
-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । जिल्लाको बैजनाथ गाउँपालिकाले बृहत थारु संग्रहालय निर्माणका लागि डीपीआर तयार पारेको छ । गाउँपालिकाको गौरवको आयोजनाको रुपमा हेरिएको संग्रहालय निर्माणका लागि डिपीआर तयार पारेको हो ।
थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले थारु संग्रहालय बनाउन लागिएको गाउँपालिकाले जनाएको छ । यसअघि बैजनाथका थारु अगुवाहरुले पटकपटक थारु संग्राहलय बनाउन माग गर्दै आएका थिए । बैजनाथ,थारु समुदायको बाहुल्य रहेको गाउँपालिका हो । त्यहाँ ३८ प्रतिशत थारु समुदाय बसोबास गर्छन् ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार थारु संग्रहालय निर्माणका लागि डीपीआर तयार भइसकेको छ । ‘डीपीआर अनुसार थारु संग्रहालय बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित छमनियामा निर्माण हुनेछ । उक्त क्षेत्र ४ विगाहा क्षेत्रफलमा फैलिएको छ । यो जनप्रतिभा सामुदायिक वन उपभोक्ता समितिभित्र पर्छ ।,’ शाहीले भन्नुभयो ।
संग्रहालय निर्माणका लागि कूल २८ करोड लागत लाग्ने अनुमान गरिएको छ । गाउँपालिकाको बजेटले मात्रै संग्रहालय निर्माण गर्न बजेट नपुग हुने भएकोले बजेट व्यवस्थापनको लागि प्रदेश र संघीय सरकारसँग माग गरिएको उहाँले बताउनुभयो । थारु सग्रहालयलाई बैजनाथ गाउँपालिकाको गौरवको आयोजनाको रुपमा अघि बढाउने अध्यक्ष शाहीको भनाइ छ ।
बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकाया थारु समुदायको माग बमोजिम संग्रहालय निर्माणको अभियानमा जुटेको बताउँनुहुन्छ । पश्चिम नेपालका केही थारु बाहुल्य जिल्लालाई लक्षित गरेर बृहत संग्रहालय निर्माण हुने उपाध्यक्ष रोकायाको भनाइ छ । लुम्बिनी प्रदेश बाँकेसहित,बर्दिया,दाङ र सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा थारु समुदायको बाहुल्य भएका जिल्ला हुन् ।
उहाँले भन्नुभयो, ‘बैजनाथ थारु बाहुल्य भएको पालिका हो । थारु समुदायको कला,संस्कृति संरक्षण हाम्रो प्राथमिकता हो । पालिकाको पहिचानसमेत स्थापित गर्न संग्रहालय निर्माण गरिनेछ ।’, डीपीआर तयार भएको र बजेट सुनिश्चितामा जुटेको उनको भनाइ छ । हिउँदे अधिवेशनबाट काम सुरु गर्नको लागि बजेट विनियोजन हुने उपाध्यक्ष रोकायले जानकारी दिनुभयो ।
‘बरघर ऐन–२०८०’ कार्यान्वयन
थारु समुदायमा प्रचलित बरघर प्रथालाई बैजनाथ गाउँपालिकाले कानुनी मान्यता नै प्रदान गरेको छ । थारू समुदायमा हरेक वर्ष माघी पर्वमा गाउँ वा टोलको नेतृत्व गर्न ‘बरघर’ चयन गर्ने प्रथा छ । बरघर प्रणाली संरक्षण,प्रवर्धन र विकास गर्न विधेयक नै तयार पारेर कार्यान्वयनमा ल्याएको हो । गाउँपालिकाको १४औं सभाले उक्त ऐन सर्वसम्मत रूपमा पारित गरिसकेको छ ।
स्थानीय तह सञ्चालन ऐन,संविधान र कानुनसँग नबाझिने गरी बरघरका काम,कर्तव्य अधिकारलाई उक्त ऐनमा समावेश गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो । बरघर ऐन ल्याउनेमा बैजनाथ बाँकेकै पहिलो स्थानीय तह हो । बैजनाथमा ३६ वटा बरघर संगठित छन् ।
बैजनाथ गाउँपालिकाका आठ वटै वडामा बरघर गठन गरिएको छ । बरघर ऐन,नियम कानून पालिकाले २०८० माघ १८ गते पालिकाको राजपत्रमा समेत प्रकाशन गरिसकेको छ । ऐन कार्यान्वयनमा आउँदैछ । बरघर ऐन अनुसार नै गाउँपालिकाले थारु संग्रहालय निर्माण गर्न लागेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच