दाङ । प्रदेश समृद्धिको प्रमुख आधारका रूपमा पर्यटन विकासलाई मान्दै आएको लुम्बिनी सरकारले पर्यटन नीति वनाउन थालेको छ ।
पर्यटन सम्बन्धी नीति वनाएर पर्यटनको समुचित विकास गर्न सकिने लक्ष्य सहित मन्त्रालयले नीतिको खाका तयार पारेको हो । यो खाकालाई मूर्त रूप दिने तयारीमा मन्त्रालय छ ।
लुम्बिनी प्रदेश पर्यटनको क्षेत्रमा धनी प्रदेश हुँदा पनि सोचे अनुरुपको पर्यटन क्षेत्रको विकास र संवद्र्धन हुन नसकेकाले पर्यटन क्षेत्रका चुनौती र समस्याहरू केलाएर पर्यटन नीति बनाउने थालिएको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिनुभयो ।
मन्त्रालयले पर्यटन विकासको दीर्घकालीन दृष्टिकोण, नीति, रणनीति तथा कार्यक्रमको आवश्यकताको बोध गर्दै यो आवश्यकताको परिपूर्तिका लागि पर्यटन नीति निर्माण गरि कार्यान्वयनमा ल्याउनु पर्ने आवश्यकता देखिएको उल्लेख गरेको छ । मन्त्रालयले पर्यटन नीति अन्तर्गत पर्यटन विकासको स्पष्ट खाका तयार पार्ने उल्लेख गरेको छ । ‘पर्यटन विकासको स्पष्ट खाका तयार पार्ने गरी नीति निर्माण गरिने छ’, मन्त्री न्यौपानेले भन्नुभयो, ‘प्राकृतिक, सांस्कृतिक, पर्यापर्यटन लगायतको छुट्टाछुट्टै अध्ययन गरी ती क्षेत्रको विकासमा अन्तर सम्बन्ध स्थापित गर्ने व्यवस्था हुने छ ।’ यसैगरी प्रदेशका नयाँ पर्यटन गन्तव्यको खोजीलाई मन्त्रालयले प्राथमिकतामा पारेको छ । यो विषयलाई प्राथमिकतामा पारेर नीति निर्माणमा जुटेको मन्त्रालयले यसका लागि सङ्घीय सरकार र स्थानीय तहसँग सहकार्य गर्ने योजना बनाएको छ ।
महाभारत क्षेत्र र अन्य उपयुक्त स्थानको सम्भाव्यताका आधारमा नयाँ गन्तव्य स्थलको पहिचान, विकास र प्रवर्धन गर्ने लक्ष्य मन्त्रालयको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्रदेशमा कृषि पर्यटन, स्वास्थ्य पर्यटन, खेलकुद पर्यटनको अवधारणा बनाउने उल्लेख गरिएको छ । प्रदेशमा एक जिल्ला एक पर्यटन गाउँको नीति अङ्गीकार गरी त्यसको कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइने प्रदेशको प्रस्तावित पर्यटन नीतिमा उल्लेख गरिएको छ । गुणस्तरीय पर्यटनको प्रवर्धन गर्ने, तहगत र क्षेत्रगत समन्वय र सहकार्य गर्ने गरी प्रदेश सरकारले पर्यटन नीति निर्माण गरिएको छ ।
यसैगरी प्रदेशलाई सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको प्रदेश सरकारले विभिन्न जाति र समुदायबारे वैज्ञानिक अध्ययन र अनुसन्धान गरी उनीहरूको इतिहास र संस्कृति प्रकाशनमा ल्याइने, सांस्कृतिक सम्पदाका माध्यमबाट पर्यटन उद्योगमा टेवा पु¥याई समाजमा रोजगारी र आयआर्जनका अवसरहरू वृद्धि गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । पर्यटकीय क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउने लक्ष्य लिएको मन्त्रालयले पर्यटकीय थलोहरूबारे सूचना दिन आधुनिक सूचना प्रविधिको प्रयोग गरिने, पर्यटन सूचना केन्द्र स्थापना गरिने भएको छ ।
यसैगरी पर्यटन प्रवर्धनमार्फत् ग्रामीण क्षेत्र र समुदायमा रोजगारीको सिर्जना र आयआर्जन गराउने लक्ष्य लिएको मन्त्रालयले ग्रामीण पर्यटनलाई व्यवसायको उपक्षेत्रका रुपमा अघि बढाइने उल्लेख गरेको छ । होमस्टेलाई रोजगारीको प्रमुख माध्यमका रूपमा विकास गर्ने लक्ष्य सरकारले लिएको छ । यसैगरी कृषि पर्यटनलाई बढावा दिने कार्यक्रम तर्जुमा गर्नेलगायतका नीति मन्त्रालयले लिएको छ ।
पर्यटन नीति निर्माणमा जुटेको मन्त्रालयले यसको कार्यान्वयनका लागि प्रदेशको पर्यटन ऐन तथा नियमावली कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ । ‘पर्यटन विकासका निम्ति थुप्रै आधारहरू नीतिमा समावेश गरिएको छ’, मन्त्री न्यौपानेले भन्नुभयो, ‘यो नीति कार्यान्वयनका लागि पर्यटन ऐन र नियमावली कार्यान्वयनमा ल्याइने छ ।’ प्रदेश सरकारले पर्यटन ऐन निर्माण गरिसकेको भए पनि पर्यटन नीति भने अहिलेसम्म निर्माण भइसकेको थिएन । वर्तमान मन्त्री न्यौपानेले आफ्नो पदभारमा क्रममा गरेको पहिलो निर्णय बमोजिम मन्त्रालय नीति निर्माणमा जुटेको हो । हाल नीति लेखनको काममा रहेको मन्त्रालयले यसको पूर्णताका लागि विभिन्न छलफलबाट सुझाव सङ्कलन गर्ने समेत मन्त्रालयले जनाएको छ ।
‘अहिले नीति लेखनको प्रारम्भिक चरणको काम प्रारम्भ भएको छ, यो ड्राफ्टमा केन्द्रित रहेर सरोकारवाला पक्षसँग छलफल गरिने छ’, मन्त्रालयका पर्यटन शाखा अधिकृत गणेश घिमिरेले भन्नुभयो, ‘छलफलबाट आउने सुझावका आधारमा नीतिलाई मस्यौदाको रूप दिइने छ र मन्त्रिपरिषद्मा पेस गरिने छ ।’ मन्त्रिपरिषद्बाट पारित भएपछि नीति कार्यान्वयनमा ल्याइने घिमिरेले बताउनुभयो । ‘पर्यटनसम्बन्धी ऐन निर्माण भयो तर ऐन अन्तर्गत के काम गर्ने भन्ने स्पष्ट कामको खाका अर्थात् नीति अहिलेसम्म बन्न सकेको थिएन’, घिमिरेले भन्नुभयो, ‘अब नीति कार्यान्वयनमा आयो भने बल्ल पर्यटनसम्बन्धी कार्यक्रमको स्पष्ट खाका तयार पार्न सजिलो हुनेछ ।’






