कविता : बा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

✍️ अच्युतराज दाहाल

हजुर झिसमिसमै उठेको देखेर
मैले उभिन सिकेँ,
उठ्दा-शिरमात्रै उठ्ने होइन रहेछ,
विश्वास र स्वाभिमान पनि सँगै उठ्दोरहेछ ।
अग्लो ठाउँमा उभिए पनि
कोही होचो देखिने रहेछ
होचो ठाउँमा उभिए पनि
कोही अग्लो देखिने रहेछन्,
हजुर बस्दा पनि
पहाडभन्दा अग्लो देखिनुहुन्छ,
मैले आँक्न नसक्ने दूरी
हजुरको मात्रै हो,
डरलाग्दा सम्झिएँ बा,
अप्ठ्यारो पर्दा सम्झिएँ बा,
उकालो चढ्दा सम्झिएँ बा,
ओरालो झर्दा सम्झिएँ बा,
हरेक कुइनेटाहरूमा
हजुरकै शिर देखेँ मैले ।
बा ! ठाडो शिर
मात्र होइन रहेछ
हौसला पनि पो रहेछ
मैले लडेर उठ्न सिकेँ अप्ठ्याराहरूमा,
कुप्रो पर्दा पनि अहिले
कहाँ घटेको छ र हजुरको उँचाइ ?
जति ठक्करहरूले थिचिए पनि
झन् उठ्दोरहेछ ।
हो, बा बिहानीसँगै हिँड्नुहुन्थ्यो
साँझसँगै फर्कनुहुन्थ्यो,
म कर्मठ पसिनाहरू हेरिरहन्थेँ
घरको चमक भएर चम्किरहेका,
म घामको न्यानो अनुभूति गरिरहन्थेँ,
बा छेउ हुँदाको पल,
म खुसीसँग खेलिरहेको बिपना देखिरहन्थेँ,
बाले मलाई अँगालेको पल,
हो बामसँग हुनुको अनुभव
दशैँतिहार नै हुन्थे काँडाझाडी भए पनि,
बाटो बाको काँधले सधैँ
सुगम बनाइरहन्थे,
हरेक सपना प्राप्तिको लहर बन्न आउँथे,
जीवन स्वर्गकै छानो हो कि जस्तै गरी,
बहारहरू मसँग खेल्न आउँथे,
लाग्थ्यो बा अर्थ समुद्र तरिरहेको दृश्य,
लाग्थ्यो बा अर्थ आँधीलाई जितिरहेको दृश्य,
हो बा जिन्दगी मगमगाउँदो सुवास,
हो बा जिन्दगी जगमगाउँदो आकाश,
हो बा सामु हुँदा म
सगरमाथामाथिकै सूर्य हुन्थेँ,
हो बाले अन्धकार पनि
सुमधुर बजिरहने सरगम बनाउँथे,
संसार बिर्ता बनाई
चलाइरहेको हैकमले जस्तै,
आँखाहरूमा लक्ष थिएन,
पाइलाहरूमा बाटो थिएन,
सप्तरङ्गी थिए दृश्यहरू,
उन्मुक्त थिए बाटाहरू,
चाहना काखमा खस्थे,
आकाङ्क्षा पोल्टामा झर्थे,
खुल्नुपथ्र्यो फुल्नुपथ्र्यो,
ओठमा फगत एक मुस्कान
म हाँसेको थिएँ नौलो बसन्त भएर,
म मुस्कुराएको थिएँ बहार बनेर,
एक बगैँचामा मालीका
चार हातहरूमा त्यति बेला,
मेरो ऋतुहरू सम्हाल्ने बाका काँधहरू थिए,
उस्तै छन् मैले टेकेका बाका काँधहरू,
मात्र समयका बोझले केही झुकाइदिएका छन्,
उस्तै छन् म उभिएको बाका पैतालाबाट,
मात्र उमेरका थपेडाहरूले
केही कमजोर पारिदिएका छन्,
उस्तै छन् ती काँधमा छरिएका
मेरा पैतालाका डोबहरू,
मात्र यामका केही पाप्राहरूले
धमिलो पारिदिएका छन्,
आमा भन्छिन् बा बुढो हुनुभयो,
निख्रियो तेल, सकियो सलेदो,
तर बाको अनुहार
कैयौं दियो सल्काएर दिप्त छ,
कैयौं काँध बनाएर दृढ छ,
अझै इतिहास बोक्दैछ,
अझै कर्मठताको परिचय बोक्दैछन्
बाका काँधहरू,
काँडाझाडी भए पनि बाटो
बाको काँधले सधैं सुगम बनाइरहन्थे,
हरेक सपना प्राप्तिको लहर बन्न आउँथे,
जीवन स्वर्गकै छानो हो कि जस्तै गरी,
बहारहरू मसँग खेल्न आउँथे ।
लाग्छ बा अर्थ समुद्र तरिरहेको दृश्य,
लाग्छ बा अर्थ आँधीलाई जितिरहेको दृश्य,
हो बा जिन्दगी मगमगाउँदो सुवास,
हो बा जिन्दगी जगमगाउँदो आकाश,
हो बा सामु हुँदा म सगरमाथामाथिकै सूर्य हुन्थेँ,
हो बाले अन्धकार पनि
सुमधुर बजिरहने सरगम बनाउँथे,
संसार विर्ता बनाई
भोक चपाउन सक्ने बा,
दुःख निल्न सक्ने बा,
समय पचाउन सक्ने बा ।

ADVERTISEMENT

चन्द्रनिगाहपुर, रौतहट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *