
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका-३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत् आपूर्ति दिने भएको छ ।
विद्युत् अभावमा फास्ट ट्र्याक निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जति सक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अघि बढाइएको जनाएको छ । उक्त क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन ।
फास्ट ट्र्याकको माण्डु माल्टाबेंसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङलगायतका संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको हो । फास्ट ट्र्याकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्नेछ । सो क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ ।
विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाअन्तर्गत कुलेखानी पहिलो जलविद्युत् केन्द्र ढोर्सिङ्गबाट माण्डुसम्मको पहिले चालु रहेको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइनेछ । काठमाडौंमा जगेडामा रहेको २२.५ एमभिएको पावर ट्रान्सफर्मर ढोर्सिङ्ग सबस्टेसनमा लगेर त्यहाँ जडान गरी सोहीमार्फत् फास्ट ट्र्याकका लागि आवश्यक विद्युत् आपूर्ति दिइने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ढोर्सिङ्ग सबस्टेसनमा स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि हाल पाँच एमभिए क्षमताको पावर ट्रान्सफर्मर पूर्ण भारमा चालु रहेकाले थप विद्युत् प्रवाह गर्न नसकिने हुँदा अर्को ठूलो क्षमताको ट्रान्सफर्मर थप्न लागिएको हो । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले माण्डु हाइड्रोपावरले सञ्चालन गरेको २२ मेगावाटको बागमती खोला साना जलविद्युत्को विद्युत्गृहलगायतका संरचनामा ठूलो क्षति पुर्याई विद्युत् उत्पादन बन्द हुँदा त्यसपछि फास्ट ट्र्याकअन्तर्गत उक्त खण्डमा विद्युत् आपूर्ति हुन सकिरहेको छैन । बागमती नदीमा आएको बाढीले आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्ने स्विचयार्ड र त्यहाँ प्राधिकरणले राखेको पावर ट्रान्सफर्मरलगायतका उपकरणसमेत बगाइदिएको थियो ।
आयोजनाबाट उत्पादित विद्युत् ६६ केभी प्रसारण लाइनमार्फत् ढोर्सिङ्ग र ३३ केभी लाइनमार्फत् ललितपुरको माल्टा सबस्टेसनतर्फ प्रवाह गरिएको थियो । माल्टा सबस्टेसनबाट ११ केभी लाइनमार्फत् फास्ट ट्र्याकलाई आपूर्ति दिइएको थियो । माल्टा सबस्टेसनमा ललितपुरमै सञ्चालनमा रहेको अर्को दुर्ई मेगावाटको खानीखोला जलविद्युत् आयोजना पनि जोडिएको थियो ।
तर, बाढीपहिरोले खानीखोलामा पनि क्षति पुगेपछि माल्टा सबस्टेसन विद्युत् स्रोतविहीन बनेको थियो । जसका कारण फास्ट ट्र्याकको विद्युत् आपूर्ति बन्द भएको थियो । हाल दुवै आयोजनाको पुनर्निर्माण चलिरहेको छ ।
विद्युत् आपूर्ति नहुँदा फास्ट ट्र्याक निर्माणमा समस्या भएको नेपाली सेनाले जानकारी गराएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललगायतको उच्चस्तरीय टोलीले सोमबार माण्डु माल्टाबेंसी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।
टोलीले पुनर्निर्माण भइरहेको बागमती खोला साना जलविद्युत् आयोजना र ढोर्सिङ्ग सबस्टेसनको भ्रमण गरी तत्काल विद्युत् आपूर्ति गर्न सकिने विभिन्न विकल्पमा सम्बन्धित पदाधिकारीसँग छलफल गरेको थियो । आयोजनाको पुनर्निर्माण आगामी चैतभित्र सक्ने गरी काम भइरहेको छ । उक्त आयोजना सञ्चालनमा आएपछि पुरानै व्यवस्थाअनुसार विद्युत् आपूर्ति दिइनेछ ।
कार्यकारी निर्देशक घिसिङले आयोजना सञ्चालनमा नआएसम्मका लागि ढोर्सिङ्ग सबस्टेसनमा पावर ट्रान्सफर्मर थप्ने र ढोर्सिङ्ग-माण्डु लाइनलाई ११ केभीमा चार्ज गरी फास्ट ट्र्याकलाई विद्युत् आपूर्ति दिनु तत्कालका लागि उपयुक्त विकल्प भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो कारणले राष्ट्रिय गौरवको आयोजनाको काम प्रभावित हुनुहुँदैन, अहिले यहाँ आपूर्ति दिन विद्युत् स्रोतको अभाव हो, बाढीले क्षति पुर्याएका जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु नभएसम्मका लागि वैकल्पिक व्यवस्थामार्फत् आपूर्ति दिनुपर्छ, यसका लागि तत्काल काम सुरु गरौँ ।’
उपकार्यकारी निर्देशक सिलवालले लाइन पुनस्र्थापनाका लागि स्थानीयरूपमा गर्नुपर्ने आवश्यक काम तत्काल अघि बढाउन पालुङ र हेटौंडा वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच