सधैँ ताजा र नयाँ लाग्ने कालजयी गीत गाउन मन लाग्छ : जुनु रिजाल

Read Time = 17 mins

नेपाली गायनमा एउटा सशक्त नारी हस्ताक्षर हुनुहुन्छ गायिका जुनु रिजाल । कक्षा आठमा पढ्दै गर्दा नै यो क्षेत्रमा होमिनुभएकी उहाँका थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय रहेका छन् । स्वर संगम संगीतालयमा शास्त्रीय संगीतको अध्ययन गर्नुभएकी उहाँले दुई दशकअघि ‘बाँच्न चाहने जिन्दगी’ बोलको गीत औपचारिकरूपमा रेकर्ड गराएर यो क्षेत्रमा आधिकारिकरूपमा आफूलाई होम्नुभएको थियो । त्यसपछि उहाँले पछाडि फर्केर हेर्नुपरेको छैन । विभिन्न विधाका गीत गायनबाट लगातार नेपाली सांगीतिक क्षेत्रमा उहाँले श्रोता/दर्शकको मनमष्तिस्कमा आफ्नो छाप छोड्न सफल हुनुभएको छ । लोक, आधुनिक, फिल्मी, तीज गीत, लोकपप, देशप्रेमजस्ता हरेक विधाका गीत गाएर श्रोता÷दर्शकको मन जित्दै आउनुभएकी जुनुका ‘फूल मञ्जरी’, ‘फूल टिप्ने’, ‘कसले सुरुवात गर्‍यो’, ‘ड्राइभर दाइ’, ‘झिम्काइदेऊ परेली’, ‘आज गाउँमा’, ‘सपनामा आयो परदेशी’, ‘मलाई माया गर’, ‘तिम्रै झल्को’, ‘लुकी लुकी’, ‘छम्म छम्म’, ‘डाँफेझैँ नाच्ने नेपालकी छोरी’, ‘न दोष तिम्रो न दोष मेरो’ ‘यो जिन्दगीमा तिम्रै नशा छ’, ‘आई लभ यु’, ‘तिमी गीत हौ कि’, ‘पूर्वै चल्ने रेल’, ‘घन घन मादल’लगायत दर्जनौँ गीतबाट लोकप्रियताको शिखर चुम्न सफल हुनुभएको छ । उहाँको एकल र संयुक्त सांगीतिक एल्बम गरी ५० बढी एल्बम बजारमा आइसकेका छन् । प्रस्तोता समाज नेपालको कोषाध्यक्ष, अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाको उपाध्यक्ष, भीम विराग साहित्य प्रतिष्ठानको मानार्थ सदस्य, भैरव नृत्य दलको संस्थापक सदस्य रहनुभएकी उहाँ सांगीतिक प्रस्तुतिका क्रममा भारत र नेपालका विभिन्न स्थानका साथै साउदी अरब, कतार, इजरायल, अष्ट्रेलिया, युरोप, हङकङ, युकेको भ्रमण गर्नुभएको छ । गायन यात्राका क्रममा विन्ध्यवासिनी म्युजिक अवार्ड, एक्टिभ म्युजिक अवार्ड, जय प्राप्ति म्युजिक अवार्ड, काव्य म्युजिक अवार्ड, तीज म्युजिक अवार्डजस्ता अवार्डलाई आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ । ‘चर्खा’, ‘दालभात तरकारी’जस्ता चलचित्रमा अभिनय गर्नुभएकी उहाँ कुशल कार्यक्रम सञ्चालिका पनि हुनुहुन्छ । सबै प्रकारका गीत गाए पनि सधैँ ताजा र नयाँ लाग्ने कालजयी गीत गाउन मन लाग्ने गायिका जुनु रिजालसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

गायनमा कहिलेदेखि हुनुहुन्छ, कसरी आउनुभयो यो क्षेत्रमा ?
सानैदेखि नाच्न-गाउन सौखिन थिएँ, विस्तारै साथीहरूको गाइदेऊ न भन्ने डिमाण्ड आउन थाल्यो अनि आठ कक्षा पढ्दा राजनारायण सरले स्टेज शोहरू गर्नुहुन्थ्यो, उहाँको टिममा डान्सर र गायिका दुवै गर्दै गर्दा पछि आधिकारिक संगीत (शास्त्रीय) सिक्न थालेँ, सुरुवात यसरी भएको थियो ।

गीत संगीत के हो, जुनु रिजाल को हो ?
गीत संगीतको साधकका लागि साधना, श्रोताका लागि आनन्द । मेरो आफ्नोबारे भन्नुपर्दा ईश्वरको अनुपम उपहार जसको कारण म निखारिएँ, खारिएँ अनगिन्ती शुभचिन्तक, साथी, आफन्त कमाएँ पनि, देशविदेश यात्रा गर्न पाएँ । सम्माननीय, माननीयको नजरमा परँे । यो सब सम्भव गीत संगीतले नै भयो ।

थुप्रै कालजयी गीत यहाँको स्वरमा सजिएका छन्, यहाँलाई जुनु रिजाल भनेर कुन गीतले चिनायो अर्थात् यहाँको करिअरको ‘ट्रनिङ प्वाइन्ट’ कुन गीतलाई लिनुहुन्छ ?
‘फूल मञ्जरी’ लक्ष्मण काफ्लेको शब्द, रामचन्द्र काफ्लेको संगीत रहेको गीतबाट म विशेषरूपमा चिनिएकी थिएँ । मेरो आफ्नै मोडलिङ पनि थियो । खुब मन पराइदिनुभयो सबैले ।

१२ वर्षपछाडि ‘न दोष तिम्रो’ गीतले चर्चा पाउँदा कस्तो अनुभव भयो ?
खुसी लाग्छ, आफ्नो आवाज रहेको, अझ जसले विश्वास गरेर मलाई छान्नुभयो । विशेष उहाँहरूका लागि छनोट सही भएछ है भन्ने विश्वास दिलाउन ढिलै भए पनि सकियो कि जस्तो लाग्छ । यसमा धिरज त्रिवेणी गजलकार, शिशिर साधक संगीतकार हुनुहुन्छ ।

गीतमा अन्तर्मनका पीडालाई भावको उच्चतम गहिराइबाट कलात्मक ढंगले यहाँले प्रस्तुत गर्नुभएका कारण नै यहाँका गीतलाई सर्वाधिक रुचाएको पाइन्छ । यहाँले गीत रेकर्ड गर्नुअघि केलाई प्राथमिकता दिनुहुन्छ ?
कुनै शब्दप्रधान हुन्छन् अर्थात् संगीतभन्दा शब्द बलियो हुन्छ र मनपर्छ । कुनै संगीतप्रधान हुन्छ । कुनै दुवै अब्बल हुन्छन् । अनि कुनै आर्थिकरूपमा पनि बलिया हुन्छन् हा हा हा । ममात्र होइन प्रायः सबैको कहानी यस्तै होला, यो सबै मिलाएर गाइन्छ ।

नेपाली गीत संगीतको भोलिका दिन कस्तो देख्नुहुन्छ ?
भोलिको दिन उज्ज्वल देख्छु तर देशले संरक्षण गर्न सक्यो भने, यो बिग्रँदो देशको हालतले धेरैलाई विदेशको बाटो देखाइराखेको छ, त्यसमा कलाकार पनि पर्छन् ।

म सबै विधाको गीत गायनमा ‘इन्जोय’ गर्छु । तर, विशेषगरी आधुनिक गीत गाउँदाचाहिँ साह्रै नै इन्जोय फिल हुन्छ । अलिकति भाव बोकेको गहन शब्द, मिठास भएको मेलोडियस संगीत र गाउन घाँटी सुहाउँदो गीत होस्, त्यस्तो गीत गाउनुको मज्जा नै बेग्लै हुन्छ । उत्ताउलोपनको गीत गाउन मन लाग्दैन । पछिसम्म सुन्दा पनि पुरानो नलाग्ने, सधैँ ताजा र नयाँ लाग्ने कालजयी गीत गाउन मन लाग्छ ।

अहिलेसम्म यहाँले पाउनुभएको मानसम्मान, अवार्ड ?
मानसम्मान हरेक कार्यक्रमहरूमा पाइन्छ तर विशेष सम्मानको मात्र कुरा गर्दा २०७० मा सिटी बचत सहकारी संस्था लिमिटेड विराटनगर, २०७६ मा रस्मिलाज फेसियल हाउस एण्ड ब्युटिपार्लर, शिला नारी संगीत पुरस्कार नगद ५१ हजार रुपैयाँसहित भिमविराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल २०६९, मोरङ सुनसरी सेवा समाज कतार सन् २००१, ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारी संस्था २०७२, नागरिक समाज सम्मान २०७९, राष्ट्रिय संगीतकर्मी संघ स्रष्टा सम्मान २०७० लगायत रहेका छन् । यस्तै, अवार्डमा विन्ध्यवासिनी २०६७, ७२, ७७, ८०, ज्योति फिल्म अवार्ड ७९, इमेज अवार्ड २०७४, तीज अवार्ड २०७९ लगायत रहेका छन् ।

यहाँ विभिन्न संस्थामा रहेर पनि सामाजिक कार्य गर्दै आउनुभएको छ नि ?
हो, म केही संस्थामा रहेर कार्यसम्पादन गर्दै आएकी छु । भैरव डान्स एण्ड आर्ट्स एकेडेमीको संस्थापक सदस्य, प्रस्तोता समाज नेपालको कोषाध्यक्ष (दोस्रो कार्यकाल), अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपालको उपाध्यक्ष, भीमविराग संगीत साहित्य कला प्रतिष्ठानको सल्लाहकारलगायत संस्थामा रहेकी छु ।

अहिलेसम्म यहाँको स्वरमा कतिजति गीत श्रोता/दर्शकमाझ आएका होलान् ? केहीको नाम लिनुपर्दा ?
थुप्रै गाइयो, गाइँदै छ, आउनेक्रममा छन् । श्रोता/दर्शकमाझ आएकामध्ये ‘फूल मञ्जरी’, ‘फूल टिप्ने’, ‘कसले सुरुवात ग¥यो’, ‘ड्राइभर दाइ’, ‘झिम्काइदेऊ परेली’, ‘आज गाउँमा’, ‘सपनामा आयो परदेशी’, ‘मलाई माया गर’, ‘तिम्रै झल्को’, ‘लुकी लुकी’, ‘छम्म छम्म’, ‘डाँफेझैँ नाच्ने नेपालकी छोरी’, ‘न दोष तिम्रो न दोष मेरो’ ‘यो जिन्दगीमा तिम्रै नशा छ’, ‘आई लभ यु’, ‘तिमी गीत हौ कि’, ‘पूर्वै चल्ने रेल’, ‘घन घन मादल’लगायत थुप्रै छन् ।

ADVERTISEMENT

केही गीत सर्जकले अति राम्रो भएको/गरेको भनिरहँदा पनि श्रोताले खासै मन नपराएको र केही गीत सामान्य भए पनि अत्यधिक श्रोताको रोजाइमा पर्ने गरेको पाइन्छ नि, यसको कारण के हो जस्तो लाग्छ ?
सर्जकले गीतको सुरताल बुझेको हुन्छ । एरेन्ज शब्द संगीत सर्जकको दृष्टिले, सर्जकको कानले परिपक्व नहुन्जेल उत्कृष्ट मानिहाल्दैनन् । तर, श्रोताले त्यो गहिराइ बुझ्दैनन् अर्थात् बुझ्ने श्रोता कम हुनुहुन्छ । कसैलाई शब्दले, कसैलाई बिटले, कसैलाई गायक-गायिकाको हाउभाउले मात्र पनि प्रभाव पारिदिन्छ । कोही फ्यान हुन्छ्न जस्तो गीत आए पनि मन परेको सिंगरले गाएको भए पुग्ने हुन्छ ।

राम्रा गीतभन्दा ‘झुर’ले बजार तताइरहँदा कस्तो अनुभूति हुन्छ ?
सिर्जना आफैंमा ‘झुर’ हुँदैन जस्तो लाग्छ । त्यसको प्रेजेन्टेसनचाहिँ अलिक हल्कारूपले दिइन्छ । त्यो ‘झुर’ तपाईंले भने जस्तोले बजार तताउँदा के लाग्छ र, ‘भाग्यमा नै श्री लेखेपछि’ भन्ने गीत याद आउँछ ।

पछिल्लो समय नेपालीपनका गीत कम आउन थाले भन्ने गरेको पाइन्छ नि, के यस्तै हो र ?
सबै नेपालीपनकै आइराखेका छन् । झन् बढी आएको देख्छु । फिल्मदेखि आधुनिक सबैले लोकलाई नै बेस बनाएर निकालिरहेका छन् । त्यस्तो होइन ।

