काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीले सरकारी प्रयोजनका लागि नेपाली उत्पादनमात्रै खरिद गरिने बताउनुभएको छ । उहाँले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ संघदेखि स्थानीय तहसम्मै कार्यान्वयन गर्ने गरी सरकार अघि बढेको बताउनुभयो । सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ कार्यान्वयनका विषयमा सरोकारवाला निकाय र निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलका क्रममा मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रका प्रतिनिधिसँग भन्नुभयो, ‘मेरो कार्यकक्ष जानुभयो भने हामीले नेपाली उत्पादनकै प्रयोग गरेका छौँ । मैले सचिवज्यूहरूलाई निर्देशन गरेको छु, अबका खरिद सबै सामग्री प्रयोग गर्छौं । सरकारी प्रयोजनका लागि हुने सबै खरिद प्रक्रियामा अबका फर्निचरको कुरा आउला, सरकारी निकाय, मन्त्रालयले खरिद गर्ने कुरामा नेपाली उत्पादन खरिद गर्न यो मन्त्रालय लाग्छ ।’
स्थानीयस्तरमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्न सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ जारी गरेको छ । औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ को प्रयोग गरी निर्देशिका तयार गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । निर्देशिका कार्यान्वयनपछि सार्वजनिक निकायले प्रचलित कानुनबमोजिम अनुसूचीमा उल्लिखित वस्तु खरिद गर्दा उपलब्ध भएसम्म स्वदेशी नै खरिद गर्नुपर्नेछ ।
निर्देशिकाअनुसार सार्वजनिक निकायले आठ समूहअन्तर्गत ४४ उपसमूहको स्वदेशी वस्तु खरिद गरी प्रयोग गर्नुपर्नेछ । स्टेसनरी, कार्यालय सामान, छपाइतर्फ नेपाली हातेकागज तथा कागजबाट निर्मित वस्तु वा सामग्री, ब्राउन पेपर, पेन्सिल, डट्पेन, नेपाली खाम, नोटबुक, रजिष्टर, टिस्युपेपर, डायरी, कापी, चक, बोर्ड मार्कर, फाइल, फाइल बाँध्ने कपडा, तुनालगायतका वस्तु वा सामग्री, विभिन्न गोष्ठी, सेमिनार, कार्यक्रममा आवश्यक पर्ने वस्तु ब्याग, दोसल्ला, सलजस्ता सामग्री र रेनकोट खरिद गरी प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै तयारी पोशाक, वस्तु, कोशेली तथा उपहारतर्फ अल्लो, केतकी, बाँस, केराको रेसालगायत अन्य प्राकृतिक रेसा आदिजस्ता स्थानीय कच्चा पदार्थबाट निर्मित कपडा, ऊन निर्मित विभिन्न प्रकारका वस्तु वा सामग्री, ढाका तथा ढाकाजन्य सामान, पस्मिना, जुट निर्मित सामान, सार्वजनिक निकायका कर्मचारी तथा पदाधिकारीलाई तोकिएको पोशाक तथा टोपी, जुत्ता, पेटी, सभा वा सम्मेलनमा प्रयोग हुने झोला, ब्याज, ब्याच हस्तकला, काष्ठकला, मूर्तिकला, चित्रकला तथा प्रस्तरका वस्तु, गुडिया, खेलौना, पुतली, छालाबाट तयार गरिएका वस्तु वा सामान खरिद गरी प्रयोग गर्नुपर्नेछ ।
त्यसैगरी फर्निचर, सरसफाइ, फ्लोरिकल्चर, साजसज्जातर्फ काठबाट निर्मित फर्निचर, प्लाइउड, बेत तथा बाँसबाट निर्मित सामान, अम्रिसो तथा निगालोबाट तयार भएका सामान, गलैंचा, कार्पेट, तौलिया, तन्ना, पर्दा, मेट्रेस, इपिइ, रोल, पटेर, फोम, सिरानीलगायत फर्निसिङ सामान, टेबुलपोस, म्याट, गमला, टी म्याट, मैनबत्ती, अगरबत्ती, दुना टपरी, सरसफाइमा प्रयोग हुने झोल तथा केमिकल, पुष्पमाला, फूलका बोटबिरुवा तथा अन्य बोटबिरुवा पनि खरिद गरी प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । मेसिनरी, औजार तथा उपकरणतर्फ ट्रान्सफरमर ६२ एमभिएसम्म, लघु तथा साना जलविद्युत् आयोजना (दुर्ई मेगावाटसम्म) का लागि आवश्यक पर्ने वस्तु वा सामग्री, कपर, आल्मुनियम वाण्डिङ वायर, कम्प्युटर सफ्टवेयर, सुक्खा ब्याट्री, कृषिमा प्रयोग हुने मेसिन तथा उपकरण, एसिएसआर, एएसी आल्मुनियम कन्डक्टर र १.१ केभीसम्मको केवल वायर, पिएससी, एसटिपी पोल र हेलमेट पनि खरिद गरी प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
निर्माण सामग्रीतर्फ स्वदेशमा निर्माण भएको सिमेन्ट, छड र इँटा, रंगरोगन सामग्री, एएसी ब्लक, झ्याल-ढोकामा प्रयोग हुने आल्मुनियम प्रोफाइल, आल्मुनियम झ्याल-ढोका, प्रिफ्याव वाल प्यानल, रोजिन तथा तारपिन तेल, काठबाट तयार भएका वस्तु वा सामग्री खरिद गरी प्रयोग गर्नुपर्नेछ । कृषि तथा पशुजन्य उत्पादन, खाद्य र पेयजन्यतर्फ स्वदेशमा उत्पादन भएको दूध वा दूधजन्य विभिन्न पदार्थ, अण्डा, माछामासु र मासुजन्य पदार्थ, प्रशोधित तेल, वनस्पति घिउ, चिया, कफी, अलैंची, अदुवा, मसला, फलफूल र फलफूलबाट तयार भएका खाद्य, पेय र जुस, मिनरल वाटर, प्रशोधित पिउने पानीसहित हल्का पेय पदार्थ पनि खरिद गरी प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा