काठमाडौं । चेतनामूलक बृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन गरिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले निर्माण गरेको अंगदान र अंग प्रत्यारोपण सम्बन्धि चेतनामूलक वृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन गरिएको हो । काठमाडौंमा एक समारोहबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सो वृतचित्र प्रदर्शन गरिएको हो । १५ मिनेट लामो उक्त वृत चित्रको निर्देशन सराना श्रेष्ठले गर्नुभएको हो । समारोहमा प्रमुख अतिथि मन्त्री बस्नेतले स्वस्थ्य समाज निर्माणका लागि उपचारात्मक सेवाले मात्र सम्भव नहुने भएकाले रोग लाग्नै नदिन यस किसिमका जनचेतना जगाउने वृत चित्रहरूले पनि ठूलो भूमिका खेल्ने बताउनुभयो ।
उहाँले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपणको क्षेत्रमा उल्लेखनिय काम गरिरहेको स्मरण गर्दै यसको सेवा देशभरी बिस्तार गर्न र तत्काल बिरामीको चापको आधारमा डाइलासिस मेसिनको संख्या थप्न मन्त्रालयले पहल गर्ने जानकारी गराउनुभयो । स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले नरम भएरमात्र नहुने अवस्था आएको बताउदै काम नगर्ने र खटाएको ठाउँमा नजाने चिकित्सक र स्वास्थ्यकर्मीलाई कडा कारबाही गर्न पनि आफू पछि नपर्ने मन्त्री बस्नेतले बताउनुभयो ।
आफूले दुई महिनाको छोटो समयमा विपन्नका लागि ३५ सय शैय्या निःशुल्क गरेको, सबै अस्पतालका १० प्रतिशत शय्या विपन्नका लागि निःशुल्क गरेको, वीरमा ओपिडी बिहान ८ बजेदेखि सुरु गरेको लगायत काम गरेको बताउँदै सबैको सहयोग भए दुई वर्षभित्र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरेर देखाउने बताउनुभयो ।
वृतचित्र निर्माणको आवश्यकतामाथि प्रकाश पार्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्युपछिको अंगदानबारे भ्रम हटाउन, अंगदानका बारेमा उत्प्रेरणा जगाउन विभिन्न माध्यमको प्रयोग गर्ने क्रममा वृत्तचित्रसमेत बनाइएको बताउनुभयो । उहाँले बृत्तचित्रले अंग फेल हुने अवस्था, अंगदानको महत्वको बारेमा सरल ढंगबाट आमसर्वसाधारणलाई बुझाउन सहज हुने बताउनुभयो ।
वृत्तचित्रमा नेपालमा अंगफेल हुने अवस्था के छ ? मस्तिष्क मृत्युपछिको अंगदान र प्रत्यारोपणको अवस्था, मस्तिष्क मृत्युपछि पाएको अंगबाट प्रत्यारोपण गरेका र पर्खाइमा रहेका व्यक्तिसँगको अन्तरसम्वादमार्फत आमजनमानसमा मस्तिष्क मृत्युपछिको अंगदान र अंग प्रत्यारोपणबारे बुझाउने कोसिस गरिएको छ ।
बृत्तचित्रका निर्देशक सराना श्रेष्ठले मस्तिष्क मृत्युपछिको अंगदान कार्यमा अपेक्षाकृत मानिसको सहभागिता नबढी रहेको र यसको एउटा मुख्य कारण जचनेतनाको अभाव हुनु हो भन्दै त्यसलाई चिर्नका लागि वृत्तचित्र सहयोगी हुने विश्वास व्यक्त गगर्नुभयो । कार्यक्रममा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि अंगदानका विषयमा चर्चा गर्नुभएको थियो ।
मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले मस्तिष्क मृत्युपछिको अंगदानसम्बन्धी कार्यलाई अभियानको रूपमा देशव्यापी रूपमा फैलाउनुपर्ने भन्दै यसका लागि मन्त्रालयले आवश्यक कार्य गर्ने बताउनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले आठ वर्ष लगाएर मस्तिष्क मृत्युपछिको अंगदानसम्बन्धी नीति बनाएको भन्दै त्यसको कार्यान्वयन आजको आवश्यकता भएको बताउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts