धादिङ । उतरी धादिङको नेत्रावती डबजोङ–१ साप्टारी र गंगाजमुना–४ साल्दुङ जोड्ने आँखुखोलाको झोलुङ्गे पुल निर्माण कार्य अलपत्रमा परेको छ ।
पुल निर्माणको ठेक्का पाएको रुजन के निर्माण सेवा प्रालि र भौतिक पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय धादिङको लापरबाहीका कारण निर्माण कार्य अलपत्रमा परेको हो ।
दुर्गम क्षेत्रका दुई वटा गाउँपालिका जोड्ने पुलको काम चार वर्ष अघि नै सकिसक्नुपर्ने भएपनि ठेकेदार कम्पनी र प्रादेशिक सडक डिभिजन कार्यालयको लापरबाहीका कारण स्थानीयले सास्ती भोग्नु परेको छ ।
ठेकेदार कम्पनी रुजन के निर्माण सेवा कम्पनीले पुलको सम्पूर्ण सिभिल निर्माण अर्थात पुलको दायाँबायाँको जीप निर्माणको लागि स्थानीय आइतराम गुरुङलाई जिम्मा दिएको थियो । दुई महिनामा सक्नेगरी कामको जिम्मेवारी लिएका गुरुङले तोकिएकै समयमा काम पनि पुरा गरेपनि काम गरेवापत पाउनुपर्ने रकम नपाउँदा मजदुरलाई ज्याला दिन नपाएको गुरुङले बताउनु भयो ।
‘ठेकेदार कम्पनीले छिट्टै काम सकिन्छ, पैसा पनि छिट्टै आउँछ भनेर काम लगायो, अहिले हामीले काम गरेको पनि एक वर्ष भयो । तर, पैसा दिएको छैन’, पेटी ठेकेदारको रुपमा पुलको जीप निर्माणको काम गर्नुभएका गुरुङ भन्नुहुन्छ– ‘ठेकेदारले पैसा नदिएपछि काम गरेर बिहान बेलुका छाक टार्ने मजदुरलाई समेत पैसा दिन सकिएको छैन ।’
ठेक्काको नियम अनुसार समयमै काम नसके ठेकेदार कम्पनीलाई कि म्याद थप गरेर कामलाई निरन्तरता दिनुपर्छ, कि त्यो कम्पनीलाई कारबाही गरेर अर्कै कम्पनीलाई कामको जिम्मा दिनुपर्छ । तर, पुलको ठेक्का लगाएको प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले कामको मुल्यांकन गरेर न ठेकेदार कम्पनीलाई रकम निकासा गराउन सकेको छ न त कारबाही गरेर अर्को ठेक्का लगाउन सकेको छ ।






