सङ्कलक : एइ थियोडोरा ओजाकी
अनुवाद : प्राडा. भूपप्रसाद धमला
(यो कथा सन् १९०८ मा एइ थियोडोरा ओजाकीद्वारा सङ्कलन र सम्पादन गरिएको जापानी दन्त्य कथा शीर्षकको कथासङ्ग्रहबाट लिइएको हो । यस कथाको सार हो-गुन लगाएको छ भने पछि काम लाग्छ ।)
धेरै–धेरै पहिले जापानको सिनसिन प्रान्तमा बाँदर साथमा लिएर हिँड्ने एउटा मान्छे थियो । उसले बाँदर डुलाउँदै जनावरका खेल देखाएर कमाएको पैसाले जीविका चलाउँथ्यो ।
एक साँझ उ रिसाउँदै घर आयो र श्रीमतीलाई भन्यो-
‘भोलि बिहान कसाईकोमा यो बाँदर पठाइदिनु ।’
श्रीमतीले छक्क पर्दै श्रीमानलाई सोधिन् -
‘किन तपाईंले यो बाँदर कसाईकोमा पठाइदिनु भन्नुभएको ?’
‘यो बाँदरसँगै हिँडाएर अब काम छैन । धेरै बुढो भएर खेल बिर्सन थाल्यो । मैले यसलाई लठ्ठीले हान्दा पनि राम्रोसँग नाच्न सक्दैन । अब म यो बाँदर कसाइलाई बेचिदिन्छु । जति पैसा आउँछ आओस् योबाट अर्थोक केही हुँदैन ।’
श्रीमतीले धेरै दुःख मान्दै उनको श्रीमानलाई बाँदर नबेच्न अनुनय विनय गरिन् तर उनको केही सीप चलेन । श्रीमानले बाँदर बेच्ने नै निधो गर्यो ।
बाँदर अर्को कोठामा थियो । उसले श्रीमान्-श्रीमतीको कुराकानी सुनेर अब कसाइका हातबाट मरिने भयो भन्ने कुरा बुझेर मनमनै सोच्यो- ‘मेरो मालिक खासमा क्रुर मान्छे रहेछ । यहाँ मैले वर्षौंदेखि निष्ठापूर्वक सेवा गरेँ अब मलाई आरामपूर्वक बाँकी जीवन बिताउन नदिएर कसाईलाई बेचेर उसका हातबाट निर्ममतापूर्वक काटेर रोस्टर बनाउन लाउने भएछ । अब के गर्ने होला ! अँ एउटा विचार फुर्यो है । एउटा जङ्गली सुँगुर यता नजिकै बस्छ उसको बुद्धिमानीको बारेमा मैले धेरै सुनेको छु । अब उसकोमा जान्छु अनि सल्लाह माग्छु । अलि प्रयास गर्नुपर्यो ।’
अबेर नगरी बाँदर घरबाट बाहिर निस्क्यो र जतिसक्यो छिटो गरी सुँगुर भेट्न वनतिर दौड्यो । सुँगुर भेट्ने बित्तिक्कै बाँदरले तुरुन्त आफ्नो दुःखको कथा भन्न थाल्यो । ‘हे सुँगुर दाइ, मैले तपाईंको बुद्धिमानीका बारेमा प्रशस्त सुनेको छु । मलाई अहिले आपत परेको छ । तपाईंले मात्र मलाई मद्दत गर्न सक्नुहुन्छ । म मेरो मालिकको सेवा गर्दा-गर्दा बुढो भएँ । अब उसले मलाई कसाईलाई बेच्ने भयो किनभने म राम्रोसँग नाच्न नसक्ने भएँ रे । यस बेलामा तपाईं मलाई के सल्लाह दिनुहुन्छ ? तपाईं धेरै बुद्धिमान् हुनुहुन्छ भन्ने मलाई थाहा छ ।’
आफ्नो तारिफ गरेको सुनेर सुँगुर खुसी भयो अनि उसले बाँदरलाई मद्दत गर्ने निधो गर्यो । एक छिन विचार गरेर भन्यो-
‘तिम्रा मालिकका बच्चा छन् कि छैनन् ?’
