काठमाडौं । सोलुखुम्बुको भकान्जे गाविस सगरडाँडामा जन्मिनुुभएका विष्णु खड्का पछिल्लो समयका व्यस्त भिडियो सम्पादक हुनुहुन्छ । डेढ दशकदेखि भिडियो सम्पादनमा सक्रिय विष्णु हालसम्म एक हजार बढी भिडियोको सम्पादन र कलर ग्रेडिङ गरिसकेको बताउनुहुन्छ ।
उहाँले ‘जेल पनि सहुँला’, ‘रुमालै चिनो’ ‘धोई धोई’, ‘पानीको फोका जस्तै २’, ‘तिमी आउन सक्छौ’,‘ शिरफूल’ जस्ता गीतका भिडियोमा कुशल सम्पादन गर्नुभएको छ । विष्णुले तीनवटा नेपाली चलचित्रमा पनि सम्पादनको काम गर्नुभएको छ ।
कुनै समय विष्णु भिडियो छायांकन र अभिनयमा पनि सक्रिय हुनुहुन्थ्यो । तर, उहाँले करियर सम्पादनमै बनाउने निर्णय लिनुभयो । उहाँले आफ्नो शरीरका कारण यो निर्णय लिनुभएको हो । ‘शरीरले छायांकन र अभिनयमा साथ दिएन । मलाई कम्प्युटरमा काम गर्न रुचि थियो, त्यही कारण सम्पादनतिर लागेँ,’ विष्णु भन्नुहुन्छ ।
विष्णुले एरिना मल्टी मिडिया एकेडेमीबाट डिजिटल फिल्म मेकिङमा डिप्लोमा सकेपछि सम्पादनतर्फ आफ्नो यात्रा तय गर्नुभएको हो । उहाँले हालसम्म पहिलो र तेस्रो ज्योति फिल्मस् म्युजिक अवार्डमा ‘बेस्ट भिडियो सम्पादक अवार्ड’, विराट फिल्मस् म्युजिक अवार्डमा ‘बेस्ट भिडियो सम्पादक अवार्ड’, दोस्रो ओएस नेपाल म्युजिक अवार्डमा पनि ‘बेस्ट भिडियो सम्पादक अवार्ड’, हिमालयन इन्टरनेशनल म्युजिक अवार्डमा ‘बेस्ट भिडियो सम्पादक अवार्ड’, बक्स अफिस म्युजिक अवार्डमा पनि ‘बेस्ट भिडियो सम्पादक म्युजिक अवार्ड’, एएमएस नेशनल अनर एण्ड अवार्ड २०७९, बोस्टर म्युजिक अवार्ड कलाकार सम्मान, ब्लक बस्टर नेपाली फिल्म अवार्ड २०७७ सम्मान, सन्ध्या फाउण्डेसन फापरे फिल्मस् सम्मानलगायतका सम्मान र अवार्ड प्राप्त गर्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता