बागलुङ । धौलागिरी क्षेत्रमा चर्चित खेलका रुपमा स्थापित ‘तारा खेल’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । बागलुङ, म्याग्दी र मुस्ताङमा बढी खेलिने यो खेल एक दशक अगाडिनै लोप हुने अवस्थामा पुगेको थियो । तर पछिल्लो समय आधनिक शैलीबाट खेल्न थालिएपछि गाउँ-गाउँमा प्रतियोगितासमेत हुन थालेको छ । तारा खेलप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएपछि बागलुङको तमानखोला गाउँपालिकाले यस खेललाई ‘पालिका खेल’ घोषणा गरेर प्रवर्द्धन गरिरहेको छ ।
विषेशगरी आदिवासी जनजाति समुदायमा प्रचलित तारा खेल अहिले सबै समुदायका युवाहरु खेल्न थालेका छन् । विभिन्न मेला, महोत्सव र चाडपर्वमा आयोजना हुने तारा खेल अहिले युवाहरु समय बिताउन र मनोरञ्जनाका लागि खेल्न थालेका छन् । निशानामा आधारित तारा हान्ने खेल बागलुङका गाउँदेखि बजारसम्म खेलिन थालेको छ । पहिले यो खेल बढी गाउँमा खेलिन्थ्यो । जिल्लाको ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ताराखोला गाउँपालिकामा यो खेल अझ बढी प्रचलित छ ।
रबर टाँसिएको काठको मुढामा अघिल्लो भागमा सेतो, कालो, नीलो र रातो रङको रेखा हुन्छ, जसको बीच भागमा अत्यन्तै सानो स्टिल प्लेट राखिएको हुन्छ । त्यही मुढामा रहेको स्टिलको प्लेटलाई छेड्नका लागि आयोजकले निर्धाति गरेको दूरीबाट बाणबाट तारोले बारम्बार हान्ने काम नै तारो हान्ने खेल हो । तारा खेल अङ्कका आधारमा खेलिने खेलाडीले बताउँछन् । दुर्लभ खेल मध्येको तारा हान्ने खेल पछिल्लो समयमा युवापुस्ताको जागरुकताका कारण केही प्रवर्द्धन हुन थालेको बागलुङका पुराना खेलाडी पृतराम छन्त्यालले बताउनुभयो । यो खेल पुर्खौँदेखि खेलिँदै आएको उहाँको भनाई छ ।
छन्त्याल भन्नुहुन्छ- “ताराखोल ढुङ्गे युगदेखि सुरु भएको पाइन्छ, त्यस बेलाका मान्छेहरुले जीविकोपार्जनका लागि वन्यजन्तुको सिकार गर्थे रे, सिकार गर्दा धनुष वाणको प्रयोग हुन्थ्यो रे, अहिले तारा खेल पनि सिकारीले जंगली जनावरलाई निशाना बनाए जसरी ताकेर तिर हानिन्छ, जसले निशानामा हान्छ उसैले खेल जित्छ, अहिले पनि यो खेललाई युवाहरुले संरक्षण गरेका छन्, बेला बेलामा ठूलो प्रतियोगिता राख्छन् ।”
पाँच जनाको ‘समूह’ खेलिने उक्त खेलमा सहभागी टिम मध्ये जसले बढी स्टिल प्लेटलाई निशाना लगाउन सक्छ, अङ्कका आधारमा उसैलाई बिजेता टिम घोषण गिरिने गरिन्छ । तारा खेल अन्तरराष्ट्रिय स्तरमा पनि खेल्ने गरिन्छ । खासगरी यो खेललाई आर्चरी खेल भन्ने गरिन्छ । साहसिक खेलप्रति विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यसलाई प्रचारप्रसार गर्न आवश्यक रहेको अर्का खेलाडी प्रेमबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले स्थानीय स्तरमा सीमित भएका यस्ता खेलको प्रवर्द्धन गर्नु पर्ने बताउनुहुन्छ ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले यहाँ आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको हुँदा परम्परादेखिनै ताराखेल खेल्दै आएको बताउनुभयो । तमानखोलामा बढी प्रचलित रहेको हुँदा तारा खेललाई गाउँपालिकाले वि.सं. २०७७ सालमा ‘पालिका खेल’ घोषणा गरेर हरेक वर्ष ‘तमानखोला तारा खेल कप’ प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
“तारा खेल संरक्षण र प्रवद्धर्न गर्ने जिम्मेवारी हाम्रो हो भन्ने ठानेर केही वर्षदेखि निरन्तर प्रतियोगिताको आयोजना गर्दै आएका छौँ, यस वर्ष पनि गरि सकेका छौँ,” अध्यक्ष बुढा मगरले भन्नुभयो- “पालिका खेलको रुपमा राखेका छौँ, यसले खेल क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्ने छ, यो खेल आदिवासी जनजातिको पहिचानसँग जोडिएको छ ।”







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts