द बचाऊँ अभियन्ता माधव वियोगी

बद्रीप्रसाद दाहाल
बद्रीप्रसाद दाहाल
Read Time = 17 mins

छन्द बँचाउने आन्दोलन भन्नाले छन्दधारामा आएका गन्धा पूर्वाग्रह, अबुुझपन, परिहास, घृणा, अनर्गल प्रलाप र सोचलाई चिरेर आफ्ना मौलिक सम्पदा, लयपूर्ण धारा, सभ्यता अनादि समयदेखि मानिँदै आएका ज्ञानविज्ञानसम्मत छन्दधाराको मूूल्यमान्यता जगेर्ना गर्ने सुकाम हो । लयदार र प्रतिकात्मक गद्य कविता र नेपाली लोकमाटोमा उम्रिएका गीतप्रति सौहाद्र्रता देखाउँदै संगीतात्मक छन्दकविताको उत्थान तथा प्रवद्र्धनमा भूमिका निर्बाह गर्नु पनि हो ।

यही दृढ विश्वासमा एकलभ्य भएर ‘सर्वं छन्दमयं जगत्’ को अभियानमा लागिपरेका कास्की पोखरा निवासी वरिष्ठ कवि र एक प्रबुद्ध प्राध्यापकीय व्यक्तित्व हुन् ‘माधव वियोगी’ । आमा विष्णुमाया र पिता अग्निधरका पुत्ररत्नको रूपमा कास्की जिल्लाको अर्घौँ कालिका झाँकमारेमा २०१८ साल कात्तिक २९ गते आँखा खोल्न पुुगेका थिए वियोगीले । नेपाली भाषा साहित्यमा स्नातकोत्तर उनी शिक्षाशास्त्र र कानुनशास्का अब्बल विद्यार्थी पनि हुन् ।

आन्दोलन भनेको उथलपुुथल, हलचल, परिवर्तन हो भने अभियानको तात्पर्य कुनै विशिष्ट कार्य, निश्चित उद्देश्य वा लक्ष्य प्राप्तिको आरोहण गर्ने प्रयास भनेर बुुझिन्छ । हो, त्यही प्रयासमा छन् महाकाव्यकार छन्दकवि वियोगी । राष्ट्रव्यापी छन्द बचाऊँ आन्दोलनको उन्नायकको साठीऔं वर्ष प्रवेश र छन्द दिवसको अवसर पारेर यसको प्राप्ति विश्वव्यापी पुनर्जागृतिको अवसरलाई शुुभ साइत ठम्याउँदै ‘गतिविधि र प्रतिक्रिया’ नामक सातसय पचासी पृष्ठको मोटो र गहकिलो ग्रन्थ २०७७ कात्तिक २९ गते ‘माधव वियोगी वाङ्मय प्रतिष्ठान’-ले प्रकाशनमा ल्याएर एक महान् कर्मको उजागर गरेको छ ।

वियोगीको नायकत्वद्वारा आजसम्म भएका छन्द उत्थानका गतिविधि समेटिएको यो पोथीमा दुुई सय पच्पन्न लेखक, समीक्षक, कवि र साहित्यकारका छन्दमहिमा केन्द्रित सिर्जनाहरूको रोचक, खोजमूूलक र वियोगीका भगीरथ यत्न तथा प्रयत्नको बेलीबिस्तार तथा सुकर्मको चित्र खिचिएको छ । सम्पादक त्रय सरिता घिमिरे, छन्दमणि त्रिपाठी र छन्दिका त्रिपाठीको कुशल सम्पादनमा प्रकाशित उक्त ग्रन्थ छन्दशास्त्रप्रति अनुुरक्त साधकहरूको लागि झरिलो उत्साह, भरिलो गतिविधि र ऊर्जाशील कृति हो ।

राजकृष्ण कँडेल, प्रेमविनोद नन्दन, गोविन्दराज विनोदी, कृष्णशरण उपाध्याय, रमेश भट्टराई, डा.जगन्नाथ रेग्मी, कोमलप्रसाद पोख्रेल, युवराज भट्टराई, प्रल्हाद पोख्रेल, तारादेवी शर्मा, अम्बिका भण्डारी, गोविन्द चापागाईं, वासुदेव पाण्डेय, छन्दभूूषण रेग्मी, जस्ता सैँतीसभन्दा बढी स्थापित र नवोदित कविहरूले छन्द बचाऊँ अभियानका अभियन्तामाथि उनको अपूूर्व कदमको प्रशंसा गर्दै सुुझाब, सल्लाह र छन्दशास्त्रको वैज्ञानिकता एवं अलौकिकतामा केन्द्रित भएर काव्य प्रवाहित भएको छ ।

वियोगीको नायकत्वद्वारा आजसम्म भएका छन्द उत्थानका गतिविधि समेटिएको यो पोथीमा दुुई सय पच्पन्न लेखक, समीक्षक, कवि र साहित्यकारका छन्दमहिमा केन्द्रित सिर्जनाहरूको रोचक, खोजमूूलक र वियोगीका भगीरथ यत्न तथा प्रयत्नको बेलीबिस्तार तथा सुकर्मको चित्र खिचिएको छ । 

अथक मिहिनेतलाई उत्साह भर्न आआफ्ना काव्यलहरका बहरमा मनग्गे छन्दको गौरवबोधबारे मजाले डुुक्रिएका छन् मनीषी महोदयहरू । भुुजङ्गप्रयात, शिखरिणी, झ्याउरे, शार्दूूलविक्रीडित, अनुुष्टुप, गीति, स्रग्धरा, वसन्ततिलका, मालिनी, उपजाति, वंशस्थ आदि विविध छन्दका सिर्जनाहरूले ग्रन्थ शारदीय उपवनजस्तै भई शतरङ्गी र सुवासिलो बनेर महक छरेको छ । उदाहरणका लागि भुुजङ्गप्रयात छन्दका तलका पंक्ति :
उनी छन्द खेल्छन्, उनी छन्द बोल्छन् ।
उनी छन्दमै प्रीतिको रङ्ग घोल्छन् ।
उनी छन्दका स्वप्न देख्छन् सुनौला ।
उनी छन्द सोपान टेक्छन् सुनौला ।।
उनी छन्दमा हृयूूँचुुली चम्कँदा छन् ।
उनी छन्द फेवा बनी झल्किँदा छन् ।
उनी छन्द रोपेर आस्था गह्रामा
महाकाव्य रच्छन् बसी पोखरामा ।।
उनी राख्दछन् शीर्षमा छन्द ताज ।
उनी छन्दिकाका पिता छन्दराज ।
उनी प्रेरणाका प्रभा, छन्दशास्त्री ।
उनी छन्दका हुन् अविश्रान्त यात्री ।।
वियोगीको छन्दप्रतिको अथक लगावलाई चित्रित गर्न कति सफल छन् त गैँडाकोट निवासी कविवरेण्य गोविन्दराज विनोदीका माथिका काव्याहारहरू ¤ त्यसैगरी झापाका कवि कोमलप्रसाद पोखरेल अनुुष्टुुवमा यसरी खनिन्छन् :
गृह नै छन्दशाला भो, त्यहीँ हुुन्छ प्रशिक्षण
पाहुनाजन शिक्षार्थी, घरमूूली प्रशिक्षक ।।
दुुहिता छन्दिका देवी, जामाता छन्दभूूषण
अनेक विधिले गर्छन् कवि छन्द प्रशिक्षण ।।
यो श्लोकले वियोगीको नमुना दिनचर्यालाई कसरी कोमलले आफ्नो काव्यमा चित्रात्मकता दिएका छन् भन्ने कुरा स्पष्ट हुन्छ । त्यस्तै धनगढीका कवि वासुदेव पाण्डेय आफ्नो ‘सकल धरती छन्दमय छ’ शीर्षक कवितामा छन्दको व्यापकतालाई उद्धृत गर्दै देशका विभिन्न क्षेत्रमा पन्पिएको फुटको रोग यसमा नसरोस् भन्ने सुुभाव शिखरिणीमा यसरी पोख्न पुुगेका छन् :-
चरीको च्याँच्याँमा सकल वनका वृक्ष फलमा ।
सबै साना नानी जलथल नदीमा र हलमा ।
जहाँ जन्म्यौँ हामी सकल धरती छन्दमय छ ।
कतै बाँटिन्छौँ वा विविध गुटमा मात्र भय छ ।।
यसमा प्रकाशित सबै कविताहरू सुुन्दर, मोहक र छन्दको गौरव कलात्मक तिलस्मी बुतामा प्रकाश पार्न अभ्यस्त छन् । संस्कृत वार्ता प्रवाचक तथा सम्पादक आकाशवाणी एवं डीडी न्यूज भारतमा कार्यरत भारतीय अकादमी पुरस्कार विजेता युवराज भट्टराईको हिन्दी भाषामा लेखिएको ‘वियोगी प्रशस्ति दशकम्’ भन्ने शीर्षकको वंशस्थ छन्दको एक श्लोक उदाहरणार्थ:-
अरे उठो लेखक हे ! जगो-जगो
सुुशास्त्र के छन्द पुनः लिखो लिखो ।
करो यहाँ डिम्डिम-घोष छन्द से
कवीन्द्र वे माधव आज बोलते ।।
त्यसैगरी यो ग्रन्थभित्रका दुुईसय चानचुन गद्यआलेखहरूमा छन्दशास्त्रको इतिहास उभ्याउँदै विभिन्न विद्वान् विदुुषीहरूले मिहिनेतसाथ मसी खर्चिएका छन् । कवितामा छन्दको समुचित र सार्थक प्रयोगकसरी गर्न सकिन्छ भन्ने क्रममा नुवाकोटका वरिष्ठ कवि जयगोविन्दले झन्नै सोह्रसय शब्दको आफ्नो आलेखमा सपाट विश्लेषणपरक विचार प्रवाह गरेका छन्, नमुनाको रूपमा यो उद्धरण : ‘छन्दमा कविता लेख्नुको अर्थ सबै व्यास, पराशर, वाल्मीकि, पिङ्गलाचार्य, भवभूति, कालिदास, माघ, अश्वघोष, श्रीहर्ष, भारवी, लेखनाथ, देवकोटा बन्नु होइन भन्ने पनि सबैमा ज्ञात हुनुपर्छ ।

ADVERTISEMENT

साहित्यलाई छन्दमात्र नभई कविता पनि दिन सक्ने जमात तयार गर्नुलाई छन्द बचाऊँ अभियानले प्राथमिकतामा राख्नुु आवश्यक छ । छन्दलाई परिमाणात्मक र कामचलाउ अवस्थाबाट स्तरीयता र मानकतातिर लैजान सके छन्द बचाऊँ अभियानको सार्थकता अझ झल्कन्छ । साहित्यमा मान्यता पाई स्थापित भइसकेको गद्य कविताप्रति समेत सहिष्णुता राख्दै छन्दको अभियानलाई अझ सशक्त बनाउन सके छन्द बचाऊँ अभियानको गरिमा शिखर चुम्नेमा दुुईमत छैन’ ।

समालोचनात्मक विचार प्रक्षेपण गर्नुहुने स्वनामधन्य स्थापित लेखकहरू-मध्येबाट प्रतिनिधित्वको रूपमा केहीका नाम राख्ने जमर्को गरेको छु । स्वर्गीय घटराज भट्टराई, विख्यात समालोचक वासुदेव त्रिपाठी, छन्द अभियन्ता माधव वियोगी, रामविक्रम थापा, भानुुभक्त पोखरेल, सरिता घिमिरे, कृष्ण भण्डारी मुुमुुक्षुु, भूपनिधि पन्त, प्राडा.यामबहादुर पौडेल, डा.सुकुम शर्मा, डा.खगेन्द्र लुुइँटेल, कविवर मुकुुन्दशरण उपाध्याय, डा.गोविन्द भट्टराई, डाप्रा.माधव भट्टराई, डा.तुलसी भट्टराई, महाकवि चन्द्रप्रसाद न्यौपाने, डा.नवराज लम्साल, डा.नारायणप्रसाद खनाल, कलात्मक कविताका छन्दकवि प्रल्हाद पोखरेल, वियोगीका गुरु यादवचन्द भुर्तेल, डा.माधवप्रसाद पोखरेल, प्रा.जगत उपाध्याय प्रेक्षित, रमेशचन्द्र घिमिरे, सङ्गीता सुवेदी, तीर्थराज अधिकारी, प्राडा.हेमनाथ पौडेल, डा.बलराम उपाध्याय, केशवराज आमोदी, वन्दना विक जस्ता धेरै अध्येताले छन्दको गरिमा, यसको ऐतिह्य, ऐतिहासिकता र नूतन तथा अभिनूतन वर्तमानको कोण-कोणबाट विशद विवेचना भएको छ ।

छन्दप्रेमी विकल शेरचन आफ्नो अतीतको स्मृतिलाई यसरी पोख्नुहुन्छ : ‘रेडियो नेपालका विभिन्न कार्यक्रमबाट उहाँका छन्दका कविता म स्वयंले सुनेँ । उहाँ आवासीय शिक्षकको रूपमा परिवारसहित बस्नुुहुुन्थ्यो, मैले एकदिन उहाँलाई अफिसमै बोलाएर उहाँको प्रशंसा पनि गरेँ । विद्यार्थीबाट तपाईंको सम्बन्धमा राम्रो प्रतिक्रिया आएकोले विद्यार्थीप्रतिको मायालाई कायमै राख्न भनेँ, तपाईं छन्दमा कविता लेख्ने साहित्यकार भएकाले विद्यार्थीलाई पनि त्यस्ता कविता लेख्न कक्षामा सम्भव नभए पनि बिदाको दिनमा सिकाएर उनीहरूको ज्ञान बढाइदिन अनुरोध गरेँ । सोका व्यवस्थापनका लागि वचन पनि दिएँ, उहाँले खुसी हुुँदै त्यसलाई स्वीकार्नुुभयो’ । शेरचनजीको छन्दप्रतिको यो समादर कति उच्च देखिन्छ भने वियोगीको छन्दप्रयोगशालाको तीव्र मोह कति वन्दनीय छ ।

यही सँगालोभित्र ७४० पेजदेखि ७६७ पेजसम्मको वियोगीको आलेख ‘राष्ट्रव्यापी आन्दोलनको रूपमा सञ्चालित ‘छन्द बचाऊँ अभियान २०५३ को घोषणापत्र (जो सत्ताईस पृष्ठको छ) यो छन्दानुुरागीहरूका लागि उत्प्रेणा, ज्ञान र अभ्यासको हातेपुस्तक बनाउन मिल्ने खालको आभास हुन्छ । उनी लेख्छन् : ‘सृष्टिको उषा कालदेखि नै छन्दपरम्पराको थालनी भएको मलाई लाग्छ, त्यो समय छन्दको प्रयोग कवितामा नभएर मान्छेका मीठासपूर्ण सद्वाणीमा हुन्थ्यो । सौन्दर्यप्रतिको आकर्षण, मिष्ठ भोजनको आस्वाद, सुमधुर वाणीको श्रवण र सुखमय जीवनयापन मान्छेका स्वाभाविक गुुण हुुन् । मान्छेका यिनै स्वाभाविक गुणमा म छन्दको प्रयोग देख्दछु । छन्द धैर्य, संयमता, आत्मविश्वास र परिमार्जित जीवनशैली पनि हो’ ।

यिनै आत्मविश्वास अठोटमा गठजोड हुुँदै वियोगी छन्दका विशिष्ट तपस्वी योगी बन्न पुुगे । यसै क्रममा डा.माधवप्रसाद पोखरेलद्वारा लिखित ‘आधुनिक कवितामा छन्दको महत्व’ सत्रसय शब्दमा संरचित यो विवेचनाले छन्दबारे पश्चिमी काव्यशास्त्रीहरूको धारणालाई परिचर्चाको विषय बनाउनुु भएको छ । इलियट, कनिङ्गम, एज्रा पाउण्डहरूको छन्दमोहलाई घतिला वाक्यावलीमा उपस्थापन गरेर पूूर्वीय काव्याचार्यका गम्भीर र सुुदूूर चिन्तनको सम्मान गर्नुभएको छ । गद्यकविता लेखनलाई आलोचनात्मक रूपमा उभ्याएका छन् । टी.ई.हृयुम, इभोर विन्टर्स, पल भ्यालोरी, आदिले ध्वनि, अनुप्रास, ताल, संगीतात्मकता, भएको छान्दिक कवितालाई जोड दिएको कुरा उजागर गरिएको छ यस आलेखमा ।

जे होस् प्राकृतिक रमणीयताले स्वदेशी तथा विदेशी हरमानिसको मन खिच्ने पोखरा साहित्य, संस्कृति, कलाको उर्वरा धरणी हो । लेखनाथ, धर्मराज थापा, मुुकुन्दशरण उपाध्याय, सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, अलिमिया, शास्त्रीय छन्दका अब्बल गायक शिव त्रिपाठीलगायतका हजारौँ स्रष्टाहरूले सिञ्चन गरेका र गरिरहेका पोखराका गह्राबाट छन्दलाई लोकजीवनसित एकाकार गराउन भिजन र मिसनसहित देश र देशबाहिर योजनाबद्ध प्रस्तुति प्रदान गर्ने माधव वियोगी पिङ्गलकै नयाँ संस्करण बनूून् यही शुुभकामना ! शिवास्ते पन्थानः ! छन्दका योगी माधव वियोगीमा प्रणाम !!! अस्तुु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *