
पुणे । भारतको महाराष्ट्र राज्यको पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराँते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा गरी १७ स्वर्ण पदक जितेर उपाधि हासिल गरेको हो । नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरेका खेलाडीले पाँच रजत र दुई कांस्य पदकसमेत प्राप्त गरेका छन् ।
प्रतियोगितामा नेपालका खेलाडी रिमा कुमालले ६८ किलो तौल समूहमा भारत र श्रीलंकाका प्रतिस्पर्धीलाई हराउँदै स्वर्ण पदक हात पार्न सफल हुनुभएको थियो । यस्तै, विपिन रानाले ५० किलो तौल समूहमा र शाहिल गुरुङले ५५ किलोमा स्वर्ण पदक प्राप्त गर्नुभयो । यस्तै, नेपालका बुद्धि तामाङ, नेहा श्रीस, रजिना दर्लामी, निखिल कुमाल, दिवस आले, मोहित थापा, अमिशा पोखरेल, दिया छन्त्याल, समीक्षा दर्लामी, आदित्य गुरुङ, प्रवीन भट्टराई र आकृति छन्त्याल स्वर्ण पदक जित्न सफल हुनुभयो ।
प्रतियोगितामा भारत १६ स्वर्ण, २९ रजत र ६१ कांस्य पदक प्राप्त गरी द्वितीय तथा श्रीलंका ६ स्वर्ण, पाँच रजत र १५ कांस्य पदक प्राप्त गरी तृतीय भयो । यसअघि नेपालका तर्फबाट उत्कृष्ट काता प्रदर्शन गरेका १० वर्षमुनि समूहका सिद्वार्थ रानाले स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । यस्तै, समूहगत कातातर्फ पनि नेपालका ६ खेलाडीले स्वर्ण पदक जिते ।
विजयी खेलाडीलाई भारतीय राष्ट्रिय कराँते संघका महासचिव राजु थापाले शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । भारतीय राष्ट्रिय कराँते संघको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका विभिन्न उमेर समूहका एक सयभन्दा बढी खेलाडी सहभागी थिए । प्रतियोगितामा जापान गोजुरियो कराँते डो मिसन संघ, नेपालका तर्फबाट विभिन्न तौल र उमेर समूहका १८ महिला तथा पुरूष खेलाडी सहभागी रहेका संस्थाका अध्यक्ष केवी रानाले बताउनुभयो । रासस ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच