
निम्तो पाउने हैसियत पदमात्रै होइन रहेछ । प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई प्राप्त हुन नसकेको भारतीय प्रधानमन्त्रीको निम्तो काण्ड यसको उदाहरण हो । एउटा देशको प्रधानमन्त्रीले अर्को देशको प्रधानमन्त्रीबाट पाउने निम्तो अधिकार कि निगाह ? मन जसले जित्छ, निम्तो उसले पाउँछ । मोदीको मन ओलीले जित्न सकेनन् अनि निम्तो आएन । ओलीले नेपाली जनताको मन जित्ने कार्य गरेको भए छिमेकीको मन पनि जित्थे । हाम्रा सबै राष्ट्रपतिहरू, प्रधानमन्त्रीहरू र मन्त्रीहरूका उल्लेखनीय काम भनेको नै भ्रष्टाचार हो । यो जनताको मन दुखाउने काम हो । जनताको चित्त दुखाउने शासकको प्रतिष्ठा छिट्टै स्खलित हुन्छ । बुद्धिमानले न निम्तो माग्छ न निम्तो दिएन भनेर गुनासो सार्वजनिक गर्छ । निम्तो नै नदिएको अवस्थामा प्रेसका सामु प्रधानमन्त्री जस्तो उच्च पदस्थ व्यक्तिले फुरफुरिएर भारत भ्रमणमा जान्छु भन्नु अल्लारे कूटनीति हो ।
प्रधानमन्त्रीको मुख्य जिम्मेवारी सरकारका संयन्त्रलाई क्रियाशील बनाएर परिणाम दिने हो । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिल्लीस्थित नेपाली राजदूतमार्फत दिएको भए त्यसको बदलामा दिल्लीले ओलीलाई निम्तो अवश्य दिन्थ्यो । दिल्लीस्थित राजदूतले गर्ने काममा प्रधानमन्त्री आफैं र परराष्ट्रमन्त्रीको प्रयासबाट निम्तो नपाउँदा ओलीको मात्रै कद घटेको छैन देशको र प्रधानमन्त्रीको कद घटाउने काम भयो । ओलीले प्रधानमन्त्रीको हैसियतमा रहँदामात्रै होइन अब पूर्वप्रधानमन्त्रीको रूपमा व्यवहारबाट प्रधानमन्त्री पदको उच्च प्रतिष्ठा, गरिमामा आँच पु¥याउने तथा टपर्टुट्याँ अभिव्यक्ति किमार्थ गर्नु हुँदैन ।
सुशासनको योजना र कार्यान्वयनमा प्रधानमन्त्री केन्द्रीकृत नभएर विदेश भ्रमण गर्दा लाभ होइन हानि हुन्छ । वैदेशिक भ्रमणलाई पनि उच्च पदस्थले देशको ढुकुटी लुट्ने हतियार बनाएका छन् । यो नीतिगत भ्रष्टाचार हो । वैदेशिक भ्रमणलाई फलदायी व्यवस्थित र कम खर्चिलो गर्न विज्ञ, विशेषज्ञहरूको सहयोगमा खाका कोर्नै पर्छ ।
देशको परिस्थिति लठिभद्र छ । कुशासनले नागरिक चरम उत्पीडनमा छन् । प्रधानमन्त्रीले सुशासनका सूत्रहरू खोज्ने कि विदेश सयर गर्ने ? देशको वर्तमान आर्थिक परिस्थितिले खासखास प्राविधिक पदलाई तोकेर निम्तो आएको बाहेक राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री साथै उच्च पदस्थ कर्मचारीहरूको विदेश भ्रमण रोक्नुपर्छ । दुर्लभ विदेशी मुद्रा खर्चनु हुँदैन । विदेशस्थिति आवासीय राजदूतहरू जसले राष्ट्रपति र प्रधानमन्त्री दुबैको प्रतिनिधित्व गर्छन् । तिनीहरूलाई नै सभा, सम्मेलन, गोष्ठी आदिमा अधिकतम सहभागी गराउनुपर्छ । अहिले प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ कर्मचारीहरूको काम देशको खस्कँदो आर्थिक अवस्था, सडक, खानेपानी जस्ता अत्यावश्यक सेवालाई चुस्त दुरुस्त र व्यवस्थित गरेर जनतालाई अधिकाधिक सेवा डेलिभरीको प्रबन्धन गर्नु हो ।
सुशासनको योजना र कार्यान्वयनमा प्रधानमन्त्री केन्द्रीकृत नभएर विदेश भ्रमण गर्दा लाभ होइन हानि हुन्छ । वैदेशिक भ्रमणलाई पनि उच्च पदस्थले देशको ढुकुटी लुट्ने हतियार बनाएका छन् । यो नीतिगत भ्रष्टाचार हो । वैदेशिक भ्रमणलाई फलदायी व्यवस्थित र कम खर्चिलो गर्न विज्ञ, विशेषज्ञहरूको सहयोगमा खाका कोर्नै पर्छ । खासगरी आयोग गठन गर्ने, अध्ययन गर्ने तर आयोगका रिपोर्टहरू थन्क्याउने चरित्रले आयोगको औचित्यमाथि नै प्रश्नचिहृन लागेको छ । अधिकार प्राप्तले कसरी अधिकारलाई दुरुपयोग गर्ने भन्ने चिन्तनमाथि नै प्रहार नगरिकन देशको परिस्थिति किमार्थ सुध्रँदैन । जिम्मेवारहरूका आफू कसरी धनी हुने र आफ्नालाई कसरी पोस्ने सोच उत्पत्ति हुने ग्रन्थीहरूलाई चिरफार नगरिकन सुशासन हात्तीको देखाउने दाँत हुन्छ ।
भारतीय प्रधानमन्त्रीबाट प्राप्त हुने निम्तोको विषय नितान्त गोप्य हुनुपर्नेमा किन हल्लाखल्ला ? निम्तो नआएको विषयमा कोकोहोलो मच्चाउनु दुर्भाग्यपूर्ण घटना हो । निम्तो कूटनीति बारे नेपाली कूटनीतिज्ञहरू अत्यन्तै कमजोर रहेछन् भन्ने प्रमाणित भयो । भारतका लागि आवासीय नेपाली राजदूतले फत्ते गर्ने काममा प्रधानमन्त्री र परराष्ट्रमन्त्री समेतको प्रयत्न यदि असफल भएको हो भने यो नेपाली कूटनीतिक इतिहासमै लज्जास्पद घटना भन्नुपर्छ । प्रधानमन्त्रीको रूपमा भारत भ्रमण नगर्दा के आकाश खस्छ ? हिजो गरेको भारत भ्रमणले जनतालाई के दियो ? राज्यको ढुकुटीको पाई पाई जनताको उत्थानमा खर्च यदि भएन भने त्यो दुरुपयोग हो ।
वैधानिक तरिकाले ढुकुटी वृद्धि गर्ने प्रधानमन्त्रीको कर्तव्य हो । लावालस्करका साथ हुने विदेश भ्रमण ढुकुटीको चरम दुरुपयोग हो । बोली, व्यवहार, आचरण, शिष्टाचार, नैतिकता, धर्म र ईश्वर प्रतिको निष्ठा सम्मान जस्ता विषयहरू निम्तो कमाण्ड गर्ने आधार हुन् भन्ने कुरालाई आत्मसात गर्नु नै यसको समाधान हो न कि निम्तो पाइनँ भन्ने गुनासो र प्रयत्न ? जिम्मेवारहरूले के बोल्ने, कसरी बोल्ने, कस्तो व्यवहार गर्ने, आफू कुन हैसियतमा छु भन्ने सामान्य ख्याल नगर्दा नै यो परिस्थिति सिर्जना भएको हो । देशको जिम्मेवार पदमा रहदासम्म उखान टुक्कालाई हतियार बनाएर मन नपरेका मानिसको र पार्टीहरूको खेदो खन्ने चरित्र र व्यवहारले न विकास हुन्छ न सुशासन हुन्छ न पदको गरिमा र मर्यादा नै रहन्छ ।
न पार्टी-पार्टीबीच सुमधुर सम्बन्ध दिगो हुन्छ । प्रधानमन्त्रीको पदमा बस्ने व्यक्तिमा दम्भ, प्रतिशोध र व्यंग्य अशोभनीय हुन्छ । टुँडिखेलमा मर्यादा, संस्कार र संस्कृति खोज्नेहरूले त्यसको पालना सिंहदरबार, बालुवाटारमा र शीतलनिवासमा पनि गर्नुपर्छ भन्ने हेक्का पदमा रहने जोकोहीलाई हुनुपर्छ । विषय र कार्यक्रम केन्द्रीकृत भएर अभिव्यक्ति दिनुको सट्टा गणतन्त्रमा नेतृत्व गर्नेहरू सोचेर होइन घोचेर बोल्न अभ्यस्त छन् ।
ठूलाठूला पदमा आसीनहरूले अमर्यादित अभिव्यक्ति दिएपछि युवा र विद्यार्थीहरूले के सिक्छन् ? घोचेरभन्दा सोचेर बोल्ने अभ्यास गरेको भए अघिल्लो संसद्को पूरै कार्यकाल प्रधानमन्त्रीको रूपमा ओलीले पूरा गर्थे । त्यसले खड्गप्रसाद ओलीको व्यक्तित्वमाथि उठ्थ्यो । सरकारको स्थायित्वको श्रीगणेश हुन्थ्यो । क्षणिक लाभ र उक्साहटमा बारम्बार संसद् विघटन गर्दा तत्कालीन राष्ट्रपति र प्रधानमन्त्री दुबै इतिहासमा आलोचित छन् । बालबालिकाहरूलाई सिक्न अभिप्रेरित गर्ने कान्तिपुरमा प्रकाशित प्रधानमन्त्री ओलीको आफ्नै लेखमा भने जस्तै जीवनशैली र व्यवहार अवलम्बन गर्ने हो भने भोलिबाट परिस्थिति बदलिएको नेपालीले अनुभूति गर्न पाउँछन् ।
जुन देशबाट फर्के पनि सबै प्रधानमन्त्रीहरू भ्रमण सफल भयो भन्छन् तर देशको समग्र सामाजिक, आर्थिक सूचकांकलाई विश्लेषण र व्याख्या गर्ने हो भने असफल राष्ट्र हुने अनगिन्ती संकेत देखिन्छन् । आफू हुँदा सबै ठीक । बिगार्ने अर्को भनेर कहिलेसम्म उम्कने ?
महात्मा गान्धीले लगौटी र खराउ लगाएर व्यक्तित्व उठाए । हाम्रा प्रधानमन्त्रीहरूले करोडौंको घडी, लाखौंलाखका जुत्ता, चश्मा, छोरीलाई लाखौंको ब्याग बोकाएर सादगीलाई राजीनामा गरे । प्रतिष्ठालाई लिलाम गरे । प्रधानमन्त्रीहरू कटाक्षका भरमा यी आरोपबाट कसरी उम्कने ? लोकतन्त्रमा ठूलालाई चैन र निर्धोलाई ऐन हो भने यो झुत्रो लोकतन्त्र किन चाहियो ? अर्कालाई बदलिनुपर्छ भन्नेले पहिल्यै आफू बदलिन सिक्नुपर्छ । प्रधानमन्त्रीको पदमा पुगेपछि प्रधानमन्त्रीले आफ्नो पार्टीको निर्वाचनको घोषणापत्र पल्टाएर सो अनुसार काम गर्ने कि छेडखानी, आलोचना र प्रतिशोध जस्ता विषयमा केन्द्रीकृत हुने ?
क्षणक्षणमा रङ बदल्ने, व्यक्तिगत फाइदाका लागि गठबन्धन गर्ने, गठबन्धन बदल्ने, भ्रष्टाचार र अनियमिततामा प्रत्यक्ष वा परोक्ष संलग्न रहँदा प्रधानमन्त्रीको पदीय हैसियत पञ्चायको अञ्चलाधीशको अवस्थाबाट खस्केको छ । ओलीले भारत भ्रमणको निम्तो मैले पाइन भन्नु ओलीको मात्रै होइन नेपाल र नेपाली समेतको बेइज्जत हो । भारतले निम्तो नै दिएको छैन । चीनबाट फर्कँदा एयरपोर्टमा नै भारत भ्रमणमा जान्छु भन्ने उत्ताउलो अभिव्यक्ति प्रधानमन्त्रीले किन दिए ? राष्ट्र र जनताप्रति समर्पित प्रधानमन्त्रीले यो कार्यकालमा कुनै विदेशीको भूमिमा टेक्दिन भन्न किन सक्दैनन् ? अहिलेसम्मका भ्रमणहरूले नेपाललाई आत्मनिर्भर होइन परनिर्भर बनायो ।
परनिर्भर बनाउने भ्रमण किन ? अहिलेसम्मका भ्रमणहरूले राष्ट्र लाभान्वित भयो कि शोषित भयो ? यसको समीक्षा गरौँ न कि ओलीको भारत भ्रमणको निम्तो नपाएको रोइलो । एउटा देशको प्रधानमन्त्रीले अर्को देशको प्रधानमन्त्रीबाट निम्तो प्राप्त गर्ने कुरा डिमाण्ड गर्ने विषय किमार्थ होइन । कमाण्ड गर्न सक्नुपर्छ । मैले छिमेकी प्रधानमन्त्रीको निम्तोसम्म किन कमाण्ड गर्न सकिन आत्ममूल्यांकन ओलीले गर्नुपर्छ । देश र जनताको भलाइ र उत्थानमा ओली असफल हँुदा मोदीले निम्तो दिएनन् । असफल प्रधानमन्त्रीसँगको भेटघाट र संगतले आफूमा पनि असफलताको भाइब्रेसन आउँछ भन्ने डरले मोदीले यदि निम्तो दिएनन् भने अब चिच्याउनुको के अर्थ ?
लिपुलेकमा मेरो भूभाग यति हो भनेर नेपाली झण्डा गाड्ने काम किन भएन ? ओली विवादमा खप्पिस तर समाधानमा असफल भन्ने कुरा चुच्चे नक्साको निस्काशन तर भूमि फिर्ता गर्ने रणनीतिमा सिन्को भाँच्न नसक्दा ओलीको कूटनीति सुझबुझ अपरिपक्व प्रमाणित भएको छ । जुन देशबाट फर्के पनि सबै प्रधानमन्त्रीहरू भ्रमण सफल भयो भन्छन् तर देशको समग्र सामाजिक, आर्थिक सूचकांकलाई विश्लेषण र व्याख्या गर्ने हो भने देश असफल राष्ट्र हुने अनगिन्ती संकेत देखिन्छन् । आफू हुँदा सबै ठीक । बिगार्ने अर्को भनेर अब कहिलेसम्म उम्कने ? निम्ताको चिन्ताभन्दा देशको प्रधानमन्त्रीले देश र जनताको भोकमरी, अभाव र गरिबी आदिको चिन्ता गर्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच