विराटनगर । कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । “महिलाको समानुपातिक समावेशी सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता” भन्ने मूल नाराका साथ पुस १३ गतेबाट २ दिने सम्मेलन विराटनगरमा सुरु भएको हो । नेपाल बार एसोसिएसन महिला समितिको आयोजनामा हुन लागेको सम्मेलन आइतबारसम्म चल्नेछ ।
सम्मेलनमा महिलाको समानुपातिक सहभागिताका चुनौती, लैंगिक तथा यौनजन्य हिंसा पीडितको न्यायमा पहुँचको अवस्था, कानुन व्यवसायी महिलाको पेसागत अवस्था लगायतका विषयमा छलफल गरिएको छ । साथै, वित्तीय क्षेत्रमा रहेका सम्भावना र चुनौती, प्रजनन स्वास्थ्य अधिकार र सूचना तथा प्रविधिमा महिलाको पहुँचका विषयलाई छलफलको मुख्य आधार बनाइएको छ । न्यायिक समितिको क्षेत्राधिकार तथा मेलमिलाप, विवाद समाधानका चुनौतीहरू लगायतका विषयमा समेत सम्मेलनमा छलफल गरिनेछ ।
दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनमा देशभरबाट ३ सय महिला कानुन व्यवसायीसहित एक हजार कानुन व्यवसायीको सहभागिता छ । सो सम्मेलनका कारण २०८१ पुस १२ र १४ गतेको पेसी स्थगित गर्न नेपाल बार एसोसिएसनले अदालतहरूलाई अनुरोधसमेत गरेको छ ।
महिलाहरू आफ्ना मुद्दामा गम्भीर हुनुपर्ने न्यायाधीश मल्लको भनाइ
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आफ्ना मुद्दामा महिलाहरू गम्भीर हुनुपर्ने बताउनुभएको छ । शनिबार विराटनगरमा कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मल्लले उक्त कुरा बताउनुभएको हो । ‘महिलाहरू आफ्ना मुद्दामा गम्भीर हुन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘सेल्फी लिएर, टिकटक बनाएर मात्रै अब हुन्न ।’ उहाँले पुरुषको क्षमतामा कहिल्यै प्रश्न नउठ्ने तर महिलाका हरेक पाइलामा प्रश्न उठ्ने गरेको बताउँदै महिलाहरू अझै अब्बल भएर नेतृत्वमा आउनुपर्ने बताउनुभयो ।
न्यायाधीश मल्लले महिला कानुन व्यवसायी कानुन परिवर्तनको संवाहक भएको बताउनुभयो । महिलालाई अघि ल्याउने हो भने अदालतमा पहिलो बहसको अवसर महिलाले गर्न पाउनुपर्ने उहाँको भनाइ थियो । न्यायालयमाथि पटक-पटक प्रश्न उठ्ने गरेको स्मरण गर्दै नियुक्ति राजनीतिक नै हुने भए पनि आफ्नो अब्बलता र दक्षता कामबाट देखाउनुपर्ने उहाँले बताउनुभएको हो ।
देशभरका अदालतमा धेरै महिला मेलमिलापमा संलग्न रहेको बताउँदै उहाँले यसलाई अझ प्रभावशाली बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिला वकिलहरूको नेतृत्वमा मेलमिलापको वातावरण बनाइदिनुस्, जसले न्याय सम्पादनमा सहज होस् ।’ न्यायाधीश मल्लले बार र बेञ्चबीच बेलाबेला असमझदारीहरू उत्पन्न हुने गरे पनि यी दुई निकायको सम्बन्ध ज्यादै अटुट रहेको पनि उल्लेख गर्नुभयो ।