यहाँको स्वरमा एकखालको जादु छ भन्ने गरिन्छ, यहाँले आफैंले आफैंलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
मेरो आवाजमा जादु छ भन्नुहुने सबैमा नमन, आफू के भनौँ । आफ्नो मूल्यांकन अरूले गरिदिएको राम्रो । ताली–गाली शिरोपर ।

नेपाली गीत संगीतमा हिजोका दिन र आजका दिनलाई कसरी तुलना गर्नुहुन्छ ?
हिजो र आजमा, हिजो प्रविधिको विकास भएको थिएन । सीमित स्रोतसाधन थियो । कलाकार सीमित थिए । कमाउने माध्यम पनि सीमित थियो । मानसम्मान चाहिँ बढी थियो । अहिले विभिन्न प्रविधि आए । इनकमको स्रोत बढ्यो । कुनाकाप्चाका कलाकारले पनि स्थान पाएका छन् ।

नेपाली गीत संगीतको भोलिका दिन कस्तो देख्नुहुन्छ ?
भोलिको दिन उज्ज्वल देख्छु तर देशले संरक्षण गर्न सक्यो भने, यो बिग्रँदो देशको हालतले धेरैलाई विदेशको बाटो देखाइरहेको छ । त्यसमा पनि कलाकार धेरै पर्छन् ।

गीत संगीतका विभिन्न गुट उपगुटलाई कसरी लिनुहुन्छ ?
गुट उपगुटले राम्रा कलाकार पनि मजैले साइड लगाउने चलन रहेछ त्यो चाहिँँ हो । तर, अरूको आश नगर्नु भन्ने सिद्धान्त लिनुपर्छ ।

नेपाली गीत संगीतको श्रीवृद्धिका लागि के-कस्ता पहल हुन आवश्यक देख्नुहुन्छ अर्थात् यसका लागि यहाँको सुझाव के छ ?
सर्वप्रथम कलाकारको रोयल्टी सुनिश्चित हुनुपर्‍यो । राज्यले संरक्षण दिनुपर्छ । कलाकारले विभिन्न तनावमा काम गर्न सक्दैन । सर्जक सिर्जनामा तल्लीन हुन आर्थिक सामाजिक भार कम हुनुपर्छ । बल्ल गहन सिर्जना निस्किन्छ । यहाँ त गाँस, बास र कपासकै लागि संघर्ष छ ।

यो क्षेत्रमा लागेर के पाए जस्तो लाग्छ ?
पहिलो कुरा आफूले चाहेको विधामा अघि बढ्दा अपार आत्मसन्तुष्टि मिल्यो । सँगसँगै दर्शक श्रोताको माया पाइयो । आफूसँग कला भएपछि कहीँ पनि अपरिचित भइँदैन रहेछ । मान्यगण्य व्यक्तिले पनि त्यहीअनुसार लिनुहुन्छ । संगीतमा लागेकै कारण देशविदेश घुम्न पाइयो, निडर र स्वावलम्बी भइयो । पहिले म मानिसको अगाडि बोल्न सक्दिन थिएँ । अहिले आत्मविश्वासका साथ बोल्न सक्छु । अर्को मुख्य कुरा आर्थिकरूपमा पनि सबल भइयो । यो सबै गीत संगीतको देन हो ।

कुन विधाको गीत गाउँदा अलिक बढी ‘इन्जोय’ गर्नुहुन्छ ?
म सबै विधाको गीत गायनमा ‘इन्जोय’ गर्छु । तर, विशेषगरी आधुनिक गीत गाउँदाचाहिँ साह्रै नै इन्जोय फिल हुन्छ । अलिकति भाव बोकेको गहन शब्द, मिठास भएको मेलोडियस संगीत र गाउन घाँटी सुहाउँदो गीत होस्, त्यस्तो गीत गाउनुको मज्जा नै बेग्लै हुन्छ । लता मंगेशकर, आशा भोषले, सपनाश्री, मनिला सोताङहरूलाई धेरै सुनेकाले पनि होला, उहाँहरूकै शैलीको गीत गाउन मन लाग्छ । त्यस्ता गीतको आयु पनि लामो हुन्छ । उत्ताउलोपनको गीत गाउन मलाई मन लाग्दैन । पछिसम्म सुन्दा पनि पुरानो नलाग्ने, सधैँ ताजा र नयाँ लाग्ने कालजयी गीत गाउन मन लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?