काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । मस्र्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मंगलबार विद्युत् प्रवाह गरी (चार्ज) सञ्चालनमा ल्याइएको हो ।
मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौ उपत्यकामा ल्याउन मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मस्र्याङ्दी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनलाई पनि सोही दिन नै २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
८२ किलोमिटर उक्त प्रसारण लाइनलाई ७ असार २०७९ देखि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । मार्कीचोक सबस्टेसन चार्जसँगै मस्र्याङ्दी-काठमाडौं प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइएको हो । मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणाली सुदृढ बनाउन मस्र्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा काठमाडौंको मातातीर्थमा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।
मातातीर्थ सबस्टेसन गत वैशाखदेखि सञ्चालनमा आइसकेको छ । दुवै सबस्टेसनमा १६०/१६० एमभिए क्षमताका दुई÷दुई पावर ट्रान्सफर्मर राखिएका छन् । दुवै सबस्टेसनको क्षमता ३२०/३२० एमभिए छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सबस्टेसन सञ्चालनसँगै मस्र्याङ्दी नदी करिडोरका जलविद्युत् आयोजनाको विद्युत् २२० केभी प्रसारण लाइनबाट काठमाडौं उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताउनुभयो ।
जसबाट देशको एकीकृत विद्युत् प्रणालीको भोल्टेज सुधार भई विद्युत् थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने उल्लेख गर्दै उहाँले मस्र्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माणाधीन मार्कीचोक–भरतपुर खण्ड सम्पन्न भएपछि विद्युत् भरतपुरतर्फ पनि पठाउन सकिने बताउनुभयो । मार्कीचोक–भरतपुर खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको वाणभञ्ज्याङसम्म मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन र त्रिशुली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशुली-काठमाडौं २२० केभी प्रसारण लाइनलाई वाणभञ्ज्याङमा एकआपसमा आबद्ध गरिएको छ । त्रिशुली र मस्याङ्दीका दुवै प्रसारण लाइनलाई वाणभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट) मा आबद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।
मस्र्याङ्दी-काठमाडौं र त्रिशुली–काठमाडौं प्रसारण लाइनबाट आएको करिब एक/एक हजार मेगावाट विद्युत् वाणभञ्ज्याङमा आबद्ध भई त्यहाँबाट करिब दुई हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइनमार्फत् मातातीर्थ सबस्टेसनमा समाहित हुनेछ ।
मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइनअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी २०७७ पुसमा चाइना मेसेनरी इञ्जिनियरिङ कर्पोरेसनसँग ठेक्का सम्झौता गरी बाँकी काम अघि बढाइएको थियो । दुवै सबस्टेसनको अनुमानित लागत करिब सबा दुई अर्ब रुपैयाँ रहेको आयोजना प्रमुख लक्ष्मण फुँयालले जानकारी दिनुभयो ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मस्र्याङ्दी-काठमाडौं प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा