काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित च्याउ मेला तथा परिकार महोत्सव १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । च्याउ उत्पादक किसान संघले आयोजना गरेको एकदिने च्याउ मेला १० हजारभन्दा बढीले अवलोकन गरेका र दुर्ई लाखभन्दा बढीको कारोबार भएको संघका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिनुभयो । व्यापारभन्दा पनि च्याउ प्रवद्र्धनका लागि मेला आयोजना गरिएकाले च्याउ प्रवद्र्धनमा मेला निकै सफल भएको उहाँको भनाइ थियो । च्याउ प्रवद्र्धनकै लागि मेलामा च्याउका परिकारहरू पनि निःशुल्करूपमा चखाइएको कार्कीले बताउनुभयो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको गुणस्तरीय बिउको समस्याका कारण उत्पादक र उत्पादकत्व कम भएको भन्दै स्वदेशमै च्याउको गुणस्तरीय बिउ उत्पादनमा लाग्नुपर्ने बताउनुभएको छ । च्याउ मेला तथा परिकार महोत्सव उद्घाटन गर्दै उहाँले नेपालीहरूमा च्याउ खाने बानी बढेसँगै च्याउ बजार पनि बढ्दै गएकाले हाल देखिएका चुनौती समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री अधिकारीले नेपाल च्याउमा आत्मनिर्भरोन्मुख रहेकाले विस्तारै निर्याततर्फ लाग्ने गरी काम गर्न सरकार, निजी क्षेत्र र किसानको संयुक्त प्रयास आवश्यक हुने बताउनुभयो । च्याउको गुणस्तर वृद्धिका लागि मन्त्रालय मातहतका निकायले काम गरिरहेको उल्लेख गर्दै उहाँले चालु आर्थिक वर्षभित्र च्याउ खेतीका लागि सिफारिस जातहरू पञ्जीकरण गर्ने र गुच्छी च्याउ, धमिरे च्याउ, लेटिपोरसजस्ता बहुमूल्य र पौष्टिक जात पनि अनुसन्धान सुरुवात गरिएको बताउनुभयो । ती जातको बिउबिजन उत्पादनमा सफलता हात परेकाले खेती प्रविधि विकासका लागि काम भइरहेको उहाँको भनाइ थियो ।
मन्त्री अधिकारीले अनुसन्धानपछि प्रसार कार्य गर्न कृषि मन्त्रालयले कार्ययोजना तय गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउन मन्त्रालयले आवश्यक गृहकार्य गर्ने जानकारी दिँदै उहाँले अब च्याउ उत्पादन विविधिकरणतर्फ जानुपर्ने आवश्यकता आंैल्याउनुभयो । एकदिने च्याउ मेलामा विभिन्न जातका च्याउ तथा च्याउजन्य परिकारलगायत ४० स्टल रहेका थिए । मेलामा च्याउका विभिन्न परिकारका सबै गोभ्रे, कन्य, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनीका साथै च्याउका परिकार निःशुल्क चाख्ने व्यवस्था रहेको संघका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts