✍️ देवेन्द्र पौडेल
बग्दै गरेको खोलातर्फ बग्न र पौडन सजिलो हुन्छ त्यस्तै खोलालाई जितेरविपरीत धारतर्फ पौडँदा चुनौतीका साथ मज्जा पनि हुन्छ । समय र परिस्थिति अनुसार हामी कहिले खोलाको बहावतर्फ त कहिलेविपरीत धारतर्फ बग्न सक्नुपर्दछ । इतिहास हाम्रो गौरव हो, वर्तमानको पहिचान हो र भविष्यको मार्गदर्शन एवं प्रेरणाको स्रोत पनि हो । त्यसैले इतिहास बिर्सेर बिर्सने कुरा पनि होइन । जीवनमा गरिने सबै कर्म र यात्रा एउटै किसिमका हुँदैनन् । समय र सन्दर्भले यात्रा र कर्मका उद्देश्यहरू फेरिन सक्छन् ।
देश टेक्ने र देश लेख्ने अभियानमा जुटिरहेका बेला २०८० को ग्रीष्मकालीन बिदाको अवसर पारेर म पनि पहिलो पटक बाउबाजे जन्मेहुर्केको तथा उहाँहरूले जीवन जिउनका निम्ति गरेका कठोरतम संघर्षका कथा, व्यथा र भूगोलको अनुभूति गर्न प्युठानको यात्रामा निस्केको थिएँ । मेरो यो यात्रा काठमाडौंबाट कपिलवस्तु, अर्घाखाँची हुँदै अगाडि बढेको थियो । काठमाडौंबाट कपिलवस्तुसम्म रात्रि बसबाट म एक्लै पुगेको भए पनि कपिलवस्तुबाट म, मेरा भान्जा मोहन अधिकारी र भाइ शोभाखर कँडेल यात्रामा जोडिएका थियौं र दुईवटा बाइक लिएर बिहान साज बजे यात्रा सुरु ग¥यौँ ।
हामी गोरुसिँगे अर्घाखाँची मुख्य सडक खण्ड छोडेर जंगलको छोटो बाटो अर्घाखाँचीको डोहोटे निस्कने योजनाका साथ हिँडेका थियौं । जंगलमा लागेको डढेलो देख्दा आफ्नै मुटु जलेर खरानी भइरहेजस्तो अनुभूति भयो । ठूलाठूला रूखहरूबाहेक अरू केही पनि बचेका थिएनन् । आजको मानव समाज शिक्षित भएर पनि किन वातावरणमैत्री बन्न नसकेको होला भन्ने प्रश्नले मन निमोठिरहृयो । करिब डेढ घण्टा जंगलको बाटो छिचोलिसकेपछि हामी मुख्य सडक खण्डमा जोडिन आइपुग्यौं र पक्की बाटोको स्वाद लिँदै भेडामारे भन्ने ठाउँमा पुग्यौं अनि खाजा खायौं । त्यहाँको समोसा मटर निकै स्वादिष्ट लाग्यो । खाजा खाई अलि अगाडि बढेर बाइकमा ट्यांकी भरिने गरी इन्धन भर्यौं र बाटोमा गुड्दै गरेका गाडीहरूसँग लुकामारी खेल्दै उत्तरतिर लागिरहृयौँ ।
करिब १० बजेतिर हामी अर्घाखाँचीको प्रसिद्ध सुपा देउराली मन्दिर परिसरमा पुग्यौं । भीडभाडका कारण बाहिरबाटै दर्शन गर्यौं । सडकभन्दा माथि भीर तल पनि भीरमै अड्एिको मन्दिर, हिजो अस्तिमात्र माथिबाट ढुंगा खसेर फूलप्रसाद बेच्नेको निधन भएको रहेछ । त्यहाँको भौगोलिक परिवेश निकै अत्याउने खालको थियो ।
देवी मलाई आशिर्वाद दिनुहोस्, लाहुरे बनुँ, फर्कंदा विशेष किसिमले तिम्रो पूजा आरधना गर्नेछु भनी फूलपाती चढाएर गएका व्यक्ति मिलिटेरी लाहुरे नै बनेर फर्केपछि त्यो ठाउँमा आउँदा कुनै वास्ताबेस्ता नगरेकाले देवीले लाहुरेलाई पहरामा टाँसेकी भन्ने किंवदन्तीसँग जोडिएको मन्दिरका रूपमा पनि यसलाई चिन्ने गरिन्छ । केही छिनको अलमलपछि हामी सन्धिखर्कतर्फ अघि बढिरहृयौं । बाटामा काफल राखेर बिक्री गर्ने दिदीबहिनी पनि प्रसस्त भेटिन थाले । ठाउँठाउँमा उनीहरूसँग काफल किनेर खाँदै, पहाडी जनजीवनका कर्म र भोगाइबारे गफ गर्दै यात्रालाई निरन्तरता दिइरहृयौं ।
आज कति श्रीमानहरू, कतिका श्रीमतीहरू मरुभूमिमा पसिना बगाउँदै छन्, सुखी परिवार र समुन्नत भविष्यको कल्पना गरेर देशविदेश लाग्नुपर्ने बाध्यता भएका परिवारका कति धेरै यस्ता कथा छन् होला हाम्रा समाजमा । सम्बन्ध, विश्वास र भरोसाहरू भत्किँदै गएपछि मान्छेको उपस्थिति पनि फिक्का हुँदोरहेछ ।
मध्याहृन १२ बजेतिर हामी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क पुग्यौं । खाना खाने समय त भइसकेको थियो तर बजारमा त सधैं खाइन्छ, गाउँतिर आटोढिँडो जे पाइन्छ, स्थानीयपनको स्वाद लिँदै गुन्द्रीमा बसेर खाउँला भन्ने त्रिपक्षीय सल्लाह अनुसार त्यहाँ हामी रोकिएनौं । गन्तव्यका लागि सहज बाटोका बारेमा सोध्यौं । जति जनालाई सोधियो, सबैबाट फरक-फरक जवाफ आयो । एउटै गन्तव्यका लागि आएको फरक-फरक सूचनाका कारण एकछिनसम्म त हामी सन्धिखर्क वरिपरि घुमेकाघुमै भयौं । त्यसपछि त्यहाँ केही बिस्कुट र फलफूलहरू किनेर अगाडि लागियो ।
घाम चढ्दै थियो र भोक पनि बढ्दै थियो । सन्धिखर्कमै खाएर हिँड्नुपर्दो रहेछ । बाटोमा हामीले चाहेजसरी खाने अवसर मिलेन । हामी प्रसिद्ध सांस्कृतिक केन्द्र मानिने अर्घाखाँचीको अर्घा दरबारको छेउ हुँदै अर्घाखाँचीकै मालारानी गाउँपालिकामा प्रवेश गरिसकेका थियौं । भण्डारा भन्ने ठाउँमा पुगी बाइक रोक्यौं र होटलको बोर्ड राखेको ठाउँमा गई खाना सोध्यौं, त्यहाँ त होटलको बोर्डमात्रैको व्यवस्था रहेछ । शोभाखर भाइले बदाम जुस किन्नुभयो र त्यही जुसले थोरै भए पनि भोक साम्य पार्यौं । पक्की बाटो छोडिसकेकाले अब हाम्रो यात्राको साक्षी धुलाम्य सडक बनेको थियो । टिमुरे हुँदै करिब १ बजेतिर हामी मालारानी गाउँपालिकाको व्यापारिक तथा प्रशासनिक क्षेत्र हंसपुर पुग्यौं । त्यहाँ पनि खानाको जोहो गर्न सकिएन ।
गोखुङ्गा भन्ने ठाउँमा पुगेपछि एकजना अवकासप्राप्त घिमिरे सरसँग परिचय भयो । उहाँले आफ्नी बुहारीले सञ्चालन गरेको एकातिर कस्मेटिक र अर्कोतिर खाजा पसल भएको ठाउँमा जान सल्लाह दिनुभयो । पसलमा पुग्यौं, त्यहाँ एउटी युवती टिकटकमा व्यस्त र मस्त थिइन् । उनले सुरुमा खाना बनाउन नसक्ने बताइन् । हामी पनि सहयोग गर्छौं भनेर निकै अनुरोध गरेपछि उनी खाना बनाउन तयार भइन् । त्यसपछि उनी टिकटक छाडेर भान्सातिर आइन् । हामीले पनि बेञ्चमा बसी लसुन, प्याज र तरकारी केलाउन लाग्यौं ।
केही बेरमा घिमिरे सर पनि आइपुग्नु भयो । जागिरबाट सेवानिवृत्त घिमिरे सरले एकाबिहानैबाट बिजुली जल चढाउने सेवा सुरु गर्नुभएको रहेछ । हामीले उहाँलाई त्यसो नगर्न सुझाव दियौं । छोरा विदेशमा पसिना बगाउने, बुहारी टिकटकमा मस्त, नाति मोबाइल गेममा । प्रविधिको गलत प्रयोग र बढ्दो मद्यपान विकृतिले हाम्रा गाउँसमाजलाई कसरी थला पार्दै लगिरहेको छ भन्ने कुराले चिन्तित तुल्यायो ।
आज कति श्रीमानहरू, कतिका श्रीमतीहरू मरुभूमिमा पसिना बगाउँदै छन्, सुखी परिवार र समुन्नत भविष्यको कल्पना गरेर देशविदेश लाग्नुपर्ने बाध्यता भएका परिवारका कति धेरै यस्ता कथा छन् होला हाम्रा समाजमा । सम्बन्ध, विश्वास र भरोसाहरू भत्किँदै गएपछि मान्छेको उपस्थिति पनि फिक्का हुँदोरहेछ । यस्तै कुराको अनुभूति गर्दै त्यहाँ बसेको करिब एक घण्टापछि खानासाना खाएर हामी पुनः लक्ष्यको बाटो लाग्यौं । पुख्र्यौली माटो टेक्ने र इतिहासप्रति मीठो स्मरण गर्ने सपना बोकेर हिँड्नुको मज्जा पनि बेग्लै हुँदोरहेछ । करिब एक घण्टाको यात्रापछि हामी अर्घाखाँचीको मालारानी गाउँपालिकालाई छोडेर प्युठानको मल्लरानी गाउँपालिकामा प्रवेश गरिसकेका थियौं ।
जोडिएका जिल्लाका जोडिएका गाउँपालिकाका नाम पनि उस्तैउस्तै जुम्ल्याहा दिदीबहिनीजस्तै लाग्यो । एउटा मालारानी अर्को मल्लरानी । यी नामहरू पक्कै इतिहासको कुनै बेलाको सभ्यता र संस्कृतिलाई चिनाउने गरी जुरे होलान् भन्ने लाग्यो । केही बेरमै हामी मल्लरानीको सोलाल्ना भन्ने गाउँमा पुग्यौं । यो ठाउँ मेरा निम्ति नितान्त नौलो र पवित्र थियो ।
मलाई यतिबेला क्षेत्रप्रताप अधिकारीको यही मीठो गीत गुनगुनाउन मन लाग्यो :
कहाँ जाने बाटै नभए
आफ्नोमीठो माटै नभए
देश छ र त गाउँहरू छन्
बास बस्ने ठाउँहरू छन् ।
हो, यो देशका सबै ठाउँहरू मेरा गाउँहरू नै हुन् तर पनि यो गाउँ, यो ठाउँ मेरा लागि अझ विशेष थियो । यो ठाउँ मेरा पूर्वजसँगको सम्बन्ध, हार्दिकता र आत्मीयता बोकेको ठाउँ भएरै विशेष थियो । सानो बेला बाआमाले सुनाएका उहँँहरूका जीवन भोगाइका कथाहरू, यस ठाउँको परिवेश र भूगोलको जीवन्त चित्रण फिलिमको रिलजस्तै गरी मानसपटलमा घुम्न थाले ।
बाटोमा भेट भएका गाउँले दाजुभाइको सल्लाहअनुसार हामीले स्थानीय स्वास्थ्यकर्मी तिलकराम जैसीलाई भेट्यौँ । उहाँले बाहिर बेञ्चमा बसेर एकजना काफल टिप्न जाँदा लडेर घाइते भएकी युवतीको टाउकामा टाँका लाउँदै हुनुहुन्थ्यो । कक्षा १० मा पढ्दै गरेकी ती नानीको आँखामाथि गहिरो चोट थियो । सानोतिनो स्वास्थ्योपचार सेवा गाउँगाउँसम्म पुग्नु सुखद् कुरा नै हो । तिलक सरको सेवा कर्मबाट हामी प्रभावित भयौं । अझै उच्च स्वास्थ्य सुविधा व्यवस्थापन गर्नसके नेपालका पहाडी क्षेत्रले झनै सुरक्षित महसुस गर्ने थिए । तिलक सरले हामीलाई उपचार अवधिभर पर्खन भन्नुभयो ।
हामी पनि उहाँको सहयोगको पर्खाइमा थियौं । बाउबाजे जन्मेहुर्केको थलो, १३ वर्षकै उमेरमा मेरी आमाले घरगृहस्थी सम्हाल्दै आँगन चुलोचौको लिपेको ठाउँजति पवित्र मेरा लागि अरू केही पनि हुन सक्दैन । त्यहाँ बसुन्जेल मैले वरिपरिको वातावरण नियालेँ । चिसो र मन्दमन्द हावा चलिरहेको थियो । घाम उदाएपछि अस्ताउने बेलासम्म पनि घामले साथ दिइरहने घमाइलो र पारिलो ठाउँ, बाटोमुनि सल्लेरी वन र निकै अफ्ठ्यारो पहाड ! सायद त्यो समयमा बाले घाँसदाउराको काम गर्नुभएन होला ! आमाले भन्नुहुन्थ्यो, वनमा डोको पनि अड्याउन नमिल्ने भीर थियो भनेर ।
केही बेरपछि तिलक सर फुर्सदिलो हुनुभयो र हामी उहाँको औषधि पसलबाट निस्कियौं । जाँदै गर्दा मेरो पैतृक थलोका बारेमा उहाँले जानेसुनेका कुराहरू बताउँदै जानुभयो । बुढापाका र जान्नेसुन्नेहरूलाई फोन गरेर पनि सूचना लिनुभयो । उहाँको सहयोग र सद्भावप्रति हामी कृतज्ञ भयौं । गफ गर्दै हामी पुख्र्यौली माटोमा पुग्यौं । त्यहाँको बाटो ढोग्दै अग्रज पुस्ताप्रति श्रद्धासुमन अर्पण गरेँ । बाआमाले गरेको पौरख र बगाएको पसिनाप्रति उच्च सम्मान चढाएँ । फेसबुकमा लाइभ गरेँ । त्यहाँ हामी पाहुनालाई स्वागत गर्न थुप्रै गाउँले दाजुभाइ, दिदीबहिनी जम्मा भइसक्नु भएको थियो ।
खोला बगेर जहाँ गए पनि त्यसले आफ्नो मुहान बिर्सेको हुँदैन । मुहानसँगको उसको नाता टुटेको हुँदैन । टुट्नु पनि हुँदैन । हो, म पनि त्यही मुहान खोज्दै पहिलो पटक यहाँसम्म आइपुगेको थिएँ । बाआमा मेरा लागि छाताजस्तै हो । उहाँहरूले जीवनका दुःख र सङ्घर्षका झरीमा रुझेर हामीलाई ओत्नुभयो । आफूहरू रंगहीन जीवन बाँचेर पनि हाम्रा जीवनमा खुसी र सुखका रंगहरू पोत्नुभयो । म एकछिनसम्म कल्पनामा हराउन पो पुगेछु । यसो सम्झिएँ, पवित्रा सुब्बाले गाएको गीत, मेरै लागि गाएजस्तै लाग्यो ।
तिमी तारे भीर म त लहरा, म त लहरा
तिमीमै म लहराउँछु, तिमी सहारा
तिम्रा आँखा आँखा मेरो खेल्ने आँगन
तिमी भित्र भित्रै मेरा जून तारा छन् ।
त्यो भीरपाखाबाट उठेको हुनाले नै आज हाम्रो जीवन लहराउन पाएको छ भन्ने आत्मचिन्तन गरेँ ।
त्यसपछि केहीबेर त्यहाँ उपस्थित सबै जनासँग भलाकुसारी गरियो । त्यो पुख्र्यौली माटोमा कक्षा १० सम्मको सरकारी विद्यालय सञ्चालन हुँदै आएको रहेछ । विद्यालय सञ्चालन भएको कुराले पनि निकै खुशी लाग्यो । यो माटो केवल मेरो पुख्र्यौली माटोमात्र थिएन, शिक्षाको उज्यालो छर्ने पवित्र माटो बनेको रहेछ । मैले यतिबेला टेकेको माटो ज्ञान, चेतना र सिर्जनशीलता बोकेको उज्यालो माटो थियो । त्यस बेला मेरा बाआमाले पढ्न लेख्न नपाए पनि त्यहाँका कलिला नानीबाबुले त्यहाँको पाखो मैदानमा पढ्न र खेल्न पाएको कुराले असाध्यै खुशी बनायो ।
मैले यतिबेला टेकेको माटो ज्ञान, चेतना र सिर्जनशीलता बोकेको उज्यालो माटो थियो । त्यसबेला मेरा बाआमाले पढ्न लेख्न नपाए पनि त्यहाँका कलिला नानीबाबुले त्यहाँको पाखो मैदानमा पढ्न र खेल्न पाएको कुराले असाध्यै खुशी बनायो ।
सायद त्यही उज्यालो कर्म बोकेको माटोका सन्तान हुन पाएकाले पो हो कि हामीले पनि शिक्षाको उज्यालो घाम पायौं । त्यस विद्यालयलाई तत्काल केही दिन नसके पनि म र मेरा मित्र खेम प्रसाईंको लेखन तथा सम्पादनमा तयार पारिएको ‘प्रवाह नेपाली’ पुस्तक त्यस विद्यालयलाई प्रदान गरेँ र हामी त्यहाँबाट बिदा भयौं ।
करिब तीन घण्टाको बसाइपछि हामी त्यहाँबाट प्युठानकै झिमरुक गाउँपालिकातर्फ लाग्यौं । आजको रात झिमरुक गाउँपालिकामा अवस्थित मामाघरमा बास बस्ने कार्यक्रम तय भएको थियो । वृद्ध उमेरका मामासँग भेटघाट गर्ने र अगाडिको यात्रा तय गर्ने उद्देश्य अनुसार हामी अगाडि बढेका थियौं । सल्लेरी वन, करिब एक घण्टा लाग्ने बाइक थाम्नै नसकिनेजस्तो ओरालो बाटो । जङ्गलको बाटो, मनभरि डर र भर साँचेर ओरालो झरिरहृयौँ । जीवनमा उकालोको यात्रा जति कष्टकर हुन्छ, ओरालो झर्न पनि कहाँ सजिलो हुन्छ र ?
साँझ पर्दै थियो । हामी बिस्तारै-बिस्तारै कच्ची बाटोमा चिप्ले किराझैँ उत्तरतर्फ लागिरहेका थियौँ । अझै दुई घण्टाको यात्रा पार नगरेसम्म गन्तव्यमा पुग्न सकिने अवस्था थिएन । त्यसैले भोक मेट्न हामी झिमरुक नदी किनारमा अवस्थित ढाँड मैदान भन्ने ठाउँमा रोकियौं र खाजा खायौं । झिमरुकको पानी जूनको उज्यालोमा टिलपिल टिलपिल टल्किरहेको थियो ।
झिमरुक नदी प्युठान जिल्लाको प्राकृतिक सौन्दर्य एवं सभ्यता हो अनि सिर्जना पनि हो । मैले मोहनविक्रम सिंहद्वारा रचित ‘झिमरुक नदी र चिबे चराको कथा’ शीर्षकको काव्य सानैमा पढ्ने अवसर पाएको थिएँ । नदीलाई मानविकीकरण गरी लेखिएको उत्कृष्ट काव्य थियो यो । केही छिनमा हामी झिमरुक नदीको निकटताबाट टाढिएर पूर्वोत्तर उकालो लाग्यौं र करिब नौ बजे मावली घरमा पुग्यौँ । मामा, दाजु, भाउज्यू, भाइ, बुहारीलगायत सबै परिवारसँग वर्षौंपछि भएको भेटघाट र गफगाफमा निकै खुशी पनि भयौं । हामी दुई दिन पहाडी काफल र आफन्त भेटघाटमा रमाउँदै त्यतै बस्यौं । त्यसपछि हामी गुल्मीतिर लाग्यौं ।
गुल्मीको मदाने गाउँपालिकाको कोप्चा भन्ने ठाउँमा सहयात्री शोभाखर भाइको ससुरालीमा पुगी खीर खाई त्यहाँबाट बिदा लिई पुर्कोट दह हुँदै बेलुका अबेर कपिलवस्तु आइपुग्यौँ । यो यात्राबाट पहाडी जनजीवनका धेरै कुराहरू बुझ्ने मौका पाइयो । पहाडी जीवन अझै सहज बन्न सकिरहेको छैन । पानी र राम्रो बाटोको अभावमा अझै नेपालको कतिपय पहाडी जीवन बाँच्नुपरेको छ । हर्हराउने आँतलाई शीतलता र आँखालाई लोभ्याइरहने सौन्दर्यमात्रै पहाड होइन रहेछ, अभाव र कष्टबीचको मझधारमा रमाएर बाँच्नु पनि पहाडी जनजीवनको विशेषता रहेछ । आज पहाड चेतनाका पखेटा लगाएर युरोप, अमेरिका मात्रै पुगेको छैन, त्यसभन्दा बढी सिंगै देशले जस्तै खाडी मुलुकसँग श्रम र पसिना साट्न विवश छ भन्ने कुराको प्रत्यक्ष अनुभूति गरियो ।







निकै राम्रो लाग्यो । गाउँको जीवन कीमोदन्ती आदि बुझ्न पाइयो ।आफ्नो गाउँको पनि अलि याद आयो । रमाइलो लाग्यो ।
सचैमा यो लेख पढ्दा आफनो जन्म थलोको याद आयो
One of the best writer and teacher
भाईको यात्रा स्मरणको प्रस्तुति हेर्दा यस्तो लाग्यो, त्यो यात्रामा म पनि सङ्गै थिएँ । शब्द प्रवाह हेर्दा तारानाथ शर्माको घनघस्याको उकालो काट्दा भन्ने निबन्ध जस्तै सरसता र कौतुहुलता दुबैको मिश्रणले नियात्रा लेखन बेजोड र सन्तुलित छ । प्रसङ्गमा आएका कतिपय कुराहरू कुराहरू सप्रशङ्ग व्याख्या गर्न मिल्ने खालका छन । गोखुङ्गाका सेवा निवृत्त शिक्षक घिमिरे र स्वास्थ्यकर्मी तिलक जैशीको सेवाभाव निकै प्रशंशनीय छ । पहाडी ग्रामीण समाजको पात्र र प्रवृतिका यथार्थपरक चित्रणले निकै भावुक बनायो । यो नियात्रा प्रकाशन गर्ने मिडिया र लेखकप्रति आभार व्यक्त गर्दछु ।