‘छन् नि ! उसको एउटा सानो छोरो छ ।’
त्यो बच्चाकी आमा काम गर्न गएको बेला बिहान बच्चा घरबाहिरै बसेको हुन्छ होला नि ! म छिटै आउँछु र मौका पर्ने बित्तिक्कै त्यसलाई च्याप्प समातेर कुदिहाल्छु ।’
‘अनि त्यसपछि ?’
‘बच्चाकी आमा बेसरी डराउँछिन्, त्यसबेला तिमी दौडेर मकहाँ आउनू अनि बच्चा लिएर उनीहरूकहाँ पुर्याउनू । त्यसो भएपछि उनीहरूले तिमीलाई कसाईकोमा बेच्न मन गर्ने छैनन् ।’
बाँदरले सुँगुरलाई धेरै धन्यवाद दियो र घर गयो । ऊ त्यस रात भोलिको चिन्ताले राम्रोसँग सुतेन । उसको जीवनको भाग्य सुँगुरको योजना सफल हुन्छ वा हुँदैन भनी कुरामा निर्भर रहने भयो । आतुरतापूर्वक अब के हुने होला भन्दै ऊ पर्खिरहृयो । उसकी मा
लिक्नीले उज्यालो भएपछि कत्तिबेर ढोका खोलेर बाहिर निस्केलिन् भनेर पर्खिने समय पट्यारलाग्दो गरी लामो भए जस्तो भयो ।
भाग्यबश सुँगुरले बनाएको योजना अनुसार सबै थोक भयो । बच्चाकी आमाले सधैँ झैँ बच्चा दलानमा राखेर सरसफाइ गरिन् । त्यसपछि बिहानको खाजा तयार गर्नतिर लागिन् ।
त्यो बिहान बच्चा खुसी हुँदै घाम छायामुनि सुकुलमा गुन्गुनाएर खेल्दै थियो । अचानक दलानमा बच्चा रोएको ठूलो आवाज आयो । आमा भान्साकोठाबाट दौडेर बाहिर आइन् । ठ्याक्क त्यही बेला सुँगुरले बच्चा बोकेर बेपत्ता भएको देखिन् । उनी हात झट्कारेर बेसरी रोइन् । अनि दौडेर उनको अझै सुतिरहेको श्रीमान् भएछेउ पुगिन् ।
श्रीमान् चाहिँ आँखा मिच्दै बिस्तारै उठेर बस्यो । श्रीमतीलाई कराउँदै के खोजेको भनेर सोध्यो । बच्चा चोरी भएको भन्ने थाहा पाएपछि उसलाई खोज्न श्रीमान्-श्रीमती दुवै घर बाहिर निस्के । सुँगुर बेपत्ता भइसकेको थियो । बाँदर बच्चा चोर (सुँगुर) को पछि पछि बेस्सरी दगुर्दै थियो ।
श्रीमान्-श्रीमती दुवैले चलाख बाँदरको चाल देखेर उसको खुब प्रशंसा गरे । जब बाँदरले उनीहरूको बच्चा सुरक्षित रूपमा घर ल्याइदियो तब उनीहरूको खुसीको सीमा रहेन ।
‘हेर्नुस् त यस्तो बुद्धिमान् जनावरलाई तपाईं मार्न पठाउने कुरा गर्नु हुन्छ । यो बाँदर नभएको भए हामीले हाम्रो बच्चा सधैँका लागि गुमाउनुपर्ने थियो ।’
‘तिमीले भनेको ठीक रहेछ ।’ यसो भन्दै ऊ बच्चा लिएर घर आयो । ‘कसाई आयो भने बाँदर नबेच्ने भन्दै उसलाई फिर्ता पठाइदिनू अनि मलाई र बाँदर दुवैलाई बिहानको खाजा लिएर आउनू’ उसले श्रीमतीलाई भन्यो ।
जब कसाई आयो उसलाई बेलुकीको डिनरका लागि सुँगुरको मासु ल्याउन भनियो । बाँदर ढुक्क भएर त्यस दिनदेखि शान्तिपूर्वक बस्यो । त्यसपछि उसको मालिकले उसलाई आघात पर्ने कुनै कुरा कहिल्यै गरेन ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा