स्थानीय जातका भैसी संरक्षणमा जुटे किसान

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका-९ रिस्मी गाउँका थोमलाल सापकोटाको घरमा स्थानीय जातको दुई वटा भैसी छन् । सापकोटाले एउटा भैसीको दूध घरमै खपत गरेपनि अर्को भैसीको दूध सहकारीमा विक्रि गर्नुहुन्छ । सापकोटा जस्ता ३७ किसानको दूध सहकारीले संकलन गरेर बजारीकरण गर्दै आएको छ । सापकोटाले दूधको सहकारीले बजारीकरण गर्दा सहज भएको बताउनुहुन्छ । उक्त गाउँमा आयातिक जातका भैसी नगन्य मात्रमा रहेकाले स्थानीय जातका भैसी पालनमा किसानको जोड छ ।

रिस्मी गाउँमा २०७४ सालमा स्थापना गरिएको गलकोट कृषि सहकारीले किसानको दूध दैनिक संकलन गरेर बजारीकरणको काम गर्दै आएको छ । सहकारीले दूधको बजारीकरण मात्रै गरेको छैन किसानलाई स्थानीय जातको भैसी संरक्षणको अभियान समेत चलाइएको गलकोट कृषि सहकारीका अध्यक्ष पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो ।

“दैनिक ४७ शेयर सदस्य किसानको दूध गलकोट बजारमा पठाइदै आइएको छ, दैनिक १५० लिटर देखि ३०० लिटर सम्म दूध बजारीकरण सहकारी मार्फत हुन्छ” सापकोटाले भन्नुभयो “रिस्मी गाउँमा स्थानी जातका भैसीलाई प्रोत्सान गरिएको छ, यहाँ स्थानीय जातका लिमी र पाराकोटे भैसी मात्र पालिन्छ, स्थानीय जातको भैसीबाट कम दुध उत्पादन भएपनि ब्राण्ड बनाएर महङ्गोमा विक्रि गर्ने सहकारीको लक्ष्य छ ।”
सापकोटाले स्थानीय जातको भैसी संरक्षण संगै स्थानीय जातको भैसीबाट उत्पादित दूधको ब्राण्डीङ गर्ने लक्ष्य अनुसार यसै वर्ष चिस्यान केन्द्र निर्माण गरिएको छ भने गोठ सुधार कार्यक्रम समेत सम्पन्न गरिएको जानकारी दिनुभयो ।

गलकोट नगरपालिकाको रु. नौ लाख र गलकोट कृषि सहकारीको रु. ३ लाख ८६ हजार गरी रु. १२ लाख ८६ हजारमा दूध संकलन केन्द्र तथा चिस्यान घर निर्माण समेत गरिएको गलकोट नगरपालिकाका कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीले रिस्मी गाउँमा स्थानीय जातको भैसीबाट दूध उत्पादन हुनेभएकाले उक्त दूधलाई ब्राण्ड बनाउन सके केही महङ्गोमा विक्रि गर्न सकिने भएकाले पालिकाले किसानलाई स्थानीय जातका भैसी पाल्नका लागि प्रोत्साहन स्परुप चिस्यान केन्द्र निर्माण गरिदिएको बताउनुभयो ।

ADVERTISEMENT

पछिल्लो समय आयातित भैसीका जातहरु भित्रिदा लिमि र पाराकोटे स्थानीय जातको भैसी लोप हुने खतरा बढेको भन्दै रिस्मी गाउँमा स्थानीय जातका भैसीबाट व्यवसायीक रुपमा दूध उत्पादन भइरहेकाले किसानहरुलाई प्रोत्साहन गरिएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले बताउनुभयो । उहाँले आयातित जातका भैसी भन्दा स्थानीय जातका भैसीमा रोगको संक्रमण समेत कम हुने बताउदै स्थानीय जातका भैसीलाई समेत संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

“स्थानीय जातबाट उत्पादित दूधको गुणस्तर बढी समेत हुन्छ, दूधलाई प्याकेजिङ गरेर विक्रि गर्दा बजारभाउ भन्दा केही महङ्गोमा विक्रि समेत गर्न सकिन्छ” सापकोटाले भन्नुभयो “स्थानीय जातको भैसी संरक्षणका लागि भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले ३० किसानको गोठ सुधारका लागि आर्थिक वर्ष २०७९/८० मा रु. ८ लाख अनुदान प्रदान गरिएको हो, स्थानीय जातको भैसीको विषयमा अध्ययन तथा अनुसन्धान गर्न समेत रिस्मी गाउँलाई उदारणका लागि लिन सक्ने बनाउने हाम्रो लक्ष्य हो ।”

गत वर्षको रिस्मी गाउँका ४७ किसानको दूध संकलन र बजारीकरणबाट सहकारी मार्फत रु.३७ लाखको दूध विक्रि भएको गलकोट कृषि सहकारीले जनाएको छ । रिस्मी गाउँका २५ किसानले दुई वटा भैसी पाल्दै आएका छन् भने अन्यले एउटाका दरले भैसी पाल्दै आएका छन् । गण्डकी प्रदेशमा लिमी र पाराकोटे स्थानीय जातको भैसी पाइने भएपनि आयातित मुर्रा लगायका भैसीका जातहरु भित्रिदा स्थानीय जातको भैसी लोप हुने अवस्था आएको छ ।

स्थानीय जातका भैसीलाई संरक्षण गर्न आवश्यक रहेकाले भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले रिस्मी गाउँलाई स्थानीय जातको भैसी संरक्षण गरिएको गाउँका रुपमा लिएर किसानलाई वर्षेनी प्रोत्साहनका कार्यक्रम ल्याउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *