भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख चयनको प्रक्रिया अहिले तीव्र बनिरहेको छ । त्रिभुवन विश्वविद्यालयको छनोट समितिले यही पुस ७ गते सार्वजनिक गरेको प्रारम्भिक नामावली अनुसार भोजपुर क्याम्पसका चार उम्मेदवार अन्तिम दौडमा परेका छन् । नयाँ अनुहारका रूपमा खगेन्द्र राई, रिन्जु शेर्पा र उत्तम सिं राई प्रतिस्पर्धामा हुनुहुन्छ भने पूर्वक्याम्पस प्रमुख पर्वतकुमार राईले पनि पुनः पदमा दाबी गर्नुभएको छ । तर, यतिबेला पुनः क्याम्पस प्रमुखमा पर्वतकुमार राई नै दोहोरिन खोजेपछि भने समस्या उत्पन्न भएको छ । पर्वतकुमार राई नै क्याम्पसमा आए क्याम्पस सञ्चालन हुन नसक्ने भन्दै चिन्ता व्यक्त हुन थालेको हो ।
पर्वतकुमार राई भोजपुर क्याम्पसमा राजनीतिशास्त्रका सह-प्राध्यापक हुनुहुन्छ । उहाँले २०५५ सालमा शिक्षण सहायकको रूपमा आफ्नो सेवा प्रारम्भ गर्नुभएको थियो । २०६४ सालमा उहाँ क्याम्पस प्रमुख बन्नुभयो । तर, उहाँको कार्यकाल विवादास्पद घटनाक्रमका कारण आलोचित रहृयो ।
पुस्तकालय भवन निर्माणमा भ्रष्टाचारका कारण पूर्वक्याम्पस प्रमुख पर्वतकुमार राई विवादमा तानिनुभएको थियो । २०६८ मा पुस्तकालय भवन निर्माणको ठेक्कामा छ लाख ९२ हजार ६२६ रुपैयाँ अनियमितता भएको थियो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको छानविन समितिले उहाँलाई दोषी ठहर गर्दै कारबाही सिफारिस ग¥यो । अन्तत उहाँले उक्त रकम ठेकदार कम्पनीसँग मिलेर तिर्न बाध्य हुनुभयो । २०६६ मा कर्मचारी नियुक्तिमा पक्षपात भएको आरोपका कारण आन्दोलन चर्कियो । स्थिति यसरी बिग्रियो कि आन्दोलनकारीले उहाँलाई कार्यालयमै आक्रमण गरे । भ्रष्टाचारको आरोपपछि उहाँ विराटनगर क्याम्पसमा सरुवा हुनुभयो । तर, ६ वर्षपछि फेरि उहाँ भोजपुर क्याम्पस फर्कनुभयो ।
भोजपुर क्याम्पसमा फर्किएपछि पर्वतकुमार राईका गतिविधिहरू पुनः विवादमा परे । उहाँले विभिन्न संगठनलाई उचाल्ने, अनियमितता आरोप लगाउने र क्याम्पसमा अनुशासनहीनता फैलाउने काम गरेको आरोप लाग्यो । त्रिभुवन विश्वविद्यालयले योग्यता र क्षमताका आधारमा नियुक्ति गर्ने ‘मेरीट्रोक्रेसी’ प्रणालीको अभ्यास थालेको छ । यो सकारात्मक कदम भए पनि व्यक्तिको नैतिक छविलाई पनि मूल्यांकन गर्नुपर्ने स्वतन्त्र विद्यार्थी युनियन भोजपुरका सभापति निशान राईको भनाइ छ ।
सामाजिक सञ्चालमार्फत राईले भ्रष्टाचार र व्यभिचारयुक्त मानिसभन्दा सदाचार र स्वच्छ छवि भएको क्याम्पस प्रमुख विद्यार्थीले चाहेको धारणा व्यक्त गरेका छन् । भोजपुरका स्थानीय सरोकारवालाहरूको भनाइमा, ‘जसले अघिल्लो पटक क्याम्पसलाई विवादमा ताने, उनीहरूको पुनः चयनले क्याम्पसको भविष्यलाई थप अन्यौलमा पार्न सक्छ’, भन्ने चिन्ता व्यक्त गरेका छन् । क्याम्पसमा विवादित व्यक्तिभन्दा स्वच्छ छवि भएका प्रमुखमा आउनुपर्ने अधिकांश प्रध्यापकहरूको भनाइ छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts