
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्र खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताउनुभएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको १६औँ स्थापना दिवसका अवसरमा बुटवलमा सुरु भएको मदन भण्डारी गोल्डकप इण्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ को बुधबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको विकास र खेलाडीहरूको उत्साह कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताउनुभएको हो ।
‘प्रदेशभित्र सबै प्रकारका खेल क्षेत्रलाई समुचितरूपमा विकास गर्न, खेलाडीहरूमा उत्साह बढाउन र बढेको उत्साहलाई कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्दछ । हामी खेल क्षेत्रको विकास गर्न तयार छौँ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘खेल पूर्वाधार, खेलाडी उत्पादन र नियमित प्रतियोगिताहरू सञ्चालन गरेर खेल क्षेत्रको विकास गर्न सकिन्छ ।’
खेलाडी उत्पादन गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाउन मदन भण्डारी स्पोर्ट्स एकेडेमीको भूमिका महŒवपूर्ण रहेको मुख्यमन्त्री आचार्यले स्मरण गर्नुभएको थियो । ‘मदन भण्डारी स्पोर्ट्स एकेडेमीको स्थापनादेखि हालसम्म खेलाडी उत्पादनका साथै खेल क्षेत्रको विकासमा थुप्रै उपलब्धि हासिल भएका छन्,’ उहाँले भन्नुभयो, ‘यो उत्साहलाई कायम राख्दै थप रचनात्मक कामहरू गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’ २४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठवटा समूहले प्रतिस्पर्धा गर्दैछन् ।
आठ समूहमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, गुजरात स्टेट भलिबल एसोसिएसन (भारत), गलकोट भलिबल क्लब, रुकुमपश्चिम भलिबल प्रशिक्षण केन्द्र रहनेछन् ।
प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्वितीय पुरस्कार तीन लाख पचास हजार, तृतीय पुरस्कार एक लाख पचहत्तर हजार, सान्त्वना पुरस्कार एक लाख रुपैयाँ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ । उत्कृष्ट खेलाडीलाई पच्चीस हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ । काठमाडौंबाहिर पहिलोपल्ट आयोजना भएको यो सर्वाधिक राशिको भलिबल प्रतियोगिता हो ।
आकर्षक ट्रफी
मदन भण्डारी गोल्डकप इण्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ को ट्रफी मंगलबार अनावरण गरिएको थियो । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य लीला गिरी, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, नेपाल पत्रकार महासंघ रूपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले ट्रफी अनावरण गर्नुभएको थियो । १५ केजी तौल भएको ट्रफीले लुम्बिनी र पर्यटनलाई उजागर गरेको छ । खेल पर्यटनलाई उजागर गर्ने गरी ट्रफीमा लुम्बिनीको अशोक स्तम्भ, मायादेवी मन्दिर र शान्ति दीप दिएको छ । एकेडेमीका प्रचार संयोजक अमृता अनमोलले प्रतियोगितासँग पूर्वाधार विकास र खेल प्रशिक्षणलाई समेत जोड दिँदै आएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच