सुदूरपश्चिम अछाम जिल्लाको ढकारी गाउपालिका-२ मा बुबा अमर खत्री र आमा इन्द्रा खत्रीको कोखबाट जन्मिनुभएकी भएकी निरुता खत्री यतिबेला काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन दर्शक श्रोतामाझ पस्किरहनु भएको छ । बाल्यकालदेखि नै गीतसंगीत भनेपछि हुरुक्कै हुने उहाँ पछि यही क्षेत्रलाई व्यावसायिक रूपमा अंगाल्न पुग्नुभयो । सानैदेखि गीत गुन्गुनाउने उहाँ स्कुलमा हुने विभिन्न कार्यक्रम तथा मेला महोत्सवमा गीत गाउन पुग्नुहुन्थ्यो, त्यहाँ पाएको सबैको वाहीवाहीले यसक्षेत्रतर्फ धकेलिनुभयो । उहाँले २०७२ मा ‘माया सल्यान म बस्ने अछाम मा’ औपचारिक रूपमा गीत गाएर यो क्षेत्रमा होमिनु भएको थियो । खत्रीले हालसम्म २५० जति गीतमा स्वर दिएको बताउनुहुन्छ । भलिबल र एथेलेटिक्सकी खेलाडीसमेत रहनुभएको उहाँको अन्तरमनमा भने गीतसंगीतबाहेक अरू केही थिएन र यही क्षेत्रमा आफूलाई पूर्णरूपमा संलग्न गराउनुभयो । रेडियो आरजेका रूपमा समेत केही समय काम गर्नुभएकी उहाँ गीतसंगीतमा पूर्णरूपमा लाग्न रेडियो नै आफ्नो प्रेरणको स्रोत भएको बताउनुहुन्छ । रेडियोमा उहाँको स्वरको तारिफ हुनेगथ्र्यो त्यसले पनि गीतसंगीतमा लाग्न उहाँलाई प्रेरित ग¥यो । गीतसंगीत प्रस्तुतका लागि भारतका मुम्बईं, दिल्ली, पञ्जाव, हरियाणालगायत शहर नेपालका विभिन्न महोत्सवमा पुग्नुभएकी उहाँ कतारमा पनि २०१९ मा स्टेज प्रोग्रामका लागि जानुभएको थियो । गायनमार्फत आफ्नो जन्म भूमिलाई पहिचान दिलाउँदै समाजमा केही उल्लेखनीय कार्य गरौं भन्ने लाग्छ भन्नु हुने गायिका निरुता खत्रीसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अशंः-
यो क्षेत्रमा कसरी आउनुभयो ?
म सानैदेखि नै गीत गाउँथे । म हर समय गुन्गुनाइ रहन्थे । पछि विस्तारै यही क्षेत्रमा धकेलिँदै गए ।
यहाँ खेदकुदमा पनि सक्रिय हुनुहुन्थ्यो होइन ?
हो, म भलिबलको र एथलेटिक खेलाडीका रूपमा क्षेत्रीयस्तरको खेलाडी थिए । पछि राष्ट्रियस्तरमा आउथे होला तर मैले खेलकुदभन्दा गीत संगीतलाई नै प्राथमिकता दिए र पूर्णकालीन रूपमा यतै होमिए । म खेलकुदमा पनि अब्बल थिए, विभिन्न प्रतियोगितमा भागलिएर पुरस्कार पनि जितेकी छु ।
आरजेका रूपमा पनि यहाँको चर्चा-परिचर्चा रहृयो ?
रेडियो सोसाइटीबाट मैले रेडियो आरेजेका रूपमा आफूलाई प्रस्तुत गरे । धेरैले मन पराउनुभयो । मैले त्यहाँ धेरै कार्यक्रम चलाउँथे । पछि रेडियो डोटीमा पनि मैले कार्यक्रम चलाए । रेडियो कार्यक्रमहरू पनि मेरो गीतसंगीतका प्रेरणाका स्रोत हुन् ।
म अछामको क्षेत्र नं.२ को गीतसंगीतमा औपचारिक रूपमा लाग्ने सायद पहिलो गायिका हुँ । एउटा राम्रो कलाकार भएर आफ्नो जन्म भूमिलाई पहिचान दिलाउँदै समाजमा केही उल्लेखनीय कार्य गरौं भन्ने जहिले रहन्छ म मा । आफ्नो कला संस्कृतिको उजागर गर्दै यसको संरक्षण र सम्बद्र्धनमा सधैं आफूलाई लगाइरहन चाहन्छु ।
पहिलो गीत कसरी रेकर्ड भयो केही सम्झना छ ?
त्यतिबेला म रेडियोमा काम गर्थे । रेडियोमा काम गर्ने भए पनि गीत चाहिँ गाइरहेकी हुन्थे । तर, औपचारिक रूपमा आफ्नै गीत श्रोतामाझ ल्याएकी थिइन । एक दिन मेरो मोबाइलमा अचानक अपरिचित नम्बरबाट फोन आयो । मेरो जिन्दगीको सांगीतिक यात्राको पहिलो पाइला त्यही थियो । त्यो फोन डण्डिराज जोशी ज्यूको थियो । ‘माया सल्यान म बस्ने अछाम मा’ मेरो पहिलो गीत थियो यो गीतको शब्द डण्डिराज जोशीको थियो भने लय अनि स्वरमा टंक तिमिल्सिनाले साथ दिनुभएको थियो । पहिलो गीत बजारमा आएपछि सबैतिरबाट तारिफ आयो ।
काठमाडौंमा कहिलेदेखि बस्न थाल्नुभयो ?
गीत रेकर्ड गर्न काठमाडौं आउने अनि जाने चलिरहेको थियो । एउटा तीज गीतको रेकर्ड गर्न भनेर रेडियो डोटीबाट केही समयको बिदा लगेर काठमाडौं आए । काठमाडौं आएपछि एकपछि अर्को गरेर एक दर्जन गीतमा स्वर दिने अवसर जुट्यो र मैले यतै बस्ने सोंच बनाए । फेरि मेरो कान्छो भाइ यही बसेर अध्यन गरिरहेका थिए, मलाई बस्नका लागि समस्या थिएन ।
यहाँका हालसम्म कतिजति गीत श्रोता/दर्शकमाझ आएका छन् ?
मैले २५० जति गीतमा स्वर दिएकी छु ।
कस्ता गीत गाउनुभएको धेरै ?
मैले सबै प्रकारका गीत गएकी छु । सबै गीतमा उत्तिकै न्याय गर्न सक्छु भन्ने लाग्छ । फेरि पनि मलाई देउडा गायिकाका रूपमा परिचय बनेको छ । मैले गाएका गीतमा धेरै देउडा गीत नै रहेका छन् ।
केही गीतहरूको नाम लिनुपर्दा ?
‘चुल्ठीमा रिवनको डोरी, जिन्स पाइन्ट लाउदी, अछाम डौठेगडा, अछाम राम्रो मंगलसेन, मेरी राई झुमा, खीर खाउँला साहु खर्क, आखैमा रोखेनी, हे मेरी प्यारी, उडिगइ डालिका मैना, मेरा जन्म्या देश, बसे प्यारी जान्छु मुम्बई, बिन्दास केटा चाहिन्छ, कहाँ छै मेरी रङी सुवा, सबैले रुवाउने मलाई मात्रै हो, यसरी नै जुनी भरी सधैं हासौला’ लगायत थुप्रै रहेका छन् ।
यहाँले यो क्षेत्रमा धेरै मान, सम्मान र पुरस्कार पनि प्राप्त गर्नुभएको छ होइन ?
म कहिल्यै मान सम्मान र पुरस्कार एवं अवार्डका लागि आफ्ना सिर्जना प्रस्तुत गरिन । फेरि पनि गाउँदै जाँदा विभिन्न मान सम्मान, पुरस्कार र अवार्ड प्राप्त भएका छन् । केहीको नाम लिनुपर्दा एपेक म्युजिक अवार्ड, रारा म्युजिक अवार्ड, जीवन्त म्युजिक अवार्ड, विशाल लुम्बिनी म्युजिक लोकदोहोरी अवार्डलगायत प्राप्त भएका छन् । यस्तै नागरिक सम्मान, तिलक सम्मान पनि रहेका छन् भने हिमालयन इन्टरनेशनल अवार्डको जुरी सम्मान प्राप्त भएको छ ।
स्टेज कार्यक्रमका लागि यहाँ विभिन्न ठाउँमा पुग्नुभएको छ होइन ?
हो, म आफ्नै देशका विभिन्न ठाउँमा हुने महोत्सवदेखि लिएर भारतको मुम्बई, दिल्ली, पञ्जाव, हरियाणालगायत शहरमा पुगेकी छु । म भारतमा धेरै ठाउँमा आफ्ना प्रस्तुति दिन पुगेकी छु । यस्तै सन् २०१९ मा कतारमा स्टेज प्रोग्रामका लागि गएकी थिए ।
अन्त्यमा,
सायद म अछामको क्षेत्र नं.२ को गीतसंगीतमा औपचारिक रूपमा लाग्ने पहिलो गायिका हुँ । एउटा राम्रो कलाकार भएर आफ्नो जन्म भूमिलाई पहिचान दिलाउँदै समाजमा केही उल्लेखनीय कार्य गरौं भन्ने जहिले रहन्छ म मा । आफ्नो कला संस्कृतिको उजागर गर्दै यसको संरक्षण र सम्बद्र्धनमा सधैं आफूलाई लगाइरहन पाउँ यही कामना गर्दछु ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